हुम्ला समाचारदाता
हुम्ला,असार १ गते । जिल्लाका सात वटै गााउँपालिका यतिबेला योजना तर्जुमामा जुटेका छन् । असार १० गते आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम गाउँ सभामा पेस गर्नुपर्ने भएपछि सबै गाउँपालिका योजना तर्जुमा गर्न जुटेका हुन् ।
वडाका बस्तीस्तरमा योजना तर्जुमा कार्य धमाधम भइरहेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । गाउँपालिकाका पाँच वटै वडामा यो कार्य भइरहेकोले निर्धारित मितिमा बजेट तथा कार्यक्रम आउने उहाँको भनाइ छ । बस्तीस्तरबाट धेरै माग आएका र त्यसलाई वडा समितिले प्राथमिकीकरण गरेर अघिल्लो चरणमा सिफारिस गर्ने उहाँले बताउनुभयो । सिमकोट गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत बर्खबहादुर फडेराले आठ वटै वडामा यो काम भइरहेकोले समममै आगामी आव २०८२/८३ को बजेट तथा कार्यक्रम सभामा पेस हुने जानकारी दिनुभयो ।
पाँच वटै विषयगत समितिका लागि बस्तीस्तरबाट योजना छनोट गर्ने काम भइरहेको र अब चाँडै गाउँपालिकामा आउने उहाँले बताउनुभयो । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले बस्तीस्तरमा योजना छनोट गर्ने कार्य छ वटै वडामा सम्पन्न भएको र अब वडा समितिको छलफल तथा प्राथमिकीकरण गर्ने कार्य सुरु भएको जनाउनुभयो । अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले गहन र व्यापक छलफल गरेर बस्तीस्तरमा योजना छनोट भएको र त्यसमा बस्तीका आवश्यकता समेटिएका माग बढी आएको जानकारी दिनुभयो ।
यहाँका चङ्खेली, सर्केगाड र ताँजाकोट गाउँपालिकामा पनि योजना तर्जुमा गर्ने काम जारी रहेको छ । गाउँपालिकाबाट प्राप्त जानकारी अनुसार सात वटै गाउँपालिकाका ४४ वटै वडाबाट विशेष गरी शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, विद्यालय भवन, आयआर्जनका कामको माग बढी आएका छन् । त्यसै गरी उद्यम विकास, कृषि तथा पशु विकासका माग पनि बस्तीस्तरबाट समेटिएर आएका छन् । सबै गाउँपालिकाबाट पहिलो र दोस्रो चरणको काम सम्पन्न भइसकेका कारण आगामी असार १० गते नै आवका लागि बजेट तथा कार्यक्र्म ल्याउने तयारी भएको जनाइएको छ ।