• १२ असोज २०८१, शनिबार

विकास निर्माणको जानकारी दिन सूचना एम्बुलेन्स

blog

मोरङको कानेपोखरी गाउँपालिकाले प्रयोगमा ल्याएको सूचना एम्बुलेन्स । तस्बिर: हरि

हरि कोइराला

उर्लाबारी, माघ ४ गते । मोरङको कानेपोखरी गाउँपालिकाले सूचना एम्बुलेन्सको प्रयोग गर्न थालेको छ । 

गाउँपालिकाका विकास निर्माण गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सूचना एम्बुलेन्सको प्रयोग गरिएको गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बताउनुभयो । तीन तहको सरकारको अवधारण सुरु भएपछि गाउँपालिकामा नै नीति निर्माण हुन थालेका छन् । तर, पालिकाले बनाउने त्यस्ता नीति, विकास निर्माण उपभोक्ता समिति गठनका बारेमा सर्वसाधारण बेखबर भए । त्यसैले नयाँ प्रयोगका रूपमा सूचना एम्बुलेन्स प्रयोगमा ल्याएका हौँ , पालिकाका अध्यक्ष इङनामले भन्नुभयो । 

खासगरी उपभोक्ता समिति र निर्माण कम्पनीले गर्ने विकासका आयोजनाका बारेमा सूचना एम्बुलेन्सले आयोजना परिसर मै पुगेर सूचना दिनेछ । रेडियो कै शैलीमा दिइने सूचनामा लागत खर्च,काम गर्ने समिति र निर्माण कम्पनीको हो ? आवश्यक कच्चा पदार्थ,कच्चा पदार्थको परिमाण र प्रयोग , काम सुरु गर्ने र सम्पन्न गर्ने तिथिमिति ,बजेटको स्रोतका विषयमा सर्वसाधारणलाई सूचना दिनेछ । पालिकाहरूमा धेरै भ्रष्टाचार भएको आरोप लागेपछि गाउँपालिकाले काम पारदर्शी बनाउन सूचना एम्बुलेन्सको प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनुभयो । काम सम्पन्न गरिसक्दा पनि सोही क्षेत्रका उपभोक्ताहरू उपभोक्ता समिति गठन गरेको थाहा पाएनौँ भन्दै गाउँपालिका आउनुहुन्छ । काम सम्पन्न भएपछि भुक्तानी दिने बेलामा उजुरी पर्छ । हरेक काममा एक पछि अर्को झन्झट आएपछि नयाँ प्रयोग गरेका हौँ, घिमिरेले भन्नुभयो । 

रेडियो र एफएममा सूचना दिँदा सुनेनौँ भन्ने जवाफ आयो । सामाजिक सञ्जालमा सबैको पहुँच छैन । त्यसैले गाउँपालिकाले आफ्नै खर्चमा विद्युतीय रिक्सा किनेर त्यसैमा सूचना प्रसारण गर्दै हिँड्न थालेको छ । विकास निर्माणका मात्र होइन, अन्य जनहितमा जारी सूचना पनि एम्बुलेन्सबाटै गाउँवासीले सुन्न पाउँछन् । अनुदानका सूचना,ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता नवीकरणको सूचनालगायतका जानकारी पालिकाभरि घुमी घुमी एम्बुलेन्सले सुनाएपछि यतिबेला कानेपोखरीवासी एम्बुलेन्स आउनेबित्तिकै कान ठाडा बनाएर सुन्न थालेका छन् ।