• १ असार २०८२, आइतबार

जोखिम मोलेर सडक निर्माणको काम गर्दै

blog

सिमकोट–हिल्सा सडकको च्याछरा खण्डमा शरीरमा डोरी बाँधेर जोखिमपूर्ण तवरले काम गर्दै श्रमिक । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, असार १ गते । सिमकोट–हिल्सा सडकको च्याछरा खण्डमा शरीरमा डोरी बाँधेर जोखिमपूर्ण तरिकाले श्रमिकले काम गरिरहेका छन् । भिरको छेउ र तल कर्णाली नदी बगिरहेको अवस्थामा अन्य विकल्प नभएपछि कामदारमध्ये दुई जनाले शरीरमा डोरीले बाँधेर प्वाल खोप्ने जस्तो जोखिमपूर्ण काम गरिरहेका छन् । 

श्रमिक जरेख सुनारले च्याछरामा जोखिमपूर्ण कार्य गर्नु परिरहेको बताउनुभयो । उहाँको शरीरमा डोरी बाँधेर अर्का दुई जना कामदारले तानेर राख्ने र त्यसपछि प्वाल खोप्नुपर्ने जनाउनुभयो । तीन दिनदेखि प्वाल खोप्ने काम भइरहेको छ । तल कर्णाली नदी बगेको देख्दा डर लाग्ने गरेको भए पनि त्यो काम गर्नैपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सो सडकमा प्वाल खोपेर ३२ एमएमको छड गाड्ने र त्यसैमा प्लम्पवालको लागि ढलान गर्न यो काम गर्नु परेको हो । 

ओएसिस इन्जिनियरिङ बिल्डर प्रालिका स्थानीय प्रतिनिधि हरि बोगटीले काम जोखिमको भए पनि गर्नैपर्ने बाध्यता रहेको बताउनुभयो । यसरी कामदारको शरीरमा डोरी बाँधेर एक सय मिटर सडकको छेउमा प्वाल खोपिने उहाँले बताउनुभयो ।

 यसका लागि ११ जना कामदार खटाइएको छ । प्वाल खोपी छड गाडेर ढलान भएपछि साँघुरो सडक छ मिटर चौडा हुने छ । कडा चट्टानी भिर भएका कारण यो उपाय अपनाएर सडकको ग्रेड मिलाउन काम गर्नु परेको जानकारी उहाँले दिनुभयो । सिमकोट–हिल्सा सडकको सबैभन्दा असजिलो खण्डका रूपमा यस क्षेत्रलाई मानिन्छ । हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख बेलबहादुर नेपालीले साहसी कामदार भएका कारण यस्तो जोखिमपूर्ण काम भइरहेको बताउनुभयो । 

जो कोही कामदारले गर्न नसक्ने यो काम जोखिम मोलेर गर्ने कामदारलाई उहाँले धन्यवाद दिनुभयो । यही असार मसान्तसम्म च्याछराको सडकको ग्रेड मिलाउने र ढलान गर्ने कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।