पृथ्वीको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ७२ वर्ष पुगेको छ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी तथा नेपालका तेन्जिङ नोर्गेले सगरमाथा शिखरमा पहिलो पाइला टेकेपछि सात दशकको अवधिमा करिब सात हजार आरोही सगरमाथा शिखरमा पुगेका छन् भने जीवन गुमाउनेको सङ्ख्या ३४० नाघेको छ । हिमाल आरोहणमा जति चुनौती थपिँदै गएका छन्, सगरमाथा आरोहणप्रति विश्वका विभिन्न मुलुकका पर्वतारोहीका आकर्षण निरन्तर बढ्दै गएको छ ।
रोबर्ट पियरी र माथ्यु हेन्सनले पहिलो पटक सन् १९०९ मा उत्तरी ध्रुव तथा रोअल्ड अमुन्डसेनले सन् १९११ मा दक्षिणी ध्रुवमा पाइला टेके जस्तै हिलारी र तेन्जिङ नोर्गेले १९५३ को मे २९ बिहान ११:३० मा सर्वोच्च शिखरको चुचुरोमा पुगेर विश्व कीर्तिमान स्थापित गरे । बेलायतकी तत्कालीन महारानी दिवङ्गत एलिजाबेथ द्वितीयाको शुभ राज्याभिषेकको ऐतिहासिक अवसरपूर्व यी दुई पर्वतारोहीको सफल आरोहणले नेपाल विश्वमा व्यापक चर्चामा आउनुका साथै साहसिक विश्व पर्यटनमा नयाँ अध्याय स्थापित भएको थियो ।
भारतका सर्भेयर जनरल सर जर्ज एभरेस्टको नाममा सन् १८५२ मा नामकरण गरिएको ‘माउन्ट एभरेस्ट’ को साहसपूर्ण विजयगाथा २१ औँ शताब्दीमा पनि त्यत्तिकै जीवित छ । सन् १९५३ मा जोन हन्टको नेतृत्वमा रोयल जोग्राफिकल सोसाइटी अल्पाइन क्लबको आरोहण टोली १३ आरोही, ३५ शेर्पा गाइड, १८ टन खाद्यान्न तथा उपकरण तथा ३५० सहयोगीसहित शिखर आरोहण अभियानमा जुटेको थियो । जोन हन्टको आरोहण टोलीमा सम्मिलित त्यसबेला ३९ वर्षका तेन्जिङ र ३३ वर्षीय हिलारीले दक्षिणी मोहडाबाट पहिलो पटक सफलता प्राप्त गरेर इतिहास निर्माण गरेका थिए । त्यसअघि सगरमाथा आरोहणका लागि निकै असफल प्रयास भएका थिए ।
सन् १९२४ मा सगरमाथा आरोहण प्रयास गर्ने क्रममा बेलायतका जर्ज म्यालोरी तथा स्यान्डी इर्भिन सर्वोच्च शिखरको टाकुरातर्फ प्रस्थान गरे तर दुवै कहिल्यै फर्केनन् । त्यस दुःखद घटनाको करिब एक शताब्दीपछि १९९९ मा जर्ज म्यालोरीको शव हिउँमा फेला परेको र अर्का आरोही स्यान्डी इरभिनको जुत्ता र खुट्टा उत्तरी मोहडा तल रोङबुक हिमनदीमा फेला परेको सार्वजनिक भएपछि खुम्बु क्षेत्रमा अलपत्र परेका करिब २०० आरोहीका शव खोजीमा तीव्रता आएको छ । पहिलो सफल आरोहणपछि सात दशकका अवधिमा सगरमाथा क्षेत्रमा पुरिएका कतिपय शव, हेलिकोप्टरसहित आरोहीले प्रयोग गरेका अनेकन उपकरण अझै हिमालका गर्भमा पुरिएका छन् । केही वर्षयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अग्रसरतामा हिमाल सफाइ अभियान सञ्चालन गरेर फोहोर र शव सङ्कलन गर्ने अग्रसरता चालिएता पनि त्यसबाट अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन ।
