• ८ मंसिर २०८१, शनिबार

गल्छेडो

blog

मेजर सुरथबहादुर बस्नेत सेनाबाट अवकाश हुँदा उनका तीनवटै छोरी विवाह गर्ने उमेरमा टेकिसकेका थिए । टोलछिमेकमा उनको निकै फूर्तिफार्ती थियो । बूढा आफूलाई ठूलो जानिफकार भएको देखाउने गर्थे । धेरै ठाउँबाट छोरीहरूका लागि कुरा आए पनि कतै चित्त बुझ्दो भएको थिएन । उनकी श्रीमती प्रायः यस विषयमा करकर गरिरहन्थिन् । उनी “पख पख हतार गर्नु हुँदैन, यस्तो कुरामा” भनेर टारिरहन्थे । सेवानिवृत्त भएको दोस्रो सालको अन्त्यमा उनका सबै छोरी आफूखुसी बिहे गरेर हिँडे । त्यस अप्रत्यासित बज्रपातले उनको घरआँगन बाहिर निस्किने साहस हराउँदै गयो । 

दुवै बूढा–बूढी उमेरले भन्दा चिन्ताले गल्दै गइरहेका थिए । आफ्नो पीडालाई दमन गर्दै बूढीलाई सम्झाउने असफल प्रयास गर्थे, “हेर माया ! छोरी भए पनि उनीहरू सबै छोरा हुन् भन्ने ठानेको थिएँ । धोका भयो । आफू आफू मन पराएर टिपे र गए । उनीहरूलाई भोलि दुःख पर्दा हाम्लाई भन्ने ठाउँ राखेका छैनन् ।” 

बूढी के मान्थिन् र । बूढातर्फ ट्वाल्ल हेर्दै पोख्थिन्, “छोरी धेरै माइतमा राख्नु हुँदैन है दिई हालौँ, ढिला नगरौँ, सबैको उमेर भइसक्यो भन्दा कानै ढाल्ने होइन । अब चाख न बेइज्जती । वरिपरि मुखै देखाउन नसकिने भयो अब ।” बूढा मात्र “आ... मेरा तीनवटै छोरीहरू हाम्रा निम्ति मरिसके ।” भनेर पन्छिन्थे । बूढी अझ चिच्याउँथिन्, “बेलामा तिनीहरूलाई हुत्याइदिएको भए अहिले हाम्रो यो हविगत हुन्थ्यो ।” लघुताभासको शिकार भएका उनीहरूको त्यस स्थितिमा केही समय त गाउँघरमा उनीहरूको बारेमा कुरा गर्ने ठट्टाको अट्टहास र उपहास भयो । ताना मार्थे, बल्ल बूढो ठेगान लाग्यो । 

दिन, महिना बित्दै १५ वर्ष बितिसकेछन् । १२ वर्षमा खोलो त फर्किन्छ भन्छन् तर मेजरको मन फर्किन सकेको थिएन । कैयौँ पटक करकर कच्कच््् गरेर बूढीले छोरीहरू भित्र्याउने कोसिस नगरेको पनि होइन तर बूढा टसमस भएनन् । धेरै दिन भयो बूढीले त्यस विषयमा कुरा गर्न छोडेको तर दुवैको मनमा छोरीहरूको अन्तरङ्ग स्मृतिहरू झल्याझुलुक समवेगमा बौरिरहन्थे । कालचक्रको पाङ्ग्रामा देश गाउँघर वरिपरि, विगत्कालीन कालखण्डभन्दा बेग्लै प्रकारले फेरिँदै गइरहेको थियो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै आयो । समयानुकूल देशमा सुधारका सङ्केतहरू देखिँदै थिए । धेरै असङ्गत कुरा समयले बगाइसकेको थियो । विगतका घाउहरू पुरिँदै गए । गाउँघरमा मेजर बूढा पहिलेझैँ धक फुकाएर हिँड्ने वातावरण भइसकेको भान हुन थालिसकेको थियो । 

