• ९ मंसिर २०८१, आइतबार

पलायन रोक्न प्राविधिक शिक्षा

blog

नेपालमा बर्सेनि विभिन्न माध्यमबाट विदेशिने क्रम उकालो लागिरहेको छ । अझ यसको डरलाग्दो पक्ष भनेको शिक्षित र युवा जनशक्तिको पलायन हो । देशको भविष्यका आधार मानिने युवाको मस्तिष्कमा पढ्ने बहानामा विदेश जाने प्रवृत्तिले सबैतिर छोएको छ । एक समय अध्ययन गर्न निकै प्रतिस्पर्धा हुने विश्वविद्यालय र कलेजमा कोटा पूरा हुन हम्मेहम्मे पर्नुले हाम्रो शैक्षिक जनशक्तिको पलायनलाई उदाङ्गो पारेको छ । नेपालमै सम्भावना र भविष्य देख्ने जनशक्ति निकै न्यून रूपमा रहेको छ । त्यो जनशक्ति पनि विदेश पुगेका आफ्ना साथीसँगीको जीवनशैलीबाट मोहित भएर नेपालको सम्भावनालाई त्यागिरहेको देखिन्छ । यस दृष्टिले हेर्दा नेपालमा शैक्षिक जनशक्ति पलायनको अवस्था निकै विकराल छ । हिजोभन्दा शिक्षाको अवस्था सुधारिने मात्रै होइन सम्भावना पनि बढेर गएका छन् तर पनि उज्यालो भविष्य विदेशमा नै देख्ने क्रम घट्न सकेको छैन । 

नेपालमा पढ्ने बहानामा प्लस टु युवाहरू विदेश जान थालेको धेरै भएको छैन । ७० को दशकयता आएर मात्रै यसले विकराल मोड लिएको हो । त्यो भन्दा अगाडि देशमै केही गर्नुपर्छ भन्ने जनशक्ति व्यापक मात्रामा रहेको पाइन्थ्यो । नेपालमै केही गर्ने भनेर बसेको जनशक्तिलाई बजारले ठाउँ दिन नसकेपछि युवाले विकल्प खोज्न थालेका हुन् । शिक्षित बेरोजगारको सङ्ख्या डरलाग्दोसँग उकालो लाग्दा पनि केही विकल्प नहुँदा युवा पलायनको क्रम बढेर गएको हो । हिजोका दिनमा जुन खालको जनशक्ति उत्पादन गरियो, त्यो जनशक्ति नेपाली श्रम बजारका लागि आवश्यक जनशक्ति थियो त ? सरकारले नेपाली श्रम बजारको आकलन नगरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दा नै युवा जनशक्ति पलायनको अवस्था जटिल बन्दै गएको हो । 

युवा जनशक्ति पलायनलाई केही मात्रामा नियन्त्रण गर्न प्राविधिक शिक्षाको विकास र पहुँच अहिलेको आवश्यकता हो । नेपालको श्रम बजारको आवश्यकतालाई अध्ययन गरेर सोही खालका प्राविधिक विषय सञ्चालन गर्न सकियो भने अहिलेको युवा जनशक्ति पलायन केही मात्रामा भए पनि रोक्न सकिन्छ । प्राविधिक शिक्षाको विकासमा सरकार केही अगाडि बढेको पनि छ तर त्यो पर्याप्त भने छैन । हामीले प्राविधिक शिक्षाको विकास र विस्तार गर्न सक्यौँ भने त्यसले धेरै कुरालाई व्यवस्थित गर्न सक्ने आधार निर्माण गर्छ । 

