• १६ जेठ २०८२, शुक्रबार

बुटवल–नारायणगढ सडकमा धमाधम काम (फोटो फिचर )

blog

बुटवल– नारायणगढ सडक निर्माणको काम तीव्र पारिँदै । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, जेठ १४ गते ।
बुटवल– नारायणगढ सडक निर्माणको कामले गति लिएको छ । कुल एक सय १३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी कामलाई तीव्र पारिएको हो ।

नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालले ९४ किलोमिटर सडक कालोपत्र भएको बताउनुभयो । सूचना अधिकारी खनालका अनुसार सडकको कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने छ ।


एसियाली विकास बैँक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको  दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपियाँ लागत रहेको छ ।

सडक निर्माण योजनाको भौतिक प्रगति ६७ प्रतिशत पुगेको भने सडकको कुल लम्बाइ एक सय १३ दशमलव ५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९० दशमलव ८७ किमी सडक कालोपत्र भएको छ ।

यो सडकमा ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६  मिटरको सर्भिस लेन हुने छ ।

समग्रमा कुल भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ । सडकमा धमाधम पुल निर्माण, कल्भर्ट निर्माण तथा कालोपत्रको काम चलिरहेको हो ।


यो सडकको यात्रालाई सहज बजाउनका लागि दैनिक योजना अनुसारको काम जारी रहेको छ । सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो ।

सो निर्धारित समयमा काम सम्पन्न नभएपछि विसं. २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ ।