• १६ भदौ २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डले दलका नेताहरुसँग छलफल गर्नुहुने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ३ गते । मन्त्रिपरिषद विस्तारलगत्तै आज मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल तथा आफूलाई संसदमा विश्वासको मत दिने दलका नेताहरुसँग साँझ ४ बजे बालुवाटारमा छलफल गर्नुहुने भएको छ । 

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार नयाँ मन्त्रीहरुले शपथ लिनुभएपछि लगत्तै बालुवाटारमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने दल र नेताहरुसँग परामर्श तथा छलफलको तयारी भएको छ । पुस १० गते नियुक्त भई ११ गते शपथ लिनुभएका प्रधानमन्त्री प्रचण्ड पुस २६ गते प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिनुएको थियो । 

आजको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल हुने शर्माले जानकारी दिनुभयो । त्यस्तै, सभामुखको निर्वाचनबारेमा पनि बैठकमा आवश्यक छलफल हुने प्रेस संयोजक शर्माले बताउनुभयो । सभामुखको निर्वाचन माघ ५ गतेका लागि निर्धारण गरिसकिएको छ । यसअघि बसेको संसद् बैठकले माघ ५ गते बिहान ११ बजेका लागि संसद् बैठक तय गरेको थियो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन माघको अन्तिमतिरबाट सुरु गर्ने तयारीमा सत्ता साझेदार दल रहेको बुझिएको छ । दलको बैठकबाट त्यसबारे थप निर्णय हुने शर्माको भनाइ छ । हिजो सोमबार अबेर रातिसम्म बसेको सत्ता साझेदार दलले मङ्गलबार १ बजेका लागि मन्त्रिपरिषद् विस्तार र शपथको सहमति गरेका थिए । सोहीअनुसार आज १ बजे नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।