• ८ मंसिर २०८१, शनिबार

केही खाद्यवस्तुको मापदण्ड तयार

blog

काठमाडौँ, माघ ६ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न प्रकारका खाद्यान्नमा मापदण्ड तयार गरेको छ । 

चामल, कुखुराका दाना र रोल्ड ओट्सको मापदण्ड तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागेको हो । विभाग वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता मोहनकृष्ण श्रेष्ठले स्तरोन्नति गरिएको चामल, कुखुराको दाना र रोल्ड ओट्सको गुणस्तर तयार गरेर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागेको उहाँले जानकारी दिनुभयो । 

चामलमा मापदण्ड भए पनि पौष्टिक तत्त्व वृद्धि गरिएको चामलको नयाँ मापदण्ड तयार गरिएको उहाँले जानकारी दिनुभयो । कुखुराको दाना र रोल्ड ओट्सको समेत गुणस्तर तयार गरिएको उहाँले जानकारी दिनुभयो । पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल पोषण कम भएका र रक्तअल्पता भएका व्यक्तिलाई लाभदायक हुने उहाँले जानकारी दिनुभयो । 

पौष्टिक तत्त्व वृद्धि गरिएको चामल (फोर्टिफाइड राइस) गरिएको चामल भन्नाले चामलमा पोषक तत्त्व थप गरिएको चामलको दाना ०.५ प्रतिशतदेखि २ प्रतिशतसम्म मिसाउँदा आवश्यक गुणस्तर पुगेको चामल हो । 

पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामल अस्वाभाविक गन्ध र स्वादरहित हुनुका साथै ढुसी, कीरा नलागेको र बाह्य रङ तथा तोकिएकोबाहेक अन्य बाह्य पदार्थ मिसिएको हुन नहुने मापदण्डमा उल्लेख छ । 

स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ए, फोलिक एसिड, भिटामिन बी–१२ मिसाइएको हुन्छ । प्रतिकेजी चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलिग्राम हुनुपर्ने मापदण्ड रहेको छ । 

यस्तै प्रतिकेजी चामलमा जिङ्कको मात्रा ३२ देखि ५९ मिलिग्राम, भिटामिन ०.८९ देखि २.२१ मिलिग्राम, फोलिक एसिड ०.२४ देखि ०.५९ र भिटामिन बी–१२ ०.००७ देखि ०.०२० मिलिग्राम हुनुपर्ने मापदण्डमा उल्लेख छ । 

पौष्टिक तत्त्व स्तरोन्नति गरिएको चामललाई सफा र सुक्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्दी गरी प्याक गर्नुुपर्ने हुुन्छ । प्याकेजिङ सामग्रीको अघिल्लो भागमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल भनी अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । स्तरोन्नति गरिएको चामल उत्पादन, प्याकेजिङ, ह्यान्डलिङ, भण्डारण तथा ढुवानीमा स्वच्छतासम्बन्धी कार्यविधि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वीकृत गरेबमोजिम हुनुपर्छ । यस्तै कुुखराका दानामा पेलेट्स, क्रम्स वा धुलो स्वरूपमा हुन सक्ने मापदण्ड निर्धारण गरिएको छ । कुुखुराको दाना उत्पादन गर्दा मकै, कनिका, ज्वार, गहुँ, जौ, चामल, रागी, सिमल तरुलको पिठो, वनस्पति तेल, भटमासको पिठो, भटमासको पिना, बदामको पिठो, बदामको पिना, सुर्यमुखीको पिना, तिलको पिना, माछाको धुलोलगायतका खाद्यान्नको कच्चा पदार्थ प्रयोग गर्न सकिने मापदण्डमा उल्लेख छ । 

दाना पदार्थमा गुणस्तर वृद्धि गर्न वा गुणस्तर कायम राख्न आवश्यकताअनुसार पोषक तत्व मिश्रित आहारपूरक दाना पदार्थ (फिड सप्लिमेन्ट) तथा दानाको योगशील (फिड एडिटिभ्स) प्रयोग गर्न सकिनेछ भने एन्टिबायोटिक्सको प्रयोग गर्न नपाइने मापदण्डमा उल्लेख छ । 