आर्थिक विकास : प्राविधिक शिक्षा नेपालको आर्थिक विकासका लागि महìवपूर्ण छ । नेपालमा अनेक खालका सम्भावना रहेका छन् । ती सम्भावनालाई व्यवहारतः कार्यान्वयन गर्नका लागि प्राविधिक जनशक्तिका आवश्यकता पर्छ । अहिले पनि नेपालमा ठूलो सङ्ख्यामा बाहिर देशबाट प्राविधिक जनशक्ति आउने क्रम बढिरहेको छ । यसले एकातिर हाम्रो अर्थतन्त्रलाई खराब सूचकतिर धकेलिरहेको छ भने अर्कातिर यहाँको जनशक्ति पलायन भइरहेको छ । प्राविधिक शिक्षालय उत्पादन, निर्माण र इन्जिनियरिङजस्ता उद्योगका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराइ आर्थिक विकासको आधार निर्माण गर्छ । 

रोजगारीका अवसर : नेपालको श्रम बजारमा बर्सेनि लाखौँ जनशक्ति प्रवेश हुन्छन् तर अवसर भने सीमितले मात्रै प्राप्त गर्छन् । हामीलाई आवश्यक पर्ने र हामीले उत्पादन गर्ने जनशक्तिका बीचमा तारताम्य मिल्न नसक्दा रोजगारीका अवसर गुम्दै गएका छन् । नेपालजस्तो विकासोन्मुख देशका लागि प्राविधिक जनशक्तिको आवश्यकता र अपरिहार्यता धेरै हुन्छ । यसरी प्राविधिक जनशक्ति उत्पादन गर्न सकियो भने रोजगारीका अवसरहरू सिर्जना हुने गर्छन् । प्राविधिक शिक्षाले विद्यार्थीलाई विभिन्न क्षेत्रमा राम्रो तलब हुने जागिर सुरक्षित गर्न आवश्यक सीप र ज्ञानले सुसज्जित बनाउँछ । स्वरोजगार : प्राविधिक शिक्षाको सबैभन्दा गतिलो सकारात्मक पाटो भनेको यसले व्यक्तिलाई ज्ञान र सीप दुवैले भरिपूर्ण बनाउँछ । प्राविधिक शिक्षा हासिल गरेको व्यक्तिले जागिर प्राप्त गर्न नसकेको अवस्थामा आफूले जानेको सीपका आधारमा स्वरोजगार र उद्यमशील बन्न सक्छ । मानौँ मेकानिकल इन्जिनियरिङ पढेको व्यक्तिले कुनै पनि ठाउँमा रोजगारी प्राप्त गर्न सकेन भने उसले आफूले सिकेको सीपमा आधारित कुनै व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्न सक्छ । प्राविधिक शिक्षा हासिल गरेको व्यक्तिसँग अनेकानेक विकल्प हुने गर्छन् । यिनै विकल्पका कारण व्यक्तिले विदेश पलायनको सोच ल्याउने गर्दैन । यसले देशको अर्थतन्त्रलाई मजबुत बनाउनसमेत मद्दत गर्छ । 

प्रविधिको बढ्दो प्रयोग : अहिलेको युगलाई नै प्रविधिको युग भन्ने गरिन्छ । मानिसका लागि धेरै श्रम र लामो समय लाग्ने काम प्रविधिका माध्यमबाट सहज र शीघ्र सम्पन्न गर्न सकिन्छ । कार्यालय र व्यवसायमा मात्रै होइन खेत र खलिहानमा पनि प्रविधिको प्रयोग बढ्दै गएको छ । हाम्रो जीवनशैलीलाई प्रविधितर्फ उन्मुख गराउनका लागि प्राविधिक शिक्षा आवश्यक छ । नेपालमा प्राविधिक जनशक्ति न्यून मात्रामा उत्पादित हुने भएकाले अरू देशबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता छ । यसको अन्त्य गर्न प्राविधिक शिक्षाको आवश्यकता अपरिहार्य बन्दै गएको छ । 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता : नेपालमा दक्ष जनशक्तिको व्यवस्था हुन सकेमा विश्व बजारबाट विभिन्न व्यवसायीलाई यहाँ भिœयाउन सकिन्छ । नेपालमा बाह्य लगानीमा उद्योग सञ्चालन हुन नसक्नुको एक प्रमुख कारण दक्ष जनशक्ति अभाव नै हो । प्राविधिक शिक्षाको अभावमा दक्ष जनशक्ति व्यवस्थापन सम्भव हुन सक्दैन । यसरी दक्ष जनशक्ति व्यवस्थापन गर्न प्राविधिक शिक्षाको आवश्यकता हुन्छ । हामीले हाम्रो उत्पादनलाई विश्व बजारमा पु-याउनका लागि र प्रतिस्पर्धी बनाउन पनि प्राविधिक जनशक्ति अपरिहार्य छ । 

