• १४ पुस २०८२, सोमबार

दुर्घटना घटाउन राजमार्गमा सूचना बोर्ड

blog

सूचना बोर्ड राख्ने अभियानमा ट्राफिक प्रहरी । तस्बिर सौजन्यः हिमाल जोशी

प्रकाशविक्रम शाह

धनगढी, पुस १४ गते । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले संयुक्त रूपमा राजमार्गमा सूचना बोर्ड स्थापना गरेको छ । 

सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रालाई प्रवर्धन गर्ने उद्देश्यले सोमबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बाणीमा ‘ब्ल्याक स्पट म्यापिङ’ तथा सूचनामूलक बोर्ड स्थापना गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ओमबहादुर रानाले औपचारिक रूपमा सूचना बोर्डको उद्घाटन गर्दै बढ्दै गएको सवारी दुर्घटनालाई नियन्त्रणमा ल्याउन दुर्घटना बढी हुने स्थानको पहिचान (ब्ल्याक स्पट) गरी चालक, सह–चालक तथा यात्रुलाई ट्राफिक नियम, सडकको अवस्था र जोखिमयुक्त क्षेत्रबारे जानकारी गराउने उद्देश्यले बोर्ड राखिएको बताउनु भयो ।

दुर्घटना सम्भावना उच्च रहेका स्थानमा चेतनामूलक तथा सूचनामूलक बोर्डहरू राखिने, सडक प्रयोगकर्तालाई सचेत गराइनुका साथै ट्राफिक नियमको प्रभावकारी पालना गराउने मुख्य उद्देश्य रहेको उहाँले बताउनु भयो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको वार्षिक कार्ययोजना अनुसार यो अभियान सुदूरपश्चिम प्रदेश स्थानीय तह, सरोकारवाला निकाय र नागरिकको सहकार्यमा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रदेश प्रहरी प्रमुख रानाले बताउनु भयो । 

कार्यक्रममा वडाध्यक्ष अर्जुन साउदले स्थानीय तहले यस कार्यमा सहकार्य गर्ने बताउँदै इलाका प्रहरी र अस्थाइ प्रहरी चौकीको स्तरोन्नति गरिनु पर्ने माग गर्नु भयो ।

सुरक्षित सडक, अनुशासित ट्राफिक र जिम्मेवार यात्राको सन्देश बोकेको यस अभियानले सुदूरपश्चिममा ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।