केप क्यानभेरल (फ्लोरिडा), चैत १८ गते । झन्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस-२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने सङ्केत दिएको छ । सन् १९७२ पछिको पहिलो मानवयुक्त चन्द्र उडानका रूपमा हेरिएको यस अभियानले प्रत्यक्ष अवतरण नगरे पनि भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण आधार तयार गर्ने छ ।
अपोलो कार्यक्रमको झल्को दिने यो मिसनमा चार अन्तरिक्ष यात्री चन्द्रमातर्फ प्रस्थान गर्नुहुने छ । उहाँहरू चन्द्रमाको सतहमा अवतरण नगरी त्यसबाट हजारौँ माइल टाढासम्म पुगेर फर्किनु हुने छ । करिब १० दिनभन्दा कम अवधिको यो ‘फ्लाइबाइ’ उडानले चन्द्रमाको परिक्रमा नगरी पृथ्वीमा सिधा फर्कने योजना समेटेको छ ।
यस मिसनमा सहभागी अन्तरिक्ष यात्री रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यानसेन विविधता र अन्तर्राष्ट्रिय प्रतिनिधित्वका दृष्टिले विशेष मानिनुहुन्छ । कोचले महिला अन्तरिक्ष यात्रीमध्ये सबैभन्दा लामो एकल अन्तरिक्ष उडान (३२८ दिन) को कीर्तिमान बनाइसक्नु भएको छ र पहिलो सर्वमहिला स्पेसवाकमा पनि सहभागी हुनुभएको थियो । ग्लोभर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बस्ने पहिलो अश्वेत अन्तरिक्ष यात्रीमध्ये एक हुनुहुन्छ भने क्यानाडाका ह्यानसेन पहिलो पटक अन्तरिक्ष यात्रामा निस्कँदै हुनुहुन्छ ।
वाइजम्यानले अनुभवी कमान्डरका रूपमा टोलीको नेतृत्व गरिरहनुभएको छ । मिसनका लागि प्रयोग गरिने स्पेस लन्च सिस्टम (एसएलएस) रकेट अपोलो युगको स्याटर्न-५ भन्दा छोटो भए पनि प्रक्षेपण शक्तिका हिसाबले अझ शक्तिशाली मानिन्छ । यसको शीर्षमा ओरियन क्याप्सुल रहनेछ, जसले अन्तरिक्ष यात्री बोकेको हुनेछ । तर प्रक्षेपणअघि केही प्राविधिक चुनौती पनि देखिएका छन् । हाइड्रोजन चुहावट र हिलियम प्रवाह सम्बन्धी समस्याले परीक्षण प्रभावित पार्दै प्रक्षेपण समयतालिका केही पछि धकेलिएको छ ।
उडानपछि पहिलो २५ घण्टा अन्तरिक्ष यात्रीले पृथ्वीको उच्च कक्षामा परिक्रमा गर्नुहुने छ । त्यसपछि उहाँहरूले भविष्यका चन्द्र अभियानका लागि आवश्यक डकिङ अभ्यास गर्नुहुने छ । सबै प्रक्रिया सफल भएमा ओरियनको मुख्य इन्जिनले यानलाई करिब तीन लाख ९३ हजार किलोमिटर टाढा चन्द्रमातर्फ पठाउने छ । ‘फ्रि-रिटर्न ट्राजेक्टोरी’ प्रयोग गरिने यस उडानमा चन्द्र र पृथ्वीको गुरुत्वाकर्षणको सहायताले इन्धन बचत गरिने छ ।
उडानको छैटौँ दिन यान पृथ्वीबाट सबैभन्दा टाढाको विन्दुमा पुग्ने छ, जुन अपोलो-१३ को रेकर्डभन्दा पनि पर हुने छ । चन्द्रमाबाट करिब आठ हजार किलोमिटर टाढा पुग्दा अन्तरिक्ष यात्रीले चन्द्रमाको टाढाको भाग नजिकबाट अवलोकन गर्नुहुने छ । यो क्षेत्र मानव आँखाले प्रत्यक्ष हेर्न पाएको अत्यन्तै दुर्लभ अवसर हुने छ । टोलीले यस क्रममा व्यापक तस्बिर खिच्ने तयारी गरेको छ, जसका लागि अत्याधुनिक क्यामेरा र स्मार्टफोन पनि साथमा लगिने छन् ।
नासाका खगोलविद् केल्सी यङले चन्द्रमालाई ‘विश्वलाई जोड्ने साझा वस्तु’ भन्दै यस मिसनले मानिसलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो । विशेष गरी चन्द्रमाको टाढाको भागबारे प्रत्यक्ष अवलोकनले वैज्ञानिक अनुसन्धानमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । मिसनको अन्त्य अपोलो कार्यक्रम जस्तै प्रशान्त महासागरमा स्प्ल्यासडाउनमार्फत हुने छ ।
पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा ओरियन क्याप्सुलको तातो ढाल सबैभन्दा महत्त्वपूर्ण पक्ष हुने छ, जसले सन् २०२२ को परीक्षण उडानमा कडा परीक्षा सामना गरेको थियो । यस पटक भने अवतरण प्रक्रियालाई छोट्याएर तापीय जोखिम घटाउने योजना बनाइएको छ । समग्रमा, आर्टेमिस-२ मिसनलाई चन्द्रमामा पुनः मानव उपस्थितिको मार्ग तयार गर्ने प्रारम्भिक तर निर्णायक कदमका रूपमा हेरिएको छ, जसले भविष्यमा चन्द्र अवतरण र दीर्घकालीन अन्तरिक्ष अभियानका लागि ढोका खोल्ने छ । रासस/एपी