माघे सङ्क्रान्ति मानेपछिको रातमा तीनवटै छोरीलाई सपनामा देखेर ब्यूँझदा मेजर बूढा फेरि सुत्न सकेनन् । श्रीमतीलाई उठाएर भन्ने साहस भएन । रोएरै बाँकी रात काटे । बिहान ओछ्यानमै बूढीलाई झिनो स्वरमा भने, “आधारातदेखि म सुत्न सकेको छैन । छोरीहरूलाई सपनामा भेटेँ । अब कति दिन बाँचिएला र ! छोरीहरू सबैलाई डाकौँ, बोलाइहालौँ ।” उनी एकछिन उदेक मानेर बोल्न सकिनन् । प्रातःकालीन रश्मीलहर झ्यालबाट कोठामा छरिँदै थिए । उनकी अर्धाङ्गिनीले एक विस्मयजनक दृष्टि श्रीमान्तर्फ उघारिन् र गद्गद् हुँदै भनिन्, “बाबा अब ढिला नगरौँ । ल अब म आज नै सबैलाई खबर पठाउँछु ।” उनी उल्लासतिरेक हुँदै भान्छातिर गइन् । बूढाले झ्यालबाहिर चिहाए । चारैतिर शिशिर आगमनको मधुमादकता छाइरहेको उनले अनुभूत गरे । शरीरबाट ठूलै बोझ पन्छे झैँ भयो । उनी एक्लै कता कता हराएर मुस्कुराइरहेका थिए । उनको मुखबाट अनायास निस्क्यो, “आजै बोलाउँछु ।”

बाबाको बोलावट सुरुमा त छोरीहरूलाई पत्याउनै गाह्रो भयो । चिरकाल एवं चिरप्रतिक्षापछिको त्यो अनुपम भेट साँच्चै शब्दातीत थियो । उसै त छोरीका लागि माइतीदेशको जन्मघर कति प्रिय हुन्छ । झन् त्यत्रो वर्षपछिको । नूतन उत्साहमा ती बहिनीहरूलाई आफ्नो थलोमा पुनर्जन्म लिएझैँ भयो । भीरपाखो वनजङ्गल, घर–आँगन सङ्गीसाथीहरूसँग कुदे, खेले, हाँसे, गाए र रुनसम्म रोए पनि । स्वतन्त्रता एवं उन्मुक्तताको साँचो अर्थमा अधिकतम उपयोग बल्ल गर्न पाए । हावापानीको फेरबदलले उनीहरूको स्फूर्तिमय उत्फूल्लतामा बेग्लै खालको गति सञ्चार भइरहेको थियो । एवंरीतले दुई महिना कटिसकेको उनीहरूलाई पत्तै भएन । सबैका घरतिरबाट पनि चाँडै फर्किनका लागि ताकेता आइरहेको थियो । त्यो, मनोगत उत्साह, उल्लास, आवेग, संवेग एवं चित्तचञ्चल परिवेश त्यहाँ अन्त्यहीन शृङ्खला त हुन सक्दैन थियो । सधैँ त्यहाँ बसिरहन कहाँ सक्थे र ! वियोगान्तपछिको संयोगान्तको घोलबाट उत्रेर घर फर्किने दिन नजिकिँदै गर्दा मन भारी हुँदै गयो । 