एसिया महाद्वीपमा पश्चिममा सिन्धु नदी र पूर्वमा ब्रह्मपुत्र भूभागको २४०० किलोमिटर क्षेत्रमा फैलिएको हिमाली शृङ्खलामध्ये नेपालमा छ हजार मिटरमाथिका एक हजार ३१० भन्दा बढी चुचुरो रहेको विगतको अध्ययनले देखाएको छ । यी हिम चुचुरोमध्ये आरोहणका लागि हालसम्म ४७६ चुचुरो खुला गरिएका छन् भने आठ हजार मिटरभन्दा उच्च १४ हिमालमध्ये आठ वटा नेपालमै पर्छन् । आठ हजार मिटरभन्दा उच्च १४ हिमाल (सगरमाथा, कञ्चनजङ्घा, लोत्से, मकालु, चोयु, धौलागिरि, मनास्लु र अन्नपूर्ण तथा पाकिस्तानमा केटु, नङ्गा पर्वत, गासेरब्रुम, ब्रोड पिक, गासेरब्रुम दोस्रो तथा चीनको सिसापाङमा) रहिआएकोमा हाल नेपालले कन्चनजङ्घा र ल्होत्से हिमाली शृङ्खलामा आठ हजार मिटरभन्दा बढीका छ थप शिखरहरूको पहिचान गरेको छ, तर यसले अन्तर्राष्ट्रिय मान्यता पाउन बाँकी नै छ । पर्वतारोहण क्षेत्रसँग सम्बद्ध विज्ञले आरोहणका लागि हिमाल खुला गरेर मात्र होइन, त्यसको प्रवर्धन हुन सकेमा मात्र राष्ट्र र समाजले लाभ लिन सक्ने विचार व्यक्त गरेका छन् ।
यस वर्ष सन् २०२५ को वसन्त ऋतुमा नेपालका विभिन्न २७ चुचुरोका लागि १२७ टोलीका एक हजार १६८ आरोहीलाई अनुमति दिइएकोमा सगरमाथा आरोहणका लागि मात्र ५७ देशका ४७ टोलीका ४६८ पर्वतारोहीले अनुमति लिएका थिए । यसमध्ये यो वर्षको वसन्त ऋतुमा चार सयभन्दा बढी पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार, सगरमाथा आरोहणबाट यस वसन्त ऋतुमा करिब ६९ करोड १३ लाख रुपियाँसहित अनुमति दिएका २७ हिमालबाट ७९ करोड ४३ लाख रुपियाँ रोयल्टी प्राप्त भएको छ । सगरमाथासहित अन्य २६ चुचुरोको आरोहणका लागि सन् २०२५ को वसन्त ऋतुमा ११९ आरोहण टोलीका ११२७ आरोही नौ हजार २४० महिला तथा ८८७ पुरुषले अनुमति प्राप्त गरेका थिए । सगरमाथा अतिरिक्त आरोहीको आकर्षण रहेका अन्य हिमालमा अमादब्लम, ल्होत्से, मकालु, कञ्चनजङ्घा तथा अन्नपूर्णलगायत पर्छन् ।
सगरमाथा आरोहणको सिलसिलामा केही वर्षयता कीर्तिमान कायम गर्ने होडबाजी बढ्दै गएको मात्र होइन, सगरमाथा क्षेत्रमा ट्राफिक जामको समस्या पनि देखा परेको छ । सन् २०२५ को वसन्त ऋतुमा सोलुखुम्बु थामेका ५५ वर्षीय कामीरिता शेर्पाले भारतीय सेनाको आरोहण टोलीमा मुख्य पथप्रदर्शकको रूपमा सम्मिलित भएर ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका छन् । सगरमाथा आरोही खुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ पटक सगरमाथाको सफल आरोहण गरे । २९ वर्षीय टासी ग्याल्जेन शेर्पाले १५ दिनको अवधिमा चार पटक सगरमाथाको शिखरमा पुगेर कीर्तिमान स्थापित गरेका छन् । युक्रेनी मूलका अमेरिकी आरोही एन्ड्र्यु उशाकोवले समुद्र सतहीबाट सगरमाथाको चुचुरोसम्म तीन दिन २३ घण्टा सात मिनेटमा आरोहण गरे । न्युयोर्कबाट मे १५ मा काठमाडौँ उडेका उशाकोवले आधार शिविरसम्म हेलिकोप्टरमा गएर चार घण्टा नबित्दै शिखर चुमे । ब्रिटेनका चार पूर्वमेजर र कर्नेलहरू मे १६ मा लन्डनबाट उडी मे २० मा अत्यन्त छोटो अवधिमा चुचुरो पुगे, यद्यपि यी ब्रिटिस पर्वतारोहीले हिमाली क्षेत्रमा उत्पन्न हुने स्वास्थ्य समस्याबाट बच्न जेनुन ग्यास प्रयोग गरेको आशङ्का छ । यस वर्षको सगरमाथा आरोहणका यी केही उल्लेख्य कीर्तिमान हुन् ।
