• १ असार २०८२, आइतबार

बालबालिकामा कुपोषण बढ्दो

blog

कालीकोट जिल्लामा कुपोषण भएका बालक । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, असार १ गते । कालीकोटमा कुपोषणग्रस्त बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । कर्णाली प्रदेश सरकारले बालबालिकामा देखिने कुपोषण अन्त्य गर्न करोडौँ रकम खर्च गरे पनि कुपोषित बालबालिकाको सङ्ख्या घट्न अझै सकेको छैन । 

आफ्नै उत्पादित अन्नले मुस्किलले छ महिना मात्र खाना पुग्ने कर्णालीका गाउँमा राज्यले कुपोषण दर घटाउन गरिएको प्रयास असफल हुँदै गएको पाइएको छ । सरकारले कुपोषण न्यूनीकरणका लागि गाउँ गाउँमा पोषिलो पिठो वितरण गरिरहेको छ । गाउँका स्वास्थ्य संस्थाले चिनेजानेकालाई मात्र पर्याप्त पोसिलो पिठो दिने गरेको कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–३ का खड्क विश्वकर्माले बताउनुभयो । पोसिलो पिठो लिन एक दिन ढिलो भयो भने पनि कर्मचारीले छैन भनेर हप्काउने गरेको भन्दै उहाँले त्यहाँ सधैँ झगडा पर्ने गरेको जनाउनुभयो ।

स्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले यो वर्ष जिल्लामा कडा कुपोषण भएका बालबालिका ६९ जना फेला परेको जानकारी दिनुभयो । अघिल्लो वर्ष १६२ जना रहेका थिए । मध्यम खालका कुपोषणका बालबालिकाको सङ्ख्या पनि धेरै रहेको छ । 

उहाँले जिल्लामा पहिलेको तुलनामा यो सङ्ख्या केही कम भएको तर अपेक्षित रूपमा घट्न नसकेको बताउनुभयो । दिनभरि काम गरेर पनि पेटभरि खाना नपाउने अवस्थाबाट गुज्रिएको कर्णालीमा पोषण कार्यक्रमले छुन सकेको छैन । न्यून आय भएको कर्णालीमा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि सङ्घीय सरकारले भारी रकम खर्च गरे पनि उपलब्धि शून्य छ । 

शीघ्र कुपोषणको एकीकृत व्यस्थापन कार्यक्रम अन्तर्गत जिल्लामा २० वटा बहिरङ्ग उपचार सेवा केन्द्र रहेका छन् । ती उपचार केन्द्रमा विभिन्न परीक्षणमा पत्ता लागेका कुपोषित बालबालिकाको उपचार गरिरहेको छ । यो भनेको तयार पारिएको उपचारात्मक खाना हो । कुपोषितलाई ४२ दिनसम्म खुवाउने गरिन्छ । 

स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. भीष्मप्रसाद पोखरेलले गरिबी, बालविवाह, खानपान र सरसफाइ नहुने जस्ता कारणले कुपोषण बढ्ने गरेकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले शिशुलाई पूर्ण स्तनपान गराउन नसक्दा पनि कुपोषण भयानक हुँदै गएको जानकारी दिनुभयो । 

सान्नीत्रिवेणी–६, मेहलमुडीकी अप्सरा दर्जीले दिनभरि काम गरेर पनि बिहानबेलुकाको छाक टार्न धौ धौ हुने अवस्थामा बालबच्चालाई पोसिलो खानेकुरा खुवाउन नसकेको बताउनुभयो । “जति गरे पनि सधैँ अभाव बेहोर्नु पर्छ, कसरी बालबालिकालाई पोषणयुक्त खाना खुवाउने ?” दर्जीले सरकारले भन्ने नारा र गर्ने व्यवहार फरक भएकाले समस्या परेको बताउनुभयो । खास गरिबका लागि कतै केही छैन । आफूहरूले घरमा जे छ, बालबालिकालाई त्यही खुवाउने गरेको रासकोट नगरपालिका–२ का डिल्ली दर्जीको भनाइ छ ।