• १६ साउन २०८२, शुक्रबार

राणाकालीन समाज सुधारमा गोरखापत्र

blog

नेपालमा एक शताब्दीसम्म चलेको जहानियाँ राणा शासनको नेपालको इतिहासमा बेग्लै महत्व छ किनभने १०४ वर्षको कालखण्ड भनेको कुनै छोटो समयावधि होइन । यस कालखण्डमा विश्वमा धेरै किसिमका सकारात्मक र नकारात्मक घटना भए । सकारात्मक घटनाका रूपमा कैयौँ वैज्ञानिक आविष्कार र प्राविधिक उपलब्धि, साहित्य, सङ्गीत, कला आदिका क्षेत्रमा भएका कालजयी सिर्जना, साम्राज्यवादको पतन आदिलाई लिन सकिन्छ । 

यसै गरी नकारात्मक घटनाका रूपमा दुई वटा विश्वयुद्ध, रङ, जात, लिङ्ग आदिका आधारमा मानिसले मानिसलाई गर्ने अमानवीय विभेद, राज्यहरूको विखण्डन आदिलाई लिइन्छ । त्यस कालखण्डमा नेपाल भने बेग्लै परिस्थितिमा थियो । विश्वमा भइरहेका कतिपय सुखद, दुःखद घटनाक्रमबाट नेपाल प्रभावित भएको र कतिपयमा नभएको पाइन्छ । जस्तै पहिलो र दोस्रो विश्वयुद्धबाट नेपाली समाज नराम्ररी प्रभावित भएको थियो भने मानव अधिकार, शिक्षा, स्वास्थ्य, औद्योगिक विकास आदिका क्षेत्रमा विश्वमा भएका उपलब्धिबाट नेपाली समाज धेरै टाढा थियो, जसका कारण आजसम्म पनि समग्र समृद्धिमा पछि पर्न गएको छ । 

यस्तो धुमिल परिवेशमा राणा शासन प्रारम्भ भएको करिब ५५ वर्षपछि अर्थात् विसं १९५८ मा नेपालको पहिलो अखबारका रूपमा ‘गोर्खापत्र’ साप्ताहिकको जन्म हुनु आफैँमा एउटा सकारात्मक ऐतिहासिक उपलब्धि हुन पुग्यो । अझ यसमा ध्यान दिनुपर्ने पक्ष के छ भने ‘गोर्खापत्र’ जन्मनु तत्कालीन नेपाली समाजका लागि एउटा महत्वपूर्ण र आश्चर्यजनक विषय त थियो नै यसले निरन्तरता पाएर १२४ वर्षसम्मको यात्रा जारी नै रहनु अर्को महत्वपूर्ण पक्ष हो । यस हिसाबले आगतलाई हेर्दा गोरखापत्रले दुई सयौँ वार्षिकोत्सव मनाउँदा पनि त्यतिखेरका पाठक र नेपाली जनमानसले कुनै आश्चर्य मान्ने छैनन्, बरु गर्वले छाती चौडा बनाउनेछन् । 

समाज सुधारको सन्दर्भ 

मानव समाज सधैँ सुधारोन्मुख रहिआएको छ । यो नै मानवीय विशेषता हो । यही विशेषताका कारण मानव सभ्यता ढुङ्गे युगदेखि आजको अन्तरिक्ष विज्ञानको युगसम्म आइपुगेको छ । राणा शासनकालमा पनि नेपाली समाजमा सुधारको क्रम रोकिएको थिएन, गति भने धेरै सुस्त थियो । समाज सुधारको गति तीव्र हुनु वा सुस्त हुनुमा राज्यव्यवस्था बढी जिम्मेवार हुन्छ । त्यस हिसाबले जहानियाँ राणा शासनमा समाज सुधारको गति सुस्त र सीमित हुनुलाई अस्वाभाविक मान्न सकिँदैन । 

जहाँसम्म ‘गोर्खापत्र’ को जन्म र नेपाली समाज सुधारको सन्दर्भ छ, वास्तवमा ‘गोर्खापत्र’ साप्ताहिक अखबारको जन्म नै नेपाली समाजमा परिवर्तनको संवाहक बन्ने उद्देश्यले भएको थियो भन्ने तथ्य ‘गोर्खापत्र’ को पहिलो अङ्कमा प्रकाशित सामग्रीबाटै पुष्टि हुन्छ । अझ त्योभन्दा पनि ‘गोर्खापत्र’ प्रकाशित गर्ने सन्दर्भमा प्रधानमन्त्री देवशमशेरद्वारा जारी सनदमा उल्लिखित बुँदाहरूको विश्लेषण गर्दा नै स्पष्ट हुन्छ । 

प्रधानमन्त्री देवशमशेरले ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशित गर्न पत्रकार नरदेव पाण्डेलाई लिखित सनदमार्फत अख्तियारी दिनुभएको थियो । त्यसमा ‘गोर्खापत्र’ मा छाप्न हुने र छाप्न नहुने भनी निश्चित विषय तोकिएका थिए । 

