दिपकप्रसाद गौतम
वीरगञ्ज, जेठ १४ गते । जिल्ला अदालत रौतहटले इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा गरेको जन्मकैदको फैसला उल्ट्याउँदै उच्च अदालत वीरगञ्ज इजलासले नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ ।
उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीशहरू डा. खुसीराम थारू र अर्जुन महर्जनको इजलासले सुनुवाइपछि नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइदिने फैसला सुनाएको हो ।
पूर्वसांसद आलम र उहाँका भाइ महताबसहित अन्य सहयोगीहरूविरुद्ध घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोपमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर गरी तीनवटा मुद्दामा थुनछेक बहसपछि २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसैगरी, जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ मा पूर्वसांसद आलमसहित महताब आलम, शेष सेराज र बद्री सहनीविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो ।
जिल्ला अदालतको फैसलाविरुद्ध पूर्वसांसद आलमले दिएको पुनरावेदन निवेदनमा न्यायाधीशहरू डा. खुसीराम थारू र अर्जुन महर्जनको इजलासमा भएको सुनुवाइ सकिएकाले बुधबारको फैसलामा पूर्वसांसद आलमले सफाइ पाउनु भएको हो ।
२०६४ चैत २७ गते पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भई त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित अन्य केही व्यक्ति घाइते भएका थिए भने घाइतेहरूलाई जिउँदै नजिकको इँटाभट्टामा जलाएर हत्या गरिएको आरोप लागेको थियो ।
उच्च अदालत वीरगञ्ज इजलासका रजिष्ट्रार दिपक भण्डारीले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, ‘‘मुख्य तीनवटा आधारमा जिल्ला अदालत रौतहटको फैसललाई उल्टी गर्दै जन्मकैद पाएका चारै जनालाई सफाइ दिइएको हो । तीन आधारमा पहिलो आधार २०६४ चैत २७ गते भएको वारदात (घटना)को वस्तुनिष्ट प्रमाणले पुष्टि हुन नसकेको, दोस्रो आधारमा विस्फोटनमा घाइते भनिएका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओशी अख्तरलाई टयाक्टरमा हाली राजापुर इँटाभट्टामा लगी पोलेको भन्ने ठोस सबुत प्रमाण वादीले पेश गर्न नसकेको र तेस्रो आधार विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट मृतकहरुलाई पोलेको अभियोग दाबी पुष्टि हुन नसकेको रहेको छ ।’’
आलम काठमाडौँ नख्खु कारागार र अन्य रौतहट कारागारमा रहेकाले आजको फैसलाको पत्र पठाई सकिएको र साँझसम्म छुटिसकेको हुनुपर्ने भण्डारीले जानकारी दिनुभयो ।
पूर्वसांसद आलम रिहा
यसैबीच, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट सफाइ पाउनुभएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम केहीबेर अघि रिहा हुनुभएको छ ।
राष्ट्रिय समाचार समितिका अनुसार, नक्खु कारागारमा रहनुभएका उहाँलाई परिवारको जिम्मा लगाएर रिहा गरिएको कारागारका जेलर भीमराज कोइरालाले राससलाई जानकारी दिनुभयो । यसअघि आलममाथि जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आजै आलमलाई सफाइ दिएको अदालतका रजिष्टार दीपक भण्डारीले जानकारी दिनुभयो ।