• १६ जेठ २०८२, शुक्रबार

भारतमा कोरोना सङ्क्रमित बढ्दै : १२ जनाको मृत्यु, १०८३ सङ्क्रमित

blog

तस्बिर : भारतीय सञ्चारमाध्यम दैनिक भास्कर

काठमाडौँ, जेठ १४ गते । भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १०८३ पुगेको छ भने १२ जनाको मृत्यु भएको छ भारतीय सञ्चारमाध्य दैनिक भास्करका अनुसार सबैभन्दा धेरै सङ्क्रमित अर्थात् ४३० केरला राज्यमा देखिएका छन् ।

मङ्गलबार कर्नाटकमा ३६, गुजरातमा १७, विहारमा पाँच र हरियाणामा तीन जना नयाँ सङ्क्रमित भेटिएका छन् । साथै गुजरातमा १३ जना सङ्क्रमित निको भएका छन् ।

यसैबिच, उत्तर प्रदेशको फिरोजाबादमा मङ्गलबार उपचारको क्रममा ७८ वर्षीय कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ । यो उत्तर प्रदेशमा कोभिडको नयाँ भेरियन्टका कारण भएको पहिलो मृत्यु हो ।

यसबाहेक, महाराष्ट्र, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा गरी ११ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेको सङ्ख्या १२ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।  

भारतमा कोभिड–१९ को चार नयाँ भेरियन्ट फेला

भारतमा हालसम्म कोभिड–१९ को चार नयाँ भेरियन्ट देखिएको छ । जसमा एलएफ. सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यद्यपि, हाल अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ ।जेएन.१ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो । परीक्षण गरिएका आधाभन्दा बढी नमूनामा यही भेरियन्ट भेटिएको छ । यसपछि बीए.२ २६ प्रतिशत र ओमिक्रोनको अन्य उप–प्रकार २० प्रतिशत देखा परेका छन् ।

जेएन.१ ओमिक्रोनको बीए.२.८६ भेरियन्टको स्ट्रेन हो । यो पहिलो पटक अगस्त २०२३ मा देखिएको थियो र डिसेम्बर २०२३ मा विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘वेरिएन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको थियो । यसमा करिब ३० म्युटेसन छन् जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । जेएन.१ भेरियन्ट अरूभन्दा छिटो फैलिने भए पनि खासै गम्भीर हुँदैन । विश्वका धेरै देशमा यो नै प्रमुख भेरियन्ट बनेको छ ।

त्यस्तै एनबी.१.८.१ विभिन्न स्पाइक प्रोटिन म्युटेसन जस्ता प्रोटिन म्युटेसनले अन्य भेरियन्टको तुलनामा यसलाई छिटो फैलन मद्दत गर्छ ।