छाप्न हुने भनिएका विषय, “दुनियाँलाई हुन्या इस्तिहार नटासिने कुरा, नयाँ जारी भयाको ऐनको कुरा, कलकत्ता र यहाँको दरभाउ । जङ्गी, निजामतीले गरेका राम्रा काम, हामीबाट र मुख्तियारले दुनियाँलाई इसपिच (भाषण) दिएको । अनौठा अनौठा कुरा अर्थात् आकाशमा उडेर जाने, समुद्रभित्र जहाज लगेको द्वेषको दायामा आयाको र यहाँ भयाको कुरा । अदालत विषयमा अन्याय भयाको प्रमाण पुग्याको दोभित भयाको, अडडखानाका हाकिम अड्डामा नबसी फोहोर गरेको पक्का गरी छापनु । कसैले मैले यो काम लियाको छु नोकरी पाउँ भन्या र यस ठाउँमा मैले धाउ पाया भनी जाहेर गर्न आएको दामली छापी दिनु । कसुर भई हाकिमहरू अदली बदली भयाको कुरा पनि छापिदिनु । पाहाड मधेशमा जुलुम भयाको कुरा छपाउन आयो भने भन्न आउने मानिसको सैछाप गराई बेदाममा छापी दिनु । खेतीपाती विषय धर्म विषय उन्नतिको असल असल कामको कितापको उलथा गरी छापनु । श्री ५ सरकारको ठूलो ठूलो उत्सवको कुरा छापनु हुन्छ । सोर्गेवासी श्री ३ महाराजको तारीफ छापनु हुन्छ । बाबुले कमायाको धन जुवा रन्डीबाज बदनीयत गरी खर्च गर्नेको दिड पनि छापिदिनु । सिकारका विषयमा हाम्रा गोर्खालीले फलानाले खुकुरीले चितुवा भालुलाई हाने, मारे इत्यादि बहादुरी गरेको छापनु हुन्छ । ग्याजेट प्रोग्राम पनि छापनु । बैंकटेश्वर बंगबासी छापाको असल असल कुरा उलथा गरी छापी दिनु । दुनियाँको बदचलन फतुरा खर्चबाट दिल हटाउने राय छापनु हुन्छ । डाक्टरहरूले यसलाई आरामयति खिल्लत पाया भन्या ।”

माथि उल्लिखित विषय हेर्दा त्यतिखेरको नेपाली समाजको प्रतिविम्ब स्पष्ट देखिन्छ । त्यतिखेरको समाजमा पनि विभिन्न नकारात्मक कुराहरू विद्यमान रहेको र तिनलाई निरुत्साहित गर्न जरुरी रहेको स्पष्ट सङ्केत पाइन्छ । त्यसका लागि ‘गोर्खापत्र’ एक प्रभावकारी माध्यम बनोस् भन्ने अपेक्षा राखिएको देखिन्छ । जस्तै : अदालतबाट राम्रो न्याय निसाफ नपाई जनता मर्कामा परेका, कार्यालयका हाकिमहरू  कार्यालयमा नबसी आफ्ना कामप्रति लापर्बाही गरेका कारण सेवाग्राहीहरूले अपेक्षित सेवा नपाएका कुराबारे राम्ररी बुझेर ‘गोर्खापत्र’ मा छाप्नु भन्ने जो स्पष्ट निर्देशन सनदमा उल्लेख भएको छ, यसबाट ‘गोर्खापत्र’ को माध्यमबाट त्यस्ता नकारात्मक कुराहरूलाई जगजाहेर गराई समाजमा सुधार ल्याउने उद्देश्य रहेको सहजै बुझ्न सकिन्छ । 

यसै गरी कुनै सिप भएको व्यक्तिले आफूले जानेको सिपबारे सार्वजनिक रूपमा जानकारी गराउन वा प्राकृतिक खनिजको खानी फेला परेमा त्यसको जानकारी दिन पनि ‘गोर्खापत्र’ लाई सबैभन्दा विश्वसनीय माध्यमका रूपमा प्रयोग गर्न प्रोत्साहित गरिएको छ । यसबाट विभिन्न काम जानेको जनशक्ति काम नपाएर समाजमा बेरोजगार भई बस्न नपरोस् भन्ने सामाजिक हितको सोच रहेको सहजै बुझ्न सकिन्छ ।

यस्तै नेपालको पहाडी क्षेत्र र तराई मधेश क्षेत्रमा पनि कुनै अन्याय, अत्याचार भएमा त्यसबारे पनि ‘गोर्खापत्र’ मा समाचार प्रकाशित गराई त्यस्ता अन्याय, अत्याचार (जुलुम) लाई निरुत्साहित पार्ने सदासयता पनि सनदमा स्पष्ट व्यक्त भएको पाइन्छ ।

