• १४ पुस २०८२, सोमबार

मध्य महालक्ष्मी सडक धमाधम कालोपत्रे

blog

जितपुर बजारबाट सङ्खुवासभाको धर्मदेवी जोड्ने महालक्ष्मी सडक कालोपत्र हुँदै ।

कविराज घिमिरे 

हिले, पुस १४ गते । धनकुटा महालक्ष्मी नगरपालिकाले मध्य महालक्ष्मी सडक कालोपत्रे गर्न सुरु गरेको छ । जितपुर बजारबाट सङ्खुवासभाको धर्मदेवी नगरपालिका जोड्ने करिब १०.५ किलोमिटर मध्ये पाँच किलोमिटर सडक कालोपत्रे यो वर्ष हुने पालिकाले जनाएको छ । 

यो सडकको अहिले दुई खण्डमा काम भइरहेको छ । जितपुरतर्फबाट १५ सय मिटर सडक ७ मिटर चौडा कालोपत्रे गर्ने गरी तीन करोड ६८ लाखमा ठेक्का लागेर कालोपत्रेको काम भइरहेको पालिकाका असिस्टेन्ट सब इन्जिनियर दिनेश श्रीपालीले जानकारी दिनु भयो । यता पालिकाकै कटहरेदेखि पाँच किलोमिटर सडक ७ करोड ७५ लाख रुपियाँमा ठेक्का लागेर काम अघि बढिरहेको पालिकाका इन्जिनियर दिवस पौडेलले जानकारी दिनु भयो । 

यो खण्ड समेत आर्थिक वर्षभित्र कालोपत्रे सक्नेगरी काम अघि बढिरहेको छ । सडक सङ्घीय सरकार र पालिकाको लगानीमा निर्माण हुन लागेको हो । यो सडक पालिकाको मुख्य लाइफलाइनको रूपमा रहेकाले प्राथमिकताका साथ काम भइरहेको मेयर ध्रुवराज रायले जानकारी दिनु भयो । 

पालिकाको वडा नम्बर १, २, ३, ४ का जनतालाई पालिका आउने सबैभन्दा सहज मार्ग हो । त्यस्तै ७ र ८ वडा लाई समेत छुने र पालिकाले वडा नम्बर १ मा निर्माण गर्न लागेको औद्योगिक ग्राम र कोल्ड स्टोरको पहुँच मार्गको रूपमा समेत रहेकाले यो सडकलाई प्राथमिकताको साथ हेरिएको मेयर रायको भनाइ छ ।