• १३ साउन २०८१, आइतबार

जाडो छेक्न र फेसनेबल देखिन मफलर

blog

काठमाडौँ, माघ ७ गते । के बालक, के युवा, के बूढाबूढी; जाडोमा फेसनसँगै शरीर तताउन नभई नहुने पहिरनका रूपमा स्थापित हुँदै छ मफलर।  काममा जान होस् या घुम्न, धेरैको आवश्यकता बनेको छ मफलर। फेसन डिजाइनर अनित भुजेल भन्नुहुन्छ, “म स्कुटर चलाउँदा टोपी र मफलर प्रयोग गर्छु। जाडोमा कहिल्यै छुटाउँदिनँ।” ऊनको टोपी र मफलर मन पर्ने भएकाले प्रायः लगाइरहने उहाँ बताउनुहुन्छ। जाडोमा शरीर तातो बनाउन र जुन लुगामा पनि राम्रो देखिन मफलर प्रयोग गर्ने उहाँले बताउनुभयो। वानपिस लुगा होस् वा कोट, मफलर लगाएमा सुनमा सुगन्ध हुने भुजेलको ठम्याइ छ। 

मोडल नीति शाहलाई भने ब्रान्डेड मफलर लगाउन मन पर्छ। फेसनअनुसार चलेको मफलर मन पर्ने जानकारी दिँदै उहाँले एच एन्ड एम ब्रान्डको मफलर लगाउने गरेको बताउनुभयो। चिसोबाट बचिने र फेसनअनुसार पनि चल्न सकिने भएकाले कटन र सफ्ट उलनको मफलर जाडोमा कहिल्यै नछुटाउने जानकारी शाहले दिनुभयो। 

डा. सुनिस जोशीले पनि जाडोमा मफलर नछुटाउने बताउनुभयो। “अस्पताल जाने बेलामा कोटमा मफलर राम्रो देखिने र टाईको समेत विकल्प भएकाले मेरो लागि प्रिय भएको छ,” उहाँले भन्नुभयो। मफलर लगाउँदा तातो त हुने नै भयो, त्यसमा आफू स्मार्ट भएको पनि अनुभव हुने उहाँको भनाइ छ। “जाडोबाट बचिने र फेसनेबल पनि भएकाले ‘कम्फर्टेबल’ हुन्छ। पस्मिनाको मफलर धेरै लगाइन्छ,” डा. जोशीले भन्नुभयो। 

व्यापारीहरू पनि फेसनअनुसार युवाहरू मफलर खरिद गर्न आएका अनुभव सुनाउँछन्। राज ह्यान्डिक्राफ्टका प्रोप्राइटर राजाराम केसीले प्रिन्टेट, सादा र उलनका मफलर बढी बिक्री हुने बताउनुभयो। “मफलर त धेरै प्रकारका पाइन्छ तर बढी बिक्री हुने भने पस्मिना, उलन र कटनकै हो,” उहाँले भन्नुभयो। आफूकहाँ आउने ग्राहक प्लस टु र क्याम्पसका युवती नै रहेको उहाँले बताउनुभयो। अहिले गिफ्टका रूपमा पनि पस्मिना वा कटनको मफलर प्रयोग गरिने व्यापारी केसीको अनुभव छ। उहाँका अनुसार नेपाली युवतीले डिजाइन भएको खोज्छन्। केहीले त एउटा जाडोका लागि मात्र किन्छन्। अर्को वर्ष नयाँ किन्छु भनेर सस्ता किन्ने गर्छन्। नेपालीले विदेश जाँदा गिफ्टका रूपमा पनि सस्तो मफलर किनेर लैजाने गरेको पाइन्छ।