परापूर्वकालदेखि नै कृषिमा आधारित रहेको नेपाली समाजमा किसानलाई उपयोगी हुने विषयबारे विदेशबाट प्रकाशित पुस्तकहरूमा रहेका सामग्रीलाई नेपालीमा अनुवाद गरेर ‘गोर्खापत्र’ मा छाप्नु भन्ने मार्गदर्शनलाई कृषिमा अरू देशले गरेका प्रगतिबाट नेपाली किसान र सिङ्गो समाजलाई नै लाभान्वित तुल्याउने सत्प्रयास मान्नमा कुनै विवाद छैन । 


कुनै पनि समाजको समृद्धिमा त्यसमा रहने मानिसहरूको आचरण, चरित्र र सोचको सबैभन्दा ठुलो भूमिका रहन्छ । यो सत्यलाई सिर्जनात्मक सोच भएका प्रधानमन्त्री देवशमशेरले राम्ररी बुझ्नुभएको थियो । त्यसैले उहाँले मानिसहरूको चरित्र सुधार गर्ने जटिल काममा अखबारको अहम् भूमिका हुने देखेर नै घरको सम्पत्ति जुवातास, वेश्यागमन, फजुल खर्च आदि वदचलनमा लागेर सत्यानाश गर्न हुँदैन भन्ने नैतिक शिक्षा दिन र त्यस्तो गलत आचरण गर्नेले कस्तो परिणाम भोग्नु पर्छ भन्ने ज्ञान दिई नेपाली समाजलाई सभ्य र सुसंस्कृत बनाउन त्यस्ता विषयबारे ‘गोर्खापत्र’ मा समाचार र टिप्पणीहरू छाप्नु भन्ने निर्देशन दिनुभएको थियो । यहाँनिर विचारणीय कुरा के पनि छ भने आजभन्दा सवाशताब्दी पहिलेको नेपाली समाजमा पनि वेश्यावृत्ति, जुवा आदि गलत प्रवृत्ति अस्तित्वमा रहेछ र त्यसले घरपरिवार, समाज र राष्ट्रलाई नै चिन्तित तुल्याएको रहेछ भन्ने बुझ्न सकिन्छ । राणाकालीन समाजको चरित्र जान्न चाहने जोकोहीका लागि पनि गोरखापत्रको सनद र त्यसले निर्दिष्ट गरेको बाटोलाई अनुसरण गर्दै गोरखापत्रले प्रकाशित गरेका समाचार, टिप्पणी र अन्य सामग्री महत्वपूर्ण र विश्वसनीय सन्दर्भ सामग्रीका रूपमा रहेका छन् । 

सर्वसाधारणलाई पत्रकारिताको माध्यमबाट ज्ञान र सत्कर्मप्रति उत्प्रेरित गर्न कोलकाताबाट प्रकाशित हुने अखबारका सकारात्मक सामग्रीलाई नेपालीमा अनुवाद गरी गोरखापत्रमा प्रकाशित गर्नु भनी सनदमा दिइएको स्पष्ट निर्देशनलाई नेपाली समाजको विकासका लागि एक महत्वपूर्ण प्रयास मान्न सकिन्छ । 

यसै गरी आधुनिक चिकित्सा सेवाको अभावमा झारफुक जस्ता अन्धविश्वासयुक्त उपायबाट रोगको उपचार गर्न अभिशप्त नेपाली समाजलाई सीमित मात्रामा भए पनि उपलब्ध आधुनिक चिकित्साका डाक्टरसँग आफ्नो उपचार गराउन प्रेरित गर्नका लागि डाक्टरले उपचार गरी बिरामीलाई निको पारेका कुरालाई गोरखापत्रमा प्राथमिकतासाथ स्थान दिन पनि सनदले निर्देशित गरेको पाइन्छ । स्वास्थ्योपचार जस्तो अत्यन्त संवेदनशील विषयमा पत्रिकाको माध्यमबाट समाजलाई जागरुक बनाउनु समाज सुधारको दिशामा एक महत्वपूर्ण र दूरगामी प्रभाव पार्ने कदम थियो । जस अनुसार राणाकालमा पनि ‘गोर्खापत्र’ का विभिन्न अङ्कमा स्वास्थ्योपचार र डाक्टरका सफलताका चर्चाले स्थान पाएको देखिन्छ । 

उक्त ऐतिहासिक सनदमा ‘गोर्खापत्र’ मा छाप्न नहुने भनी केही विषयलाई किटानीसाथ निषेध गरिएको थियो, जस्तै : “श्री ५, श्री ३ सरकारका दरबारभित्रका स्वास्नीमानिसका विषय, फौज विषय र हातहतियार राजकाज विषय, सरकारका आम्दानी खर्च विषय, भोटको र हाम्रो सिमानाका विकट बाटोको बयान, सुन खानीका धाउ पायाको कुरा, हाम्रा तारिफका कुरा नछाप्नु...।”