कुुखुराको दानालाई सफा, सुक्खा पोलिथिन लेमिनेटेड जुटको बोरा वा लेमिनेटेड कागजको बोरामा सिलबन्दी गरी प्याकेजिङ गर्नुपर्नेछ । दानाको पहिचान खुल्ने नाम र ब्रान्डको नाम, दानाको प्रकार, उत्पादकको नाम र ठेगाना, तौल, अधिकतम खुद्रा मूल्य, उत्पादन र उपभोग्य प्रति अनिवार्य रूपमा उल्लेख गरिएको हुनपर्ने मापदण्डमा उल्लेख छ । 

यस्तै विभागले रोल्ड ओट्समा बाह्य पदार्थ, ढुसी, कीरा, मुसा,काठको टुक्रा, फलामको टुक्रा, सिसाको टुक्रा तथा अन्य हानिकारक पदार्थ हुन नहुने मापदण्ड तयार गरेको छ । रोल्ड ओट्सलाई सफा र सुक्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्द गरेर प्याकेजिङ गरी लेबलमा खाद्य नियमावली, २०२७ ले तोकेबमोजिम वितरण गर्नुपर्ने मापदण्डमा उल्लेख छ । 

पूरक बाल आहार र गह्रौँ  धातुको मापदण्ड कार्यान्वयन

विभागले अन्नमा आधारित पूरक बाल आहारको प्रस्तावित न्यूनतम गुणस्तर र खाद्य पदार्थमा गह्रौँ धातुको सीमाको मापदण्ड तयार गरी मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । केही दिनमै राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने विभागले जनाएको छ । 

अन्नमा आधारित पूरक बाल आहार भटमास, बदाम, गेडागुडी, तिल, सूर्यमुखीको दाना, आलस, सुक्खा फलफूल तथा तरकारीलगायतका खाद्य पदार्थ र धुलो प्रयोग गरेर बनाउन सकिन्छ । छदेखि ३६ महिनासम्मका शिशु तथा बालबालिकाका लागि उत्पादन तथा प्याकेजिङ गरिएको अन्नमा आधारित पूरक बाल आहार हो । 

अन्नमा आधारित पूरक बाल आहारको न्यूनतम मापदण्डमा जलांश बढीमा ८ प्रतिशत, कुल चिल्लो पदार्थ (सुक्खा तौलका आधारमा) बढीमा १३ प्रतिशत, कुल प्रोटिन (सुक्खा तौलका आधारमा) घटीमा १५ प्रतिशत, कार्बाेहाइड्रेट बढीमा ५६ प्रतिशत, क्रुड फाइबर ३ प्रतिशत, हाइड्रोक्लोरिक एसिडमा नघुल्ने भष्म ०.१ प्रतिशत र क्याल्सियम मिलिग्राम प्रति एक सय ग्राममा तीन सयदेखि छ सयसम्म हुनुपर्ने मापदण्ड तयार गरिएको छ । 

अन्नमा आधारित पूरक बाल आहार ढिक्का/डल्लो नपरेको हुनुपर्ने, ढुसी, कीरा, अस्वाभाविक गन्ध र स्वादरहित हुनुपर्नेछ । 

यस्तै खाद्य पदार्थमा गह्रौँ धातुको प्रस्तावित सीमाको मापदण्डमा तयार गरिएको छ । फलफूूलमा सिसा (लिड)को अवशेष अधिकतम ०.१ प्रतिशतभन्दा बढी हुन नहुने मापदण्ड छ । खाद्य पदार्थमा तामाको अवशेष ०.१ प्रतिशतदेखि ३० प्रतिशतभन्दा बढी हुन नहुने मापदण्ड तयार गरिएको छ ।