विजयकुमार साह
ढल्केबर, जेठ ३१ गते। मधेश प्रदेश सरकारले प्रदेशको ‘ब्रान्ड रुख’ घोषणा गर्ने तयारी गरेको छ। यसका लागि गठित कार्यदलले पीपल, वर र नीम रुखको सिफारिस गर्दै प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ।
मन्त्रालयले करिब एक महिनाअघि प्रदेशको ब्रान्ड रुख छनोट गर्न वन अधिकृत सुरेश शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले आवश्यक अध्ययन, अनुसन्धान, सरोकारवालासँगको छलफल र सुझाव सङ्कलन गरी प्रतिवेदन तयार पारेको हो।
संयोजक शर्माका अनुसार प्रदेशमा पाइने पीपल, वर, नीम, साल, इमली, सतिसाल, हर्रो, बर्रो, अमला, छतिवन, सिमलसहितका रुखको प्रजाति, धार्मिक–सांस्कृतिक महत्त्व, वातावरणीय प्रभाव, भौगोलिक अवस्था, आर्थिक पक्ष र संरक्षण अवस्थाका आधारमा अध्ययन गरिएको थियो।
उहाँले भन्नुभयो, “छलफलमा सहभागीको प्राथमिकतामा पीपल पहिलो, वर दोस्रो र नीम तेस्रो स्थानमा पर्यो। त्यसअनुसार प्रतिवेदन तयार गरी मन्त्रालयमा बुझाएका छौं।” उहाँका अनुसार कार्यदलले सिफारिस गरेका तीमध्ये कुनै एक रुखलाई प्रदेश मन्त्रिपरिषद्को निर्णयबाट ‘प्रदेश ब्रान्ड रुख’को रूपमा घोषणा गरिने छ।
शर्माका अनुसार यस्ता रुखलाई ब्रान्ड घोषणाले जनस्तरसम्म आत्मीयता बढ्छ। संरक्षणमा सरकारी लगानी बढ्छ र वातावरणीय चेतना विस्तार हुन्छ। सङ्घीय संरचनामा गएको नेपालमा प्रदेश सरकारले पहिलो पटक यस्तो प्रकृतिको निर्णय लिन लागेको हो। हालसम्म नेपाल सरकारले कुनै रुखलाई औपचारिक ‘राष्ट्रिय रुख’ घोषणा गरेको छैन।
छिमेकी देश भारतले ‘वर’लाई राष्ट्रिय रुख घोषणा गरेको छ भने अमेरिका, चीन, बङगलादेश, पाकिस्तान, बेलायतलगायत देशले पनि आ-आफ्नो राष्ट्रिय रुख तोकेको शर्मालो बताउनुभयो।