भोलि सबै आ–आफ्ना घर फर्किने दिन निधो भयो । अघिल्लो दिन सारै लामो र गह्रुङ्गो भएर हिँड्दै थियो । झल्याक–झुलुक्क घाम मेघ आवरणको लुकामारीमा हिँड्दै थियो । बादलका लामा लामा पङ्क्तिहरू दक्षिण उन्मुख हुँदै भाग्दै गइरहेका थिए । उकुसमुकस र छट्पटाहटमा दिन व्यर्थ गयो । दिनभरि कोही कसैसँग बोलेन । यताउता मिलाउँदा मिलाउँदै साँच्चै दिन त डुबिसकेर थकाइ मारिसकेछ । खाना खाइसकेपछि त्यो अन्तिम रात सबै दिदीबहिनीहरू एउटै कोठामा सुत्ने निधो गरे । लस्करै पल्टे तर रात सँगसँगै उनीहरूका निद्रा भाग्दै गइरहेका थिए । पुलुपुलु एक अर्कालाई हेर्थे तर बोल्न मुस्किल परिरहेको थियो । जेठी अलि मोटी, कम बोल्ने र गम्भीर थिई । घना केशकी धनी माइली दुब्ली, पातली, महìवाकाङ्क्षी र उनमा बढी सरलता थियो । त्यस्तै, कान्छी भने सबैभन्दा अग्ली, चञ्चल, वाक्पटु पनि । जूनको अल्पआभामा सबैका आँखाहरू टलपल टलपल भरिँदै पोखिँदै गरेको प्रस्ट देखिन्थे । 

शून्यतालाई पन्छाउँदै जेठीले सुरु गरिन्, “यत्रो दिन माइतमा रमाएर हाँसखेल गर्दै सजिलै बितायौँ तर हामी एकअर्काबीच दुःखसुख के कस्तो छ भन्ने चाल पाएनौँ । नानीहरू सबै राम्रै हौला होइन ?” सङ्कोच बोकेर मौनता टक्क अड्यो । दुवै बहिनी एकअर्कालाई हेरिरहे । एकछिनपछि कान्छीले मधुरो स्वरमा बोलिन्, “दिज्यू पहिला हजुरबाट । हजुरको सबै कुरा बेसै होला हैन ।” दुवै बहिनीतर्फ आँखा घुमाउँदै उनले भन्न थालिन्, “घर मेरो खान्दानी ! धनसम्पत्ति, खेतपाखो मनग्य छ । गाउँमा जिम्मुवालको घर भनेर सबैले चिन्छन् । छोराछोरीहरू राम्ररी हुर्किंदै बढ्दै र राम्ररी पढ्दैछन् । घरमा खासै काम केही गर्नुपर्दैन नोकरचाकरले सबै गरिहाल्छन् ।” उनको बेलिविस्तार सुनेर दुवै बहिनी एकदम रमाए । ओहो ! दिज्यू, हजुर त कति भाग्यमानी ! यस्तो राम्रो घरबार त कमैको हुन्छ । खुसी लाग्यो ।” दिदीले लामो सास फेर्दै भन्न थालिन्, “खै के भनौँ ! सुने दुःख नसुने सुख कस्तो कर्म र भाग्य हो, धनसम्पत्तिले सुख नवर्षंदो रहेछ., सबै कुराहरू भए पनि ।” अगाडि बोल्न उनलाई मुस्किल परिरहेको थियो । बहिनीहरू अकमक्क परे । कान्छीले सोधिन्, “दिज्यु हजुरलाई के त्यस्तो छ र ? कुरा सुन्दा राम्रो लाग्यो ।” माइलीले थपिन् “हामीलाई त्यस्तै खराब केही लागेन, सबै एकदम बेस छ ।” 

दिदीको आँखा भरिइसकेका थिए । डबडबाउँदो आँखा सम्हाल्दै र थरथरो स्वर कमाउँदै बग्न थालिन्, “मेरा बहिनीहरू हो., म जस्तो भाग्य फुटेको अरू कोही छैन । रक्स्याहा, बाह्रमासे जुवाडे लोग्ने, धेरैजसो घरमा बास र गाँस हुँदैन, कहिलेकाहीँ आधीरातमा रक्सी धोकेर आएर भकुर्छ । ठसठस्ती गन्हाउने सासमा जोरजबर्जस्ती गर्छ । अहिले त्यो सम्झँदा उल्टी आउन खोज्छ । पूरा जङ्गली जनावर । सासू ससुरा लेखेटिरहने, डसिरहने, नचाहिँदो कच्कच्, गालीगलौजको वर्षा गरिरहन्छन् । नन्द–अमाजू भए नभएको कुरा लगाइरहने । एउटा एउटा कुनै खोट देखाइरहने । देवर जेठाजु त झन् अर्कै छन् । भोका बाघजस्ता झम्टिने र डर देखाइ देखाई तर्साउने भूतजस्ता । थर्कमान भएर डरत्रासमा म सधैँ बाँच्नुपरिरहेको छ ।” उनले लामो सुस्केरा हालिन् । “कैयौँ पटक मैले आत्महत्या गर्ने प्रयास गरेँ तर सकिनँ । झल्झली छोराछोरीको मुख आँखा वरिपरि नाच्छ. । नसकिने रहेछ..।” बहिनीहरू एक अर्कालाई हेर्दै मौन भए । 

