बुटवल समाचारदाता
बुटवल, असार १ गते । निर्माण सुरु भएको पाँच महिनाभित्रै बुटवल–गोरुसिङ्गे सडक आयोजनाको करिब १० प्रतिशत काम सम्पन्न भएको छ । बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार उक्त सडकखण्डमा ३० वटा नयाँ पुल बन्दै छन्, जसमा १७ वटाको फाउन्डेसनको कामसमेत सम्पन्न भइसकेको छ ।
बुटवल आयोजना प्रमुख कुशलता न्यौपानेले अहिलेसम्मको अवस्थामा निर्माणको काम सन्तोषजनक ढङ्गले अघि बढेको बताउनुभयो । वर्षाका कारण माटो पुर