काठमाडौँ, जेठ । १५ गते । नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको औपचारिक अभ्यास आरम्भ गरेको आज १८ वर्ष लागेकाे छ।
तत्कालीन सात राजनीतिक दलद्वारा सञ्चालन गरिएको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही माओवादी पार्टीद्वारा सञ्चालित सशस्त्र सङ्घर्षको ऐतिहासिक उपलब्धिको रूपमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट २४० वर्षे राजतन्त्रको औपचारिक अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको थियो। यही दिनको स्मरणमा प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउने परम्परा स्थापित भएको हो।
जेठ १५ ले नेपाली जनतालाई स्वतन्त्रता, समावेशी समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय र नागरिक सर्वोच्चताको प्रत्याभूति दिलाएको ऐतिहासिक दिनको रूपमा मानिन्छ। यो दिवस केवल राजनीतिक परिवर्तनको स्मरण मात्र होइन, वंशीय सत्ता प्रणालीमाथि जनताको विजयको उत्सव पनि हो।
आज देशभर १८औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ भव्यताका साथ मनाइँदैछ। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेकाे छ।
समारोहमा सहादत प्राप्त शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि संघर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरिनेछ। सामाजिक न्याय, स्वतन्त्रता र समृद्धिका लागि भएका आन्दोलनमा धेरै नागरिकले जेल र यातना भोग्नुपरेको इतिहास पनि आज स्मरण गरिँदैछ।