सगरमाथा आरोहणमा बढी चाप पर्न थालेपछि नेपालले यस वसन्त ऋतुमा दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गर्ने पर्वतारोहण टोलीमा संलग्न आरोहीलाई प्रतिव्यक्ति लिने गरेको रोयल्टी ११ हजार अमेरिकी डलरबाट १५ हजार डलर तथा शरद् ऋतु (सेप्टेम्बर–नोभेम्बर) महिनाभित्र हुने आरोहण अभियानमा लिने गरेको रोयल्टी ५,५०० डलर प्रतिव्यक्तिबाट बढाएर ७,५०० पु¥याएको छ । नयाँ रोयल्टी अनुसार नेपाली आरोहीले ७५ हजार रुपियाँ तिर्दै आएकोमा अब सगरमाथा आरोहणका लागि एक लाख ५० हजार तिर्नुपर्ने छ । रोयल्टी रकम वृद्धि गरिए पनि पर्वतारोहीको आकर्षण सगरमाथाप्रति कायमै छ । आरोहीहरूको सुरक्षाका लागि आठ हजार मिटरभन्दा उच्च हिमालहरूमा आरोहण गर्ने क्रममा प्रत्येक दुई आरोहीका लागि एउटा पर्वतीय पथप्रदर्शक अनिवार्य हुनुपर्ने व्यवस्थाले आरोहीहरूको सुरक्षा प्रत्याभूति गर्ने छ ।
सगरमाथालगायत अन्य हिमालको आरोहणका क्रममा केही वर्षअघि हेलिकोप्टर र ट्रेकिङ कम्पनीहरूले ‘फेक रेस्क्यु’ का नाममा गैरकानुनी रूपमा करोडौँ रुपियाँ आर्जन गरेर देशको छवि बिग्रिएको पृष्ठभूमिमा अझै फेक रेस्कु नियन्त्रणमा ल्याउन सरकारी निकायको सक्रियता आवश्यक रहेको कतिपय आरोही बताउँछन् । विश्वका कतिपय राष्ट्रमा प्राकृतिक महìवका संवेदनशील क्षेत्रमा जथाभाबी हेलिकोप्टर उडानको आवागमनमा प्रतिबन्ध लगाइएको पृष्ठभूमिमा नेपालले समेत हिमाली क्षेत्रको संरक्षणका लागि जथाभाबी र मनपरी किसिमबाट हेलिकोप्टर कम्पनीहरूलाई उनीहरूले चाहेको ठाउँमा अवतरण गर्ने अनुमति दिनु हुँदैन । सेताम्मे हिउँ चुलीबाट काला चट्टानमा परिणत हुँदै गएका नेपालका हिमाली शृङ्खलाप्रति चिन्ता व्यक्त गर्दै जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका लागि अन्तर्राष्ट्रिय निकायलाई गुहारेको स्थितिमा हिमाली शृङ्खलाको पर्यावरणीय संरक्षणका लागि पनि हेलिकोप्टर उडान नियन्त्रण गरिनुपर्ने पर्वतीय पर्यटनका विज्ञहरूको अभिमत छ ।
विश्वका प्रमुख पर्वतीय शृङ्खलामध्ये एसियामा हिमालय, दक्षिण अमेरिकामा एन्डिज, युरोपमा आल्प्स, युरोप र एसियाको प्राकृतिक सीमा उराल्स, उत्तरी अफ्रिकामा एटलास माउन्टेन तथा उत्तरी अमेरिकाको रक्की माउन्टेन शृङ्खला पर्छन् । विश्वकै बहुमूल्य सांस्कृतिक सम्पदा मानिँदै आएका यी सबै पर्वतीय शृङ्खलामा बसोबास गर्ने बासिन्दाको पानीदेखि जीवनयापनका अति आवश्यक पक्षका लागि यी शृङ्खलाको महत्वपूर्ण योगदान मात्र छैन, त्यस क्षेत्रको सामाजिक, आर्थिक रूपान्तरणमा यी पर्वतीय शृङ्खलाका विकास गतिविधिले अमूल्य योगदान पु¥याएका छन् । यस परिपेक्षमा नेपालका अधिकांश हिमाली पर्वतहरू केही वर्षयता हिउँको अभावमा कालो पत्थरका रूपमा परिणत हुँदै गएको देखिनु अत्यन्त चिन्ताको विषय बनेको छ । यी क्षेत्रमा पर्वतारोहीहरूको बढ्दो चाप तथा जलवायु परिवर्तनबाट उत्पन्न समस्याले