बेइजिङ, पुस ११ गते । जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ रेल लाइन सञ्चालनमा आएसँगै कुल सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको छ । सरकारी सञ्चार माध्यमले जनाएअनुसार यो उपलब्धिसँगै चीनले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देशको हैसियतलाई अझ बलियो बनाएको छ ।
चीनसँग रहेको रेल सञ्जालको कुल लम्बाइ पृथ्वीको परिधिभन्दा करिब पाचौँ लामो रहेको बताइएको छ । यसले देशभित्रको आवागमन मात्र नभई, क्षेत्रीय आर्थिक एकीकरण र विकासलाई तीव्र बनाएको सरकारी अधिकारीको भनाइ छ । राज्य प्रसारक सिसिटिभीका अनुसार नयाँ उच्चगतिको रेल सेवा चीनको ऐतिहासिक र सांस्कृतिकरूपमा प्रसिद्ध टेराकोटा योद्धाको घर सिआन सहरबाट सुरु भई उत्तरतर्फ यानान सहरसम्म सञ्चालनमा आएको हो ।
यी दुवै सहर उत्तरी चीनको साङ्सी प्रान्तमा पर्दछन् । यस रेल परियोजनाको निर्माण सन् २०२० मा सुरु हुँदा केही घर भत्काउनुपरेको थियो । त्यति बेला विस्थापित हुनुपरेका बासिन्दालाई प्रति घर पाँच हजार युआन (करिब ७०० अमेरिकी डलर)का दरले स्थानान्तरण भत्ता उपलब्ध गराइने स्थानीय अधिकारीहरूले जानकारी दिएका थिए ।
राज्यको स्वामित्वमा रहेको चाइना रेलवेले शुक्रबार जारी गरेको विज्ञप्तिमा सन् २०२० को तुलनामा चीनको समग्र रेल नेटवर्क करिब ३२ प्रतिशतले विस्तार भएको उल्लेख गरिएको छ । यसलाई यातायात पूर्वाधारमा गरिएको दीर्घकालीन लगानीको परिणामका रूपमा हेरिएको छ । सिआन-यान उच्चगतिको रेल लाइनको कुल लम्बाइ २९९ किलोमिटर छ ।
सबैभन्दा छिटो यात्रामा याे दूरी पार गर्न ६८ मिनेट मात्र लाग्ने सिसिटिभीले जनाएको छ । यो सेवाले दुवै सहरबिचको दूरीलाई उल्लेखनीयरूपमा छोट्याएको छ । सि ९३०९ नामक ट्रेन अधिकतम ३५० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन हुने बताइएको छ । यस गतिले जापानको प्रसिद्ध शिन्कान्सेन रेललाई समेत उछिनेको छ, जसको अधिकतम गति ३२० किलोमिटर प्रतिघण्टा छ ।
यसैबिच, बेइजिङले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत अन्य एसियाली मुलुकमा पनि रेल पूर्वाधार विकासका लागि आर्थिक सहयोग गर्दै आएको छ । विश्वव्यापी पूर्वाधार परियोजनालाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको उक्त पहलअन्तर्गत केही योजना सफलतापूर्वक अघि बढिरहेका छन् भने केही परियोजना रोकिएका वा विवादमा परेका छन् भन्ने तथ्य पनि सार्वजनिकरूपमा स्वीकार गरिएको छ । रासस/एएफपी