केहीपछि कान्छीले माइली दिदीलाई पुलुक्क हेरेर सोधिन्, “दिज्यू, हजुरलाई के कसो छ ? भगवान्को कृपाले सबै कुरा राम्रो होला, हैन ।” माइली खोक्न थालिन्, मन्द–मन्द स्वरमा भन्न पनि थालिन्, “मेरा घरका सबै जाति छन् । एकअर्कामा मानसम्मान र माया छ । श्रीमान् मेरा, अति मिल्ने साथीजस्ता र मलाई सारै माया गर्छन् । सासू–ससुरा मेरा बा–आमाजस्ता कहिल्यै पनि सताएनन् । म उनीहरूकी बुहारी नभई छोरी हुँ । नन्द आमाजूहरू साख्खै मेरा दिदीबहिनीले जस्तो माया गर्छन् । घरको कामकाज सरसल्लाहमा मलाई उत्तिकै सघाउँछन् । मेरा दाजुभाइजस्ता देवर जेठाजु छन् । म यता आउने दिन घरका सबैले रोएर बिदा गरेका थिए । सबैको मुखमा एउटै कुरा थियो, “घर सारै नरमाइलो भयो, सकभर छिट्टै फर्किनु ।” दिदी र बहिनी खुसी हुँदै ठूलो स्वरमा बोले, “आहा ! कति राम्रो ।” माइलीले पनि बीचमै वह पोख्दै गइन्, “के राम्रो के नराम्रो कसरी भनौँ, कस्तो भाग्य भगवान्ले दिएर पठाएका रहेछन् ।” 

अलिबेर चकमन्न भयो । हिउँदमासको चिसो सिरेटो बतास झ्यालबाट ठोकिएर भाग्दै गयो । रुखका पातहरू बेतोडले हल्लेर बज्दै थिए । माइलीको कुराले दिदीबहिनी अलमलमा परे । ठूलीले विस्तारै सोधिन्, “नानी, के छ र त्यस्तो, तिम्लाई ?” माइली कोल्टे फेर्दै बोलिन्, “बिहानै उठेदेखि राति नसुतेसम्म कामै काम, एकछिन छैन फुर्सद । तैपनि आधापेट खाना, खेतपाखोबाट आएको अन्नले मुस्किलले पाँच महिना धान्छ । श्रीमान् दीर्घरोगी नकमाई न औषधिमूलो न बच्चाहरूको पढाइ । त्यसमाथि ऋणको थुप्रो र घरखेत सबै बन्धकीमा छन् । देखेनौ जीउ सुकेर कस्तो भैसक्यो । जिन्दगी मायाप्रेमले मात्र नपुग्ने ।” ओढेको सिरक लपक्क भिज्यो, सुक्कसुक्क अनि खोक्न थालिन्, ख्वाङख्वाङ । रात आधाभन्दा धेरै हिँडिसकेको थियो । टोलका भुस्याहा कुकुरहरू चर्को भुकिरहेका थिए । पारिको हरियो डाँडा राक्षसझैँ ठिङ्ग उभिएको देखिन्थ्यो । अलिबेर सबै चुपचाप भए । बाहिर बतास अझै जोडबलसँग हुत्तिँदै गइरहेको थियो । जेठीले सुनसान पललाई तोडेर बोलिन्, “सानी हामी दुवैको हालत त सुनिहाल्यौ, तिम्रो के कस्तो छ गृहस्थी, सबै राम्रो होला भन्ने सोचेको छु ।” दुवै दिदीलाई हेर्दै भन्न थालिन्, “घरबार मेरो सारै सम्पन्न र आम्दानी राम्रो छ । सासूससुरा र घरका अरू सबै सारै असल छन् । श्रीमान्ले मलाई सबै कुरामा साथ दिनुहुन्छ । साँच्चै भन्ने हो भने गाउँमा हामी सबैभन्दा हुनेखाने र धनीमा गनिन्छौँ । कान्छीको यो कुरा सुन्दा दिदीहरू अति उत्साहित भएर आफ्नो दुःख बिर्से । अनि हर्षित हुँदै भने “आहा ! कस्तो राम्रो तिम्रो घरपरिवार । हामी दुईभन्दा तिमी साह्रै भाग्यमानी, सुखी रहेछौँ, सानी !” 