हिमनदी विस्फोट हुनेलगायतका समस्यासमेत बढ्दै गएको छ । निकै वर्षअघि यस पङ्क्ति लेखकसँगको साक्षात्कारमा समेत खुम्बु क्षेत्रको शैक्षिक, आर्थिक र सामाजिक परिवर्तनमा प्रशंसनीय योगदान पु¥याउँदै आएका न्युजिल्यान्डका एडमन्ड हिलारी तथा सगरमाथाको प्रथम सफल महिला आरोही जापानकी जुन्को ताबेइले सगरमाथालाई केही वर्षका लागि विश्राम दिनुपर्ने र आरोहण गतिविधि सीमित पार्नुपर्ने विचार सार्वजनिक गरेका थिए । सगरमाथा क्षेत्रमा बढ्दो चापबाट उत्पन्न समस्यालाई ध्यानमा राखेर नेपालले आरोहण शुल्कमा वृद्धि गरे पनि अपेक्षित उद्देश्य प्राप्त हुन सकेको छैन ।
सगरमाथाको देश भनेर चिनिने नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याबाट अनेकन समस्या भोग्नु परेको स्थितिमा हालै सगरमाथा संवाद अभियानको थालनी गरेर दीर्घकालीन महTवको कदम चालेको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा जेठ २–४ मा सम्पन्न सगरमाथा संवादले २५ बुँदको सगरमाथा कार्ययोजना सार्वजनिक गरेर क्षेत्रीय तथा वैश्विक साझेदारीको अपेक्षा गरेको स्थितिमा आगामी वर्षमा यसलाई अझ सार्थक पार्न योजनाबद्ध प्रयास गरिनु अत्यावश्यक छ । जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधानका लागि अन्तर्राष्ट्रिय सहयोगका साथै राष्ट्रिय राजनीतिक प्रतिबद्धता नभएसम्म नेपालका हिमाल कालापत्थर चुचुरोमा परिणत हुने स्थिति देखा परेकाले यसमा सम्बद्ध सबै पक्षको सक्रियता आवश्यक छ । हिमाली शृङ्खला रहेका स्थानीय तहहरूले पनि त्यहाँ पुग्ने आरोही र पदयात्रीबाट जथाभाबी रकम असुल्ने मात्र प्रवृत्ति त्यागी सम्पदाको संरक्षणमा ठोस योजनासहित अगाडि बढ्नुपर्ने खाँचो छ ।
यसै प्रसङ्गमा नेपाली पर्वतारोहीहरूको विदेश पलायन र विदेशप्रतिको आकर्षण न्यून पार्नसमेत सरकार र सम्बद्ध निकायको चिन्तन हुनु आवश्यक छ । देशको अन्तर्राष्ट्रिय छवि उच्च पार्न योगदान पु¥याउने पर्वतारोहीहरूको सामाजिक–आर्थिक रूपान्तरणका लागि उनीहरूलाई देशभित्रै रहने वातावरण तयार पार्न सम्बद्ध सबैको चासो हुनु पर्छ । पर्वतारोहीहरू तथा तिनका प्रतिनिधिमूलक संस्थाहरूले बेलाबखत सरकारी निकायसमक्ष प्रस्तुत गर्ने गरेका माग र तिनका आग्रहलाई पूरा गर्नेतर्फ ध्यान दिन सकिएमा मात्र आरोही र तिनका परिवारले विख्यात आरोही सुन्दरे शेर्पालगायतका केही आरोहीको जस्तो पीडा भोग्नुपर्ने छैन । सगरमाथाको पहिलो सफल आरोहणको स्मृतिमा मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइ ऐतिहासिक आरोहणको सम्झना गरेर सगरमाथा तथा हिमालका चुनौतीप्रति जनतालाई सुसूचित गर्ने र जनचेतना बढाउने कार्य थाल्ने गरिएको कार्यलाई औपचारिकता मात्र सीमित राखिनु हुँदैन । पर्वतीय क्षेत्रको दिगो विकास र संरक्षण कार्यमा प्रत्येक व्यक्ति, समाज र सरकार तथा सबै निकायको सामूहिक प्रतिबद्धता र गतिविधि आवश्यक पर्छ र यसले मात्र सगरमाथा दिवस आयोजनाको सार्थकता रहने छ ।