• १६ जेठ २०८२, शुक्रबार

‘लोकतन्त्रप्रति अटुट विश्वास’

blog

सञ्चारमैत्री बजेट र कानुन निर्माणमा प्रदेश सरकारको भूमिका विषयक अन्तव्रिर्mया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ ।

हेटौँडा समाचारदाता

हेटौँडा, जेठ १५ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले लोकतन्त्रप्रति प्रदेश सरकारको अटुट विश्वास रहेको बताउनुभएको छ । ‘सञ्चारमैत्री बजेट र कानुन निर्माणमा प्रदेश सरकारको भूमिका’ विषयक अन्तरक्रिया तथा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको दुईदिने प्रादेशिक भेलालाई मङ्गलबार हेटौँडामा सम्बोधन गर्नुहुँदै उहाँले पत्रकारिता जनविश्वासको आधार बन्नुपर्ने बताउनुभयो । 

“हामी लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्छौं, नागरिकले सत्य, तथ्यपरक र सन्तुलित सूचना पाउनु पर्छ,” मुख्यमन्त्री लामाले भन्नुभयो । कानुन निर्माण गर्दा अत्यन्त सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै कानुनको मर्म बुझ्ने र व्याख्या गर्ने निकायले कहिलेकाहीँ अर्थलाई उल्टोसुल्टो बनाउँदा समस्या सिर्जना हुने गरेको उहाँको भनाइ छ । “उत्पादनमुखी क्षेत्रमा लगानी हुन सकेन, जुन हाम्रो कमजोरी रह्यो,” उहाँले भन्नुभयो, “सरकारले हात हालेका धेरै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिएको छैन ।”

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पत्रकारले प्रदेशको जटिल अवस्था र वास्तविकताबारे जानकार हुनुपर्ने बताउँदै सरकारको सकारात्मक कामलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले बनाएका थुप्रै कानुन सङ्घीय सरकारको अवरोधका कारण कार्यान्वयनमा जान नसकेको उहाँको गुनासो थियो । “प्रहरीसमेत प्रदेश सरकारको अधिकारभित्र छैन, यसबारे पत्रकार अवगत हुनु जरुरी छ,” उहाँले भन्नुभयो, “हाम्रा मन्त्रालय अरूको भवन तथा भाडामा छन्, प्रदेश सरकारसँग अधिकार नहुनु हाम्रो सरकारको सबैभन्दा ठुलो चुनौती हो ।”

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकार सधैँ पत्रकारको साथमा रहेको बताउँदै खोजमूलक पत्रकारितामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सूचनाको युगमा पत्रकारको भूमिका झन् जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिँदै उहाँले पत्रकारसँगै प्रदेश सरकार रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारूमगरको अध्यक्षतामा भएको कार्यव्रmममा प्रदेश कोष लेखा नियन्त्रक हरि उपाध्यायले लेखासम्बन्धी र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेशको पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

तेह्रबुँदे घोषणापत्र जारी

सञ्चारमैत्री कानुन, नीति र बजेट निर्माण गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको दोस्रो प्रादेशिक भेलाले तीन वटै तहका सरकारलाई सञ्चार क्षेत्रको दिगो विकास र प्रवर्धन गर्न सञ्चारमैत्री नीति निर्माण गरी सञ्चार क्षेत्रको विकास, संवर्धन र प्रवर्धन गर्न माग गरेको छ । १३ बुँदे हेटौँडा घोषणापत्र जारी गर्दै सम्पन्न महासङ्घको भेलाले श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोष, स्वास्थ्य बिमा, दुर्घटना बिमालगायतका सामाजिक सुरक्षाका कार्यक्रममा समेट्न माग गरेको छ । घोषणापत्रमा श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन हुन नसक्नु, श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउन नसक्नु, आर्थिक व्यवस्थापन गर्न नसक्दा सञ्चार माध्यम बन्द हुने अवस्थामा पुग्नु, पत्रकारको जीवनको सुरक्षा नहुनुलगायतका कारणले पछिल्लो समय पत्रकारिता पेसा नै सङ्कटोन्मुख बन्दै गएको उल्लेख छ । स्वरोजगारमूलक मिडियालाई संरक्षण गर्न सम्बन्धित सरकारले आफ्नो कार्यक्षेत्रमा दर्ता र सञ्चालनमा रहेका सञ्चार माध्यमलाई समानुपातिक विज्ञापन अनिवार्य उपलब्ध गराउन र समानुपातिक रूपमा वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ । यसै गरी बागमती प्रदेशका पत्रकारलाई पत्रकार महासङ्घको सिफारिसमा प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गर्न घोषणापत्रमा माग गरिएको महासङ्घका प्रदेश अध्यक्ष कृष्ण सारूले जानकारी दिनुभयो । 

दुईदिने कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका निवर्तमान अध्यक्ष शिव देवकोटा, प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष तिलक रिमाल, प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष ध्रुव अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशका अध्यक्ष युुवराज श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशका जिल्ला शाखाका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायतको सहभागिता रहेको थियो ।