• १६ जेठ २०८२, शुक्रबार

डायलासिस सेवाका लागि 'एक घर एक हजार रुपियाँ' सङ्कलन अभियान

blog

पश्चिम नवलपरासीको बर्दघाटस्थित सहिद स्मृति सामुदायिक अस्पतालमा डायलासिस सेवा सञ्चालनार्थ आम नागरिकको घरदैलोमा पुगेर आर्थिक सङ्कलन अभियान गरिँदै ।

पुरुषोत्तम सुवेदी

पश्चिम नवलपरासी, जेठ १४ गते । पश्चिम नवलपरासीको बर्दघाटस्थित सहिद स्मृति सामुदायिक अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्न आर्थिक सङ्कलन अभियान सुरु भएको छ । मृगौला रोगीको उपचारका लागि डायलासिस सेवा सञ्चालनार्थ आर्थिक सङ्कलन अभियान सुरु भएको हो ।

अस्पतालमा डायलासिस मेसिन भएपनि सञ्चालनमा ल्याउन आर्थिक अभाव भएका कारण मृगौला रोगीका बिरामीलाई डायलासिस सेवा सञ्चालनार्थ प्रति घरपरिवार रु एक हजारको दरले आर्थिक सङ्कलन अभियान सुरु गरिएको बर्दघाट नगरपालिकाका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

बर्दघाट नगरपालिका र सङ्घीय सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलको पहलमा धुलिखेल अस्पतालबाट बर्दघाट नगरपालिका १४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा चार थान डायलासिस मेसिन उपलब्ध भएको थियो ।

अस्पतालमा डायलासिस सेवा सञ्चालनार्थ 'एक घर एक हजार रुपियाँ सङ्कलन अभियान' अनुरूप नागरिकहरू स्वतःस्फूर्त रूपमा आर्थिक सहयोगका लागि घरदैलोमा पुगेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

बर्दघाट नगरपालिका र अस्पतालको अगुवाईमा मृगौला रोगीका बिरामी थप उपचारका लागि डायलासिस सेवा सञ्चालनार्थ आर्थिक सङ्कलन अभियान सुरु गरिएको हो  ।

सरकारको स्वास्थ्य मापदण्ड अनुरूप सामुदायिक अस्पतालको प्रशासनिक सेवा विस्तार र सेवा सञ्चालन तथा जनशक्ति व्यवस्थापनका लागि तीनै तहका सरकारले लगानी गर्न नमिल्ने बताउँदै नगर प्रमुख श्रेष्ठले डायलासिस सेवा सञ्चालनका लागि १० देखि १५ हजार नागरिकलाई यो अभियानमा जोड्ने लक्ष्य राखिएको स्पष्ट पार्नु भयो ।

मृगौलाको डायलाइसिसका लागी जिल्लामा सेवा उपलब्ध नहुँदा बुटवल भैरहवा जानुपर्ने बाध्यताको अन्त्यका लागी नगरपालिकाले सामुदायिक अस्पतालमा सेवा विस्तार गरी जिल्लामै पहिलो पटक डायलासिस सेवा सुचारु गर्न थालिएको बताइएको छ ।

सर्वसुलभ रुपमा सेवा प्रदान गर्न सहयोग सङ्कलनको महाअभियान सुरु गरिएकोले बर्दघाट नगरवासीसहित सबै जिल्लावासीलाई सक्दो सहयोगका लागि नगर प्रमुख श्रेष्ठले आह्वान गर्नुभयो । सो अभियानमा बर्दघाट नगरपालिका भित्र रहेका सबै घरमा पुगेर सहयोग सङ्कलन गर्ने योजना बनाइएको छ ।

सामुदायिक अस्पतालमा तलबभत्ता लगायतका कार्यका लागि स्थानीय तहबाट लगानी गर्न कानुनी असहजता भएकोले र लगानी गरेको रकम बेरुजु देखिने भएकाले विकल्पको रूपमा अभियान चलाइएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

मृगौला प्रत्यारोपण गरी अहिले नियमित जीवनयापनमा फर्कनुभएका बर्दघाट १४ निवासी माधव तिवारीले डायलासिसका लागि टाढा जानु पर्दा आफूले निकै कष्ट भोग्नु परेको अस्पताल जादा जाँदै बिच बाटोमै कठिन अवस्थाबाट आफू गुज्रिएको तितो यथार्थ सुनाउँदै आगामी दिनमा डायलासिस सेवाले कयौँ नागरिकले समयमै सेवा प्राप्त गरी पुनर्जीवन प्राप्त गर्ने बताउनुभयो । 

सेवा सुचारु भएपछि नियमित डायलासिस गर्नुपर्ने मृगौलाका बिरामीहरूलाई समेत घर आगनमै सहकज रूपमा सेवा उपलब्ध हुने भएपछि मिगौला बिरामीहरू हर्षित बनेका छन् ।

बर्दघाट नगरपालिकाभित्र मात्रै ५२ जना मृगौला रोगीले डायलासिस गराउँदै आएका छन् । अस्पतालको सेवा वृद्धि गर्दे मृगौला पीडितलाई सेवा दिन लागि चार वटा डायलासिस मेसिन तयारी अवस्थामा रहेको अस्पताल विकास केन्द्रका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत जिल्लामा रहेका सातै वटा पालिकाहरूलाई समेत सेवा विस्तारका लागि सहयोग गर्न अनुरोध गरी साझा कार्यक्रम ल्याउन समेत पहल गरिएको छ । तत्कालका लागि सेवा सुचारु गर्न ३० देखि ३५ लाखको हाराहारीमा खर्च हुने बताइएको छ ।

२०६४ सालमा स्थापना भएको उक्त अस्पतालले प्रभावकारी रूममा गुणस्तरीय सेवा प्रवाह गर्न नसक्दा यहाँ रहेका सुबिधा सम्पन्न भौतिक संरचनाहरु उपयोगविहीन जस्तै बन्न पुगेका छन् । डायलासिस सेवासँगै ओटिसहितको बर्थिङ सेन्टर समेत सञ्चालन गर्ने समेत अभियानको उद्येश्य रहेको छ । बर्दघाट नगरपालिकाको कार्यपालिका बैठकले अभियानका निम्ति कार्यदल समिती गठनको निर्णय पारित गरी अभियान सुरु गरिएको हो । आर्थिक संकलन अभियानको सुरुवातमा आम नागरिकहरूले उत्साहपूर्ण रूपमा सहयोग गरेका छ्न् ।