• १३ साउन २०८१, आइतबार

साँगुरीगढी ओझेलमा

blog

कबिराज घिमिरे 

हिले, माघ १० गते । धनकुटाको पर्यटकीय नगरी भेडेटारसँगै रहेको ऐतिहासिक साँगुरीगढी ओझेलमा परेको छ । किरात शासनकालमा यो गढीलाई नेपाल–भारत र भारत–चीन व्यापारको निगरानी गर्नेको रुपमा लिइएको थियो ।

किरात राज्य हुँदा होस् या धनकुटा गौँडा, साँगुरीगढी पञ्चायतकालको आधा समय पनि महत्वपूर्ण ठाउँको रुपमा रह्यो । सङ्घीयतापछि यही गढीको नामबाट यो क्षेत्रकोे नामसहित साँगुरीगढी गाउँपालिका निर्माण भएको छ ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले लिम्बूवान क्षेत्रमा रहेको यो गढीलाई वि.सं.१८३१ साउनमा एकीकृत गराएको थियो । त्यसपछि २०३६ सालसम्म यो पूर्वी पहाडको प्रवेशद्वारको रुपमा रह्यो ।

त्यसपछि धरान धनकुटा सडक बनेपछि यो स्थान सुनसान बन्यो । यो महत्वपूर्ण स्थानको प्रचारप्रसार गर्नसके प्रशस्त पर्यटकीय सम्भावना बोकेको साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र राई बताउनुहुन्छ । 

यो गढी पर्यटकीय नगरी भेडेटारबाट ३ किलोमिटर उत्तर पश्चिममा छ । भेडेटारमा दैनिक सयौंको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । तर यो गढीमा भने आक्कलझुक्कल केही पर्यटक पुग्ने गरेका छन् ।

त्यसो त पर्यटक भित्र्याउन पर्यटन विकास कार्यालय काँकडभिट्टा तथा तत्कालीन जिल्ला विकास समितिले लाखाैँ रुपियाँ खर्चेर पूर्वाधार त निर्माण गरेका छन् ।

यहाँसम्म पुग्ने सिढी, प्रवेशद्वार, ट्वाइलेट रेलिङ्गलगायतका संरचना निर्माण भएका छन् । पूर्वाधार निर्माण भए पनि प्रचारप्रसारको अभावका कारण पर्यटकको पहुँच पुग्नै नसकेको भेडेटारका होटल व्यवसायी रमेश श्रेष्ठ बताउनुहुन्छ ।

धरानदेखि यो गढी हुँदै एकीकृत पदमार्ग घोषणा गरिए पनि थप पूर्वाधार विकास गर्न सकेको छैनन । प्रदेश सरकारले साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गरेको भए ऐतिहासिक गढीको संरक्षण, संवर्धन र प्रचारमा ध्यान नगएको बताइएको छ ।