बिजुवार समाचारदाता
बिजुवार, असार १ गते । प्युठानको गौमुखी गाउँपालिकाको अर्खा लामीडाँडा र देउराली रजवारालाई जोड्ने झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । पुल सञ्चालनमा आएपछि यसअघि करिब डेढ घण्टा लाग्ने पैदलयात्रा अब २०/२५ मिनेटमै तय गर्न सकिने भएको छ ।
दैनिक आवतजावतमा सहजता बढेपछि स्थानीयवासी उत्साहित देखिएका छन् । गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले भन्नुभयो, “पहिले झन्डै डेढ घण्टा उकालो ओरालो हिँड्नु पथ्र्यो । अब यात्रा छिटो र सजिलो भएको छ ।”
पुल निर्माणका लागि दुई करोड ७२ लाख ७४ हजार रुपियाँमा २०८१ जेठमा ठेक्का सम्झौता गरिएको थियो । योजना अधिकारी/अपर तामाकोशी जेभीले निर्माण सम्पन्न गरेको हो भने प्राविधिक सुपरिवेक्षण सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोक ललितपुरले गरेको हो । पुलको लम्बाइ ३७३.८० मिटर र उचाइ १८० मिटर छ । यो संरचना जिल्लामै सबैभन्दा लामो तथा अग्लो झोलुङ्गे पुलका रूपमा चिनिएको छ ।
पुल सञ्चालनमा आएसँगै सो क्षेत्रको भौतिक पहुँच मात्र नभई पर्यटनसमेत प्रवर्धन हुने स्थानीयको आस छ । स्थानीयवासी केदार थापाले प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त हुने यो स्थान पुल बनेपछि हेर्न आउने स्थानीयको चाप पनि बढेको बताउनुभयो ।