कान्छीलाई केही उकुसमुकुस भएझैँ उनी जुरुक्क उठिन् र थचक्क बसिन् । दिदीहरूलाई मुस्किलले हेर्ने प्रयास गर्दै बहन थालिन्, “सबै कुरा राम्रो थियो । म पनि आफूलाई धेरै भाग्यमानी ठान्थेँ तर ।” दिदीहरू एकअर्कामा मुखामुख गरी हेर्दै बहिनीतर्फ प्रश्नवाचक दृष्टि लगाए । कान्छीले निरन्तरता दिँदै गइन् । “बिहे भएको यत्रो वर्ष बितिसक्यो । बालकहरू मेरा काखमा अड्दै अड्दैनन् । हरेक वर्ष मैले कहिले छोरा कहिले छोरी सेलाउनु पर्छ ।” कान्छीको स्वर भक्कानिँदै गयो । लर्खरिँदै बल गरेर भनिन् । “हे मेरा दिदीहरू । अब त मेरो काख पूरै रित्तै भइसक्यो”, कान्छीले डाँको छोडिन् । 

चट्याङको झिलिक्क झिल्कोले दिदीबहिनीका गालामा बग्दै गरेका आँसु टलक्क टल्क्यो साथै मेघ गज्र्यो गड्याङ्ग । कान्छी पुनः बग्दै गइन्, “उहाँलाई मैले कतिपल्ट अर्को बिहे गरी सन्तान जन्माऔँ भन्छु, मान्नु हुन्न । गर्ने उपाय सबै गरिसक्यौँ केही लागेन । काख भर्न सकिएन, रित्तै छु ।” सघन अन्धकारको साम्राज्यमा दिदीबहिनी सुक्सुकाउन थाले । अँगेनाको तीनखुट्टे ओदानझैँ तीन बहिनी एउटै उत्कट आलिङ्गनमा हराउँदै गए । ढोका बाहिर कसैको जोडी पाइलाको हल्का पदचाप हिँड्दै र हराउँदै गयो । रात छर्लङ्ग भयो । “कुखुरी काँ ।” एक हुल कुकुरहरू बाहिर जोडसँग भुक्दै थिए । धेरैबेरसम्म सबै चुपचाप एकअर्कालाई हेरेर टोलाइरहे । बाहिर हतास कोही दौडेको सुनियो ।

ढोका खोल्दै गरेकी आमाको पितरुग्ण मुखमण्डलमा उर्लंदो आँसुका भेल सबैले देखे । उनीहरू एकैपल्ट चिच्याए. “के भो आमा के भो ।” आमा भुइँमा पच्छारिएर बोलिन्, “तिम्रा बाबा जानुभो ।” उनीहरू दौडँदै बाको कोठामा पुगे । उनीहरूका बाबाले चिरनिद्रासहितको चिर विश्राम लिइसकेका थिए ।