ग्रामीण विकास : हाम्रा गाउँलाई व्यवसायसँग जोड्न सकियो भने मात्रै गाउँको विकास प्रचुर मात्रामा हुन सक्छ । हाम्रो ग्रामीण अर्थतन्त्र र उत्पादन केवल जीवन निर्वाहमुखी मात्रै रहेको छ । यसको मूल कारण भनेको ग्रामीण जनजीवनसँग जोडिएका कृषि, पशुपालन र वनलगायतका व्यवसायलाई व्यावसायिक ढङ्गले अगाडि बढाउन सकिएको छैन । प्राविधिक शिक्षाले ग्रामीण जीवनसँग जोडिएको विषयलाई व्यावसायिक ढङ्गले अगाडि बढाउन आवश्यक ज्ञान र सीप प्रदान गर्छ । एउटा किसानले प्रविधिको प्रयोग गरेर उत्पादनलाई अगाडि बढायो भने त्यसले मनग्ये आम्दानी प्राप्त गर्न सक्छ । यसकारण गाउँको विकासका लागि पनि प्राविधिक शिक्षाको विकास हुनुपर्छ । 

युवा जनशक्ति पलायन रोकेर देशमै उद्यमशीलता र रोजगारीको मार्ग प्रशस्त गर्न प्राविधिक शिक्षाको विकास र विस्तार अपरिहार्य छ । सरकारले प्राविधिक शिक्षाको विकासका लागि ध्यान दिनुपर्ने अहिलेको आवश्यक पनि हो । नेपालमा प्राविधिक शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारले केही महìवपूर्ण भूमिका निर्वाह गर्न सक्छ । 

क) प्राविधिक संस्थाको स्थापना र विस्तारलाई प्राथमिकतामा राखेर बजारको आवश्यकता अनुरूपको दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने । 

ख) प्राविधिक शिक्षालाई सबैका लागि पहुँचयोग्य बनाउन सर्वसुलभका साथै विभिन्न खालको छात्रवृत्तिको व्यवस्था गर्ने । 

ग) प्राविधिक शिक्षालाई सीपयुक्त बनाउन पर्याप्त पूर्वाधारको विकास गर्ने । 

घ) समायानुकूल आवश्यकताअनुसार पाठ्यक्रमको परिमार्जन गर्ने । 

ङ) प्राविधिक शिक्षा क्षेत्रमा उद्यमशीलता र स्टार्ट अप संस्कृति प्रवद्र्धन र अनुसन्धान गर्न तथा नयाँ प्रविधिको विकास गर्न संस्थालाई प्रोत्साहन गर्नुपर्छ । 

च) प्राविधिक शिक्षाको शिक्षाको गुणस्तर सुधार गर्न र अत्याधुनिक प्रविधिसँग अद्यावधिक राख्नका लागि सरकारले शिक्षक र सङ्कायका लागि तालिम र क्षमता अभिवृद्धि कार्यक्रम उपलब्ध गराउनुपर्छ । 

छ) उत्पादित प्राविधिक जनशक्तिलाई उद्यम र व्यवसायसँग जोड्नका लागि सरकारले सहुलियत कर्जा प्रवाहको व्यवस्था गर्नुपर्छ ।