टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी) फागुन २४ गते। गुल्मीमा आजबाट प्रतिनिधि सभा समानुपातिक तर्फको मतगणना हुने भएको छ । बिहान १० बजेबाट समानुपातिकतर्फ क्षेत्र नम्बर १ को मत जिल्ला समन्वय समितिको हल र क्षेत्र नम्बर २ को मत रेसुङ्गा बहुमुखी क्याम्पसमा गणना गरिने निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले मतगणनाका लागि उम्मेदवारका प्रतिनिधिलाई बिहान ९ः३० बजे बोलाइएको बताउनुभयो ।
प्रत्यक्षतर्फको मतगणना २४ घण्टाभित्रै सम्पन्न भइसकेको छ। अन्तिम परिणाम अनुसार गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । भने क्षेत्र नम्बर २ बाट पनि सोही पार्टीका गोविन्द पन्थी विजयी हुनुभयो।
क्षेत्र नम्बर १ मा ढकालले नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका डा. चन्द्र भण्डारीलाई पराजित गर्नुभयो । त्यस्तै क्षेत्र नम्बर २ मा पन्थीले नेकपा एमालेका गोकर्ण बिष्ट र नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठलाई पछि पार्दै विजय हासिल गर्नुभयो ।
भर्खरै सम्पन्न निर्वाचनमा गुल्मीमा कुल ५१.३६ प्रतिशत खस्यो। जिल्लामा रहेका दुई लाख २९ हजार ५४९ मतदातामध्ये एक लाख १७ हजार ९०१ जनाले मतदान गरेका थिए। मतदान गर्नेमा महिला ६४ हजार ८९७, पुरुष ५३ हजार दुई र अन्य दुई जना रहेका छन्।