यसरी छाप्न नहुने भनी तोकिएका कतिपय विषयलाई आजको दृष्टिकोणमा स्वाभाविक मान्न सकिँदैन भने कतिपय आज पनि स्वाभाविक छन् । जस्तै : सरकारको आम्दानी खर्चको विषय अर्थात् बजेटलाई आज गोप्य विषय मान्न सकिँदैन । सरकारको आयव्ययबारे पर्याप्त जानकारी पाउनु आजका नागरिकको अधिकार हो भने जानकारी दिनु राज्यको कर्तव्य हो । महिलाहरूको गोपनीयताको हकलाई सनदले सम्मान गरेको देखिन्छ, यद्यपि दरबारका महिलामा मात्र त्यो हक सीमित राखिएको देखिन्छ । राज्यका सेना र हातहतियारको विषय आज पनि संसारभर नै गोप्य विषय मानिन्छ, जसलाई त्यतिखेर पनि स्विकारिएको थियो तर राजकाज अर्थात् राजनीतिको विषय आज आमजनताको पनि सर्वाधिक चासोको विषय हो, जसलाई प्रकाशमा ल्याउनबाट वञ्चित गर्नु हुँदैन । तिब्बत (भोट) सँग सिमाना जोडिएको हुनाले दुवै देशको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता दिई सीमा क्षेत्रका विकट बाटोका जानकारी पत्रिकामार्फत सार्वजनिक गर्न निषेध गर्नु स्वाभाविक नीति थियो । अरू खनिजका धाउ फेला परेका खबर छाप्नु भनी सनदमा उल्लेख गरिएको भए पनि सुन खानीको धाउ पाएको कुरा भने अखबारमा नछाप्नु भन्नुको कारण सुन बहुमूल्य विशेष धातु भएकाले राष्ट्रको सम्पत्तिमाथि बाहिरी पक्षको आँखा नलागोस् भनेर सुरक्षाको दृष्टिले उक्त नीति निर्देशित गरिएको हो । 

‘गोर्खापत्र’ मा नछाप्नु भनेर किटान गरेर सनदमा उल्लेख गरिएका बुँदामा ‘हाम्रा तारिफका कुरा नछाप्नु’ भन्ने बुँदा वर्तमान समयमा विशेष रोचक र चर्चित मानिन्छ किनभने आज प्रायः मुलुकका सत्तामा रहेकाहरू मिडियाले आफ्नो गुनगान, तारिफ गरून् तर आलोचना नगरून् भने सोचबाट ग्रस्त पाइन्छन् तर आजभन्दा सवाशताब्दी पहिलाका शासकले आफ्नो तारिफका कुरा नछाप्नु भनेर लिखित निर्देशन दिनुलाई एक सुखद आश्चर्य मान्नुपर्छ । ‘छाप्न नहुने’ भनी दिइएको निर्देशनमा मूलतः देशको बृहत्तर हितलाई नै सर्वोपरि राखिएको स्पष्ट देखिन्छ । 

विसं १९५८ वैशाख २४ गते प्रकाशित ‘गोर्खापत्र’ साप्ताहिकको पहिलो अङ्कमा समेटिएका सामग्रीलाई विश्लेषण गर्दा समाज सुधारका प्रयासलाई उच्च प्राथमिकतामा राखिएको पाइन्छ ।

आठ पृष्ठमा प्रकाशित ‘गोर्खापत्र’ को पहिलो पृष्ठको शीर्ष भागमा संस्कृत र नेपाली भाषामा त्यसको अनुदित कवितामा व्यक्त भावना नेपाली समाजको सुधारप्रति लक्षित रहेका छन्, जुन हरेक अङ्कमा छापिन्थ्यो, ‘सर्वे भवन्तु सुखिन सर्वे.....’ को नेपाली अनुवाद– 

‘निरोगी सबै हुन्, सबै हुन् सुखिया, सबै बेस देखून, नहुन् क्वै दुखिया

सबैको यसै पत्रले हाथ सुहाओस्, सधैँ हर्षले दिल सबैको भरावस्’

पहिलो अङ्कमा आठ पङ्क्तिको एउटा कविता छापिएको थियो । उक्त कवितामा गोरखापत्र प्रकाशन गर्नुको उद्देश्य र औचित्यबारे रोचक ढङ्गले व्याख्या गरिएको छ –

“देश देशका चाल चलनमा असल तरहका चालका बात चलाई

हाकिम काम्दारलाई मुलुक मुलुकको हाल जाहिर्गराई 

जँगी काम्का तरिकाहरू पनि सहजै बात बातमा घुसाई

काम्काम्मा होसियारी पनि सहज सितै मिल्न शकन्या गराई ।।


फेरि आफ्ना मुलुकका तरह तरहका बन्दबेपारलाई

युक्ति बुद्धि शिकाई, सकल मुलुकको उन्नति गर्नलाई

सबभन्दा सभ्यताका असल तरहका श्रेणीमा चढ्नलाई

ठुलो उत्साह गर्छौ, समय समयमा यस पत्रलाई चलाई ।।”


अन्त्यानुप्रास मिलेको छन्दोबद्ध यस कविताका रचनाकारको नाम दिइएको छैन तर ‘गोर्खापत्र’ प्रकाशनको जिम्मेवारी पाएर उत्साहित भएका, त्यसअघि नै ‘सुधासागर’ साहित्यिक पत्रिका प्रकाशित गरी साहित्यिक अभिव्यक्तिको अनुभव प्राप्त गरिसकेका र विगतमा कवि मोतीराम भट्टको निकट सम्पर्कमा रहेर काव्यरसको स्वाद पाइसकेका नरदेव पाण्डेले नै यो कविता रचेको हुनुपर्छ भनेर सहजै अनुमान गर्न सकिन्छ । पत्रकारिता इतिहासका ज्ञाता रामराज पौड्यालले पनि आफ्नो पुस्तक ‘पत्रकारिता’ मा यही अनुमान गर्नुभएको छ । यो कविताले पनि ‘गोर्खापत्र’ को उद्देश्य नेपाली समाजको उत्थानतर्फ नै लक्षित रहेको स्पष्ट गरेको छ । 

पहिलो अङ्कको पहिलो पृष्ठमै प्रकाशित सम्पादकीय ‘एडिटर्को राय’ मा देशमा उद्योग र उद्यमशीलताको खाँचोमा विशेष जोड दिँदै लेखिएको छ – 

“... मनुष्यको ठूलो सानु हुनु नियम हैन, जो उद्योगी हुन्छ उही अवश्य ठूलो हुन्छ अघिदेखि आजसम्म अरू पनि जति ठूला भयाका छन् उद्योगैले भयाका छन् ...।” 

यसरी उद्यमशीलताको माध्यमबाट मात्र देश सम्पन्न हुन सक्छ भन्ने आशय पहिलो सम्पादकीयमै स्पष्ट गरिएको पाइन्छ ।

गोरखापत्रको औचित्य

पहिलो अङ्कको भित्री पृष्ठमा ‘गोर्खापत्र’ को प्रकाशनबाट ककसलाई के के फाइदा हुन्छ भनेर पनि १४ बुँदामा स्पष्ट पारिएको छ । आजको दृष्टिबाट हेर्दा यी बुँदा ‘गोर्खापत्र’ प्रकाशनको आन्तरिक विज्ञापन (होम एड) जस्तो लागे पनि यी बुँदाबाट ‘गोर्खापत्र’ बारे धेरै कुरा बुझ्न सकिन्छ, 

१) ‘यो पत्रबाट दुनियाँको दुखदर्द श्री ३ महाराजको हजुरमा पुगी यथार्थ जाहेर हुने हुनाले र श्री ३ महाराजबाट दुनियाँको उपरमा निगाह राखी बक्सने राय तपाईं हामीहरू सारा दुनियाँलाई यथार्थ थाहा हुने हुनाले राजा रैयत सबैलाई ठुलो फाइदा छ ।’ 

२) ‘अखबार बराबर हेर्नाले दुनियाँभरको खबर जानी ठूला ठूला मुलुकमा यस यस किसिमले देशको उन्नति गरेको रहेछ, यस्तो सभ्यता रहेछ भनी जान्नाले बुद्धिमान भयाका दुनियाँले आफ्नो चालचलन व्यवहार, धर्म, कर्म, खेतीपाती, इलम इत्यादी सम्पूर्ण विषयमा उन्नति गरेको देखि दुनियाँमा राजाको प्रेम बढ्दै जाने हुनाले र राजाले आफूमाथि प्रेम गरेको देखि दुनियाँले पनि राजामा भक्ति रोज व रोज हर्कीसिमले बढाउँदै लैजाने हुनाले राजा रैयत दुवैको बहुतै फाइदा छ ।’ 

३) ‘मुलुकमा भयाको लडाईंको बयान ठूला ठूला फौजमा गरेको तालिम तरकिव ठूला ठूला फौजको कमान गरी धेरै लडाईं गरी बुजरुक भयाका पुरुषहरूले गरेका बयान हुनाले मिलेटरीलाई फाइदा छ ।’

४) ‘सदर मौफसलमा रहेका हाकिम कारिन्दाले गरेको असल वा कमसल कामको बयान यस पत्रमा छापिने हुनाले निजहरूले यसबाट ठूलो फाइदा पाउने छन् ।’

५) ‘मोफसलमा रहेका हाकिम, चौधरी, जिम्दार, महन्त, ठेकेदारहरूले सदरको ................... निमित्त धेरै रुपैयाँ खर्च गरी थोरै हालखबर पाउँदथे, अब उप्रान्त ४ रुपैयाँ मात्र खर्च गर्नाले मोफसल देश देशावरको सारा खबर पाउँछन् ।’

६) ‘व्यापार वा नोकरी निमित्त देश परदेशमा गएका हाम्रा गोर्खाली महाशयहरूलाई आफ्नु हालखबर घरसम्म र घरको हालखबर आफूसम्म आइपुग्न मुस्किल हुनाले मनमा ठूलो ताप हुन्थ्यो, अब उप्रान्त गोर्खा राज्यभरका गाउँ गाउँका हालखबर छापिने हुनाले दुवैतर्फलाई फाइदा छ ।’ 

७ं) ‘देश देशावरको र गोर्खा राज्यभरका ठाउँ ठाउँको सुन, चाँदी, लत्ता कपडा, अनाज, कसन, तमन इत्यादि सारा चीजबिजको दरभाउ यसमा बराबर छापिने हुँदा महाजनहरूलाई पनि ठूलो फाइदा छ ।’

८) ‘केही बुद्धिमान पुरुषले आफ्नो बुद्धिको खर्च गरी सबैलाई अक्कल बुद्धि बढ्ने कुरो वा बहुतै फाइदा हुने अनेक हुनरका कुरो लेखे तापनि कसैलाई थाहा नभई त्यसै हराई जान्थ्यो, अब उप्रान्त त्यस्तो कुरो पनि बराबर छापिने हुनाले यस विषयबाट सबैलाई फाइदा छ ।’

९) ‘सबैलाई चाहिने हुनाले यो एक बहुतै फाइदा हुने कुरो छ कि, यसमा दुनियाँको उपर निगाहा राखि थिति बाँधी बक्स्याको कुरा नयाँ अइन कानुन बन्याको, ठूला ठूला मुकदमामा ठीक ठीक अइन मिलाइ छिन्याको इत्यादि सबै निस्साफको विषय छापिन्छ ।’

१०) ‘यो पनि एक फाइदा छ कि लेखपढ गर्न सकने दुनियाँले यो अखबार हेरि उन्नति गरेको र यसबाट अनेक कुराका मजा लिएको देख्तामा अनपढ दुनियाँले लेखपढ गर्न अवश्य सिक्नु पर्ने रहेछ भन्ने ठानी आफूले नसके तापनि छोराछोरीलाई जरुर पढाउनन् ।’

११) ‘स्त्री जातिहरूलाई पनि यसबाट बहुतै फाइदा हुनेछ कि पासा, गंजिफा, तास, पचिस इत्यादि खेलबाड गरी अथवा आफू आफूमा रिसराग गरिदिन काट्नुपथ्र्यो, अब उप्रान्त बराबर यस पत्रको अभ्यास गर्नाले निज ......... सभ्यता बढी घर गृहस्थाश्रम असल तरिकासित हुने छ ।’

१२) ‘विद्वान्हरूले धेरै विद्यार्थी तयार गरी विद्याको उन्नति गर्दै लैजाँदामा, सरकारबाट विद्याको उन्नति गर्ने पण्डितलाई यस्तो तरक्की भयो भन्ने कुरो यसबाट थाहा पाइने हुनाले र आफूले पढाएका विद्यार्थीहरूलाई यो पत्रको अभ्यास गराई विद्याको उन्नति गराउन पाउने हुनाले पण्डितहरूलाई पनि बहुतै फाइदा छ ।’ 

१३) ‘खेती किसान गर्नेलाई पनि खेतीपातीका तरिका बराबर जाहिर हुने हुनाले फाइदा छ ।’

१४) ‘आफ्ना ब्राह्मण वृत्तिमा रहनुभएका ब्राह्मणहरूलाई यसमा विवाह, जन्म, दान–प्रदान, उत्सव इत्यादि अनेक विषय पनि छापिने हुनाले बहुतै फाइदा छ ।’

सामाजिक सरोकारका सामग्री

माथि उल्लिखित बुँदाहरू कुनै न कुनै रूपमा समाज सुधार र अग्रगमनतर्फ नै लक्षित छन् । गोरखापत्रका पुराना अङ्कहरू पल्टाउँदा यी अपेक्षासँग सम्बन्धित धेरै समाचार, विचार र टिप्पणीहरूलाई गोरखापत्रले यथोचित स्थान दिएको पाइन्छ । 

जस्तै : विसं १९७३ पुस १८ गते सोमबार प्रकाशित ‘पुस्तक सङ्ग्रह’ शीर्षकको एक समाचार “मोतीहारीका सङ्ग्रामपुर भन्ने ठाउँमा समय सामान्य र रोगरहित छ । श्री स्वामी योगानन्दजी ठूलो परिश्रम गरेर पुस्तकालयका निमित्त पुस्तकहरू सङ्ग्रह गर्न लागेका छन् ।” 

विसं १९७० असार १७ गते सोमबार प्रकाशित समाचार – “यही आषाढ १३ गतेका दिन देउपाटनमा त्रिशूलयात्रा भो, अस्ति शनिबारका दिन पाटन जाउलाखेलमा मत्सेन्द्रनाथको यात्रा पनि भयो, भोटो देखाउने काम पनि साबिकबमोजिम राम्रैतवरसँग भयो, लस्कर पनि खुबैथियो ।” 

विसं १९७४ असार १९ गते सोमबार ‘आठ वर्ष कालापानी’ शीर्षकमा प्रकाशित विदेशको समाचार “रुसी सर्कारले सूचना निकालेका छन् कि, खुला मैदानमा शराव पिउनेलाई १८ मैन्हा सजाय दिइने छ । यदि शराव पिउनेले लुटपीट ग¥यो भने तेस्लाई आठ वर्षको कालापानीको सजाय मिल्ने छ ।” 

गोरखापत्रमा छाप्नका लागि अरू लेखकहरूबाट अहिलेको जस्तो लेखरचनाको ओइरो लाग्ने अवस्था त्यतिखेर सम्भव थिएन किनभने त्यसरी लेख्न सक्ने बौद्धिक जनशक्ति नेपालमा शून्यप्रायः थियो । भएका केही अत्यन्तै सीमित शिक्षित व्यक्तिहरू (विशेष गरी दरबार हाइस्कुलमा पढाउने शिक्षकहरू) पनि ‘गोर्खापत्र’ मा लेखरचना पठाउन हिचकिचाउने अवस्था थियो । सत्तामा रहेको तीन महिनापछि नै षड्यन्त्रपूर्वक सत्ताच्युत भई लखेटिएका देवशमशेरपछि चन्द्रशमशेरको तीन दशक लामो शासनकाल अत्यन्तै नियन्त्रित थियो । केही लेखेर ‘गोर्खापत्र’ मा छपाउँदा श्री ३ चन्द्रशमशेर रिसाएर बित्यास पर्ने हो कि भन्ने डर व्याप्त भएकाले त्यतिखेरका बौद्धिक व्यक्तित्वहरूले ‘गोर्खापत्र’ का लागि लेखरचना लेख्न आँट नगरेको देखिन्छ । 

‘एडिटर्को राय’ अर्थात् सम्पादकीयमा सरकारलाई समाजमा व्याप्त विकृति, विसङ्गतिप्रति ध्यानाकर्षण गराई केही सल्लाह, सुझाव दिने गरेकोमा त्योसमेत चन्द्रशमशेरलाई सह्य नभई ‘एडिटर्को राय’ नै नछाप्नु भन्ने कडा आदेश दिनुभएको थियो । त्यसैले चन्द्रशमशेरको शासनकालमा गोरखापत्रका कैयौँ अङ्क बिनासम्पादकीय छापिएको पाइन्छ भने छापिएका पनि हल्काफुल्का विषय र चन्द्रशमशेरको गुनगानमा सीमित भएका पाइन्छ । प्रधानमन्त्री देवशमशेरले सनदमार्फत ‘हाम्रो तारिफका कुरा नछाप्नु’ भनी स्थापित गरेका मान्यता चन्द्रशमशेरको शासनकालमा अघोषित रूपमै ‘हाम्रो तारिफका कुरा मात्र छाप्नु’ मा परिणत भएको थियो । 


यस्तो परिस्थितिका कारण ‘गोर्खापत्र’ को पृष्ठ भर्नका लागि आफैँ लेख्ने साथै भारतबाट आउने पत्रपत्रिका, पुस्तक अनुवाद, विभिन्न अड्डाबाट आउने समाचार विवरण सम्पादन गर्ने आदि पत्रकारितासम्बन्धी कार्यका लागि गोरखापत्रमा तीन जना पण्डितको व्यवस्था गरिएको थियो । जेठा पण्डित उदयराज पाण्डे, माहिला पण्डित चिरञ्जीवी पौड्याल र कान्छा पण्डित नरेन्द्रकेशरी अर्यालले यो जिम्मेवारी पाउनुभएको थियो । तीन पण्डितमध्ये माहिला पण्डितको गद्य लेखन निकै स्तरीय थियो । उहाँले लेखेका सम्पादकीय र अन्य सामग्रीमा तत्कालीन समाजमा सुधार गर्नुपर्ने पक्षहरूबारे स्पष्टसँग उजागर गरिएको पाइन्छ ।

उहाँको लेखाइका केही उदाहरण – ‘मुलुकको धन व्यापारमा रहेछ । युरोपमा पनि जुन मुलुकको व्यापार बढ्दै जान्छ, धन पनि बढ्दै गयाको देखिन्छ । विचार गर्नुहोस् कि १० वर्षअघिसम्म जापानको नामै सुनिन्नथ्यो । अब त्यही मुलुकले व्यापारमा ध्यान दिएको हुनाले धन बढी ठुलो पनि त्यही मुलुक गनियो । विद्याको प्रचार बढ्दै छ तर अफसोस छ कि हाम्रो मुलुकको मन व्यापारमा मुलुक धनी होला, अर्काको मुलुकमा चल्न सक्ने माल यताबाट केही लगि अरू मुलुकको धन आउला भन्ने आशा त परै जावस्, आफ्नै लाउने खाने जीवन वृत्ति पनि आफ्नै मुलुकबाट चलाउनको उद्योग गर्दैनन्...” (विसं १९५९ असारको गोर्खापत्र)

“....आफू बसेका सहरमा कति मानिस बेकाममा भोकले मरिरहेका छन् अरू कति केही उद्योग नपाई अर्काको कमारा कमारी भएर दुःख पाएर जन्म बिताएका छन्, कति विद्या नपाएर पशु जस्ता भएर रहेका छन्, कति बलियाका हातबाट थिचोमिचोमा परेका छन् । मानिसले यस्तो काममा एउटा काम लिएर तरक्की गर्नाको कोसिस गरे केही फाइदा गर्न सक्तछन् ....।”

“....हाम्रा हिन्दुहरूमा धेरै जातको भेद हुनाले गोराहरूको भन्दा (काम गर्न) केही गाह्रै हुन्छ, तापनि आफ्नु जातले पाईआयाको धर्ममा आफूले रही अर्काको जाति धर्मको निन्दा नगर्ने बानी गरे कत्ति गाह्रो हुने छैन...।”

यसै गरी विसं १९६६ कात्तिक २३ गतेको ‘गोर्खापत्र’ मा खेतीपाती गर्ने तरिका, कृषि उपकरणको प्रयोग आदि किसानका लागि उपयोगी हुने विषयमा सम्पादकीय प्रकाशित भएको देखिन्छ । 

यसरी गोरखापत्रमा तत्कालीन सत्ताधारी र जनमानसलाई समाजमा विद्यमान समस्या, विकृति र विसङ्गतिलाई सुधार गरी समाजलाई अगाडि बढाउन उत्प्रेरित गर्ने खालका सामग्री प्रशस्त मात्रामा प्रकाशित भएका पाइन्छन् । सम्पादकको जिम्मेवारीमा राजा जयपृथ्वीबहादुर सिंह आफैँ एक प्रतिभाशाली र आधुनिक सोच भएका व्यक्ति हुनाले नेपाली समाजलाई सुधारको बाटोमा अघि बढाउन उहाँले गोरखापत्रलाई एक सशक्त संवाहकका रूपमा अघि बढाउने अठोट गरी सो अनुसार काम गरिरहनुभएको थियो । प्रधानमन्त्री चन्द्रशमशेरलाई आफ्नै ज्वाइँका ती गतिविधि सह्य भएनन् । त्यसैले चन्द्रशमशेरले उहाँलाई गोरखापत्रको जिम्मेवारीबाट हटाई कोलकातामा नेपालको वाणिज्य प्रतिनिधिको जिम्मेवारी दिई पठाउनुभएको थियो ।

राणा शासनकालमा गोरखापत्रले समाज सुधारको विषयलाई उच्च प्राथमिकता दिने गरेको तथ्य ‘गोर्खापत्र’ मा प्रकाशित पहिलो फोटोबाट पनि पुष्टि हुन्छ । मिति विसं १९८४ वैशाख १३ गतेको ‘गोर्खापत्र’ मा वीरगन्ज निवासी एउटी किशोरी सूर्यमती श्रेष्ठनीले चर्खा घुमाएर धागो कातेको फोटो छापिएको थियो । आफ्नो आफ्नो आधारभूत आवश्यकता आफैँ पूरा गरी स्वावलम्बन बन्नु पर्छ भन्ने सन्देश दिने उद्देश्यले उक्त फोटो छापिएको हुनु पर्छ । त्यतिखेर भारतमा पनि चर्खाबाट धागो कातेर लुगा बनाउने प्रचलन आइसकेको थियो । पछि महात्मा गान्धीले उक्त अभियानलाई अझ व्यापक बनाउनुभयो । आत्मनिर्भरता र स्वावलम्बनका माध्यमबाट समाजमा सुधार ल्याउनमा त्यस्ता प्रयासहरूको ऐतिहासिक महत्व रहेको पाइन्छ ।

देवशमशेर आफैँ समाज सुधारका प्रबल पक्षधर हुनुहुन्थ्यो भने नरदेव पाण्डे, जयपृथ्वीबहादुर सिंह, तीन पण्डित, गुरु विश्वराज, मृगेन्द्रशमशेर, विजयशमशेर, प्रेमराज पौड्याल आदि गोरखापत्रका तालुकदारहरू पनि नेपाली समाजलाई पत्रिकाको माध्यमबाट अँध्यारोबाट उज्यालोतर्फ जाने बाटो देखाउन दृढ सङ्कल्पित हुनुहुन्थ्यो । त्यसैले गोरखापत्रका पुराना पृष्ठहरू पल्टाउँदा राणाकालीन समाजमा गोरखापत्रलाई अँध्यारोको बिचमा बलेको एउटा दियोका रूपमा हामी पाउँछौँ । 

लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।           

  प्रस्तुत आलेख ‘राणाकालीन समाज सुधारमा गोरखापत्र’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।