• १३ साउन २०८१, आइतबार

चरा गणना

जाडो छल्न आएका आगन्तुक चरा असुरक्षित

blog

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बुड्ढी तालमा सिलसिले हाँसको बथान । तस्बिर – जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, पुस ३० गते । जाडो छल्न कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बुड्ढी तालमा आएका चरा असुरक्षित भएका छन् । नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपका विकास गर्दै आएको बुड्ढी तालका चरा स्थानीयले मार्न लागेपछि असुरक्षित बनेका हुन् । 

अहिले तालमा पानी चरा, जाडो छल्न आएका आगन्तुक चरा, रैथाने चराहरू छन् । स्थानीयले ती चराहरू पासोमा फसाउने, गुलेलीले हानेर मारेको प्रमाण देखिएको पन्छी संरक्षण सङ्घका फिल्ड बायोलोजिस्ट दिलीप चन्दले बताउनुभयो । सो तालमा शुक्रबार चरा गणना गर्ने क्रममा तालको आसपासमा गुलेलीले चरालाई हानेको देखिएको चन्दले बताउनुभयो । 

जसका कारण चराहरू मानिस नजिक देखेपछि उडेर भाग्ने गरेका छन् । तालको आसपासमा माटिकोरे (किङ्ग फिसर), हुचिल (लाटोकोसेरो)को प्वाँख समेत फेला परेको चरा गणनामा खटिनुभएका नेचर गाइड ईश्वरीप्रसाद चौधरीले बताउनुभयो । तालमा जथाभाबी रूपमा माछा मार्न जाल थापिएका छन् ।

हुचिल मार्न बल्छीमा मरेको मुसा राखेर पासो थाप्ने गरिएको छ । पन्छी संरक्षण सङ्घले चरा गणनाको क्रममा तालमा २१ प्रजातिका चरा फेला पारेका छन् । करिब ७ देखि ८ सयको हाराहारीमा चरा देखिएको जनाएको छ । धेरै सङ्ख्यामा आगन्तुक चरा सिलसिले हाँस रहेको बताइएको छ । 



तालका मारिएका चराको प्वाँख ।