• ११ पुस २०८२, शुक्रबार

चौथो खुला व्यायाम प्रतियोगिता हुँदैं

blog

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक टिम । तस्बिरः कमल खत्री

कमल खत्री

धम्बोझी, पुस ११ गते । नेपालगन्जमा शनिबार चौथो खुला ब्यायाम प्रतियोगिता हुने भएको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स नेपालगन्जको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका एकसय बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिता नेपालगन्ज उपमहानगरपालिका –१ धम्बोझीमा रहेको एन्फा ग्रासरुट फुटबल मैदानमा हुनेछ । प्रतियोगिता आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा १ ले संयोजन गरेको छ । 

युवाहरुलाई खेलकुदको माध्यमबाट स्वस्थ बनाउन खेलकुद महत्वपूर्ण हुने भएकाले प्रतियोगिता आयोजनामा सहकार्य गरेको नेपालगन्ज उपमहानगरपालिका वडा १ अध्यक्ष प्रमोद रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालगन्जको लागि यो नयाँ खेल हो । हाम्रो वडाले खेलकुदलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको छ । हामी वडालाई खेलकुदको हब बनाउने प्रयास गरिरहेका छौं ।’ 

खुला ब्यायाम प्रतियोगितामा वैज्ञानिक आधारमा तय गरिएका फिटनेसका मूल आधारहरु स्ट्रेन्थ, इन्डुरेन्स र स्टामिनाजस्ता विभिन्न शारीरिक चुनौतीमार्फत सहभागीको फिटनेस अवस्था परीक्षण गर्ने गरेको प्रतियोगिता नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स नेपालगन्जका अध्यक्ष तिलक शाहीले बताउनुभयो । 

शाहीका अनुसार प्रतियोगितालाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन मुख्य रुपमा बार इभेन्ट र सर्किट गरी दुई प्रमुख विधामा विभाजन गरिएको छ । प्रतियोगिता संयोजक प्रकाश कठायतका अनुसार पुरुष सर्किट, महिला सर्किट, पुरुष बार र फन रन विधामा खेलाडीहरुले सहभागिता जनाउने छन् । आम मानिसलाई पनि प्रतियोगितामा सहभागी गराउने उद्देश्यले ५ किलोमिटर फन रन विधा पहिलो पटक समावेश गरिएको आयोजकले जनाएको छ । 

८ लाख ४० हजार बजेट रहेको प्रतियोगिताको पुरुष सर्किट, महिला सर्किट, पुरुष बार इभेन्ट्समा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः जनही २० हजार, १५ हजार र १० हजार रुपियाँ नगद पुरस्कार, मेडल प्राप्त गर्नेछन् भने फन रनका विजेताले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा निर्णायकको रुपमा विश्वराज तामाङ घिसिङ, युवराज बस्नेत, सुरज डंगोल, डेभिट प्रधान क्षितिज सिंह क्षेत्रीले भूमिका निर्वाह गर्नु हुनेछ । 

प्रतियोगिताको गत वर्ष भएको तेस्रो संस्करणमा पुरुष बारमा क्षितिज सिंह क्षेत्री, पुरुष सर्किटमा सुनिल खड्का र महिला सर्किटमा निकिता भट्टराई च्याम्पियन हुनु भएको थियो ।