• १२ असोज २०८१, शनिबार

कमाउने स्वप्नदर्शीलाई एजेन्टले डुबाए

blog

एजेन्ट राजकुमार लामिछाने

उर्लाबारी समाचारदाता

उर्लाबारी, माघ ६ गते । खाडी देशमा भन्दा राम्रो कमाइ हुने सपना देखेर टर्की जान एजेन्टलाई लाखौँ रुपियाँ दिएका आठ जना युवा यतिबेला घर न घाटको अवस्थामा पुगेका छन्।

२०७६ साल फागुन ११ गते उनीहरूले एजेन्ट राजकुमार लामिछानेको ग्लोबल आईएमई बैङ्कको एकाउन्ट नम्बर १००७०१०००८६३५ मा पैसा जम्मा गरिदिएका थिए। पैसा जम्मा गरे लगत्तै देश कोभिड १९ को महामारीमा प-यो जसले गर्दा एजेन्ट राजकुमारले केही समय पर्खन आग्रह गरे। कोभिडले संसार नै अस्तव्यस्त भएको बेला पीडित युवा पनि लामिछानेका कुरा सुन्न बाध्य भए। कोभिडको पहिलो लहर सकिएपछि लामिछाने सम्पर्कविहीन भए। यतिबेला लामिछानेले कसैको फोन उठाउँदैनन्।

मोरङ उर्लाबारी–२ का पीडित दधिराम पोख्रेलले भन्नुभयो, “मेरो दाजु टर्कीमा हुनुहुन्छ। दाजुले नै लामिछानेले टर्की पठाउँछन् भनेपछि हामी लामिछानेका पछाडि लाग्यौँ। पैसा बैङ्कमा हालिदिएको चार वर्ष पुग्न लाग्यो, ३६ प्रतिशत ब्याजमा ऋण काढेर ल्याएको पैसा खाएर लामिछाने सम्पर्कविहीन भए।” 

विदेश पठाइदिन भनेर लामिछानेले सबैको पासपोर्ट लगेका थिए। त्यो पनि अहिले फर्काइदिए। पासपोर्ट पनि फर्काएपछि यतिबेला सबैलाई ठगिएको ठहर भएको छ। उर्लाबारी–२ का अर्का पीडित शुभम भुजेलले भन्नुभयो, “वर्षको ४० हजार ब्याज तिरिरहेको छु। साँवाभन्दा ब्याज बढी भइसक्यो तर न विदेश पठायो न पैसा फिर्ता दियो। भुजेलले राम्रो पैसा कमाउने सपना देख्दा ठगिएको बताउनुभयो।

अझ दमक–३, झापाका मिलन शिवा, सचिव दर्जी र मोरङको पथरीशनिश्चरे–१० का यमन श्रेष्ठले संयुक्त रूपमा लामिछानेको खातामा पैसा हालिदिनुभएको थियो। प्रति सदस्य एक लाख १० हजारका दरले जम्मा तीन लाख ३० हजार रुपियाँ जम्मा गरेको भौचर देखाउँदै मिलनले भन्नुभयो, “लामिछानेको  ठेगानासम्म थाहा छैन, कहाँ खोज्ने, कसरी खोज्ने ? त्यसैले मिडियासँग सहयोग लिन सञ्चारकर्मी खोज्दै हिँडेका हौँ।”

इलामको माई नगरपालिका–८, फूलबारीका बुढाथोकी दाजुभाइ भरखरै खाडीको गर्मी खेपेर अलिअलि पैसा लिएर आउनुभएको थियो। खाडीमा काम गर्न गाह्रो, पैसा थोरै हुने। त्यसैले विष्णु र रुकवीर बुढाथोकी पनि धेरै पैसा कमाउने सपना देखेर टर्कीको चक्करमा लाग्नुभयो। दाजुभाइले लामिछानेको उही खातामा दुई लाख २० हजार हालिदिनुभयो। मोरङको बेलबारी–९ का सुरेश श्रेष्ठ पनि ठगिनुभएको छ। उहाँले पनि लामिछानेको खातामा एक लाख १० हजार हालिदिनुभएको छ। बैङ्क खाताका अतिरिक्त सबैले गाडी भाडा, परराष्ट्र र दूतावासमा कागजात मिलाउन १०/१० हजार नगद दिनुभएको थियो। “आठ जनासँग जनही एक लाख २० हजारका दरले जम्मा नौ लाख ६० हजार खाएको रहेछ। अहिले पीडित सबै भेला भएपछि थाहा पायौँ। अझ अरू कति ठगिएका होलान् सुरेशले भन्नुभयो।”

पीडितहरूले लामिछानेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन गुहार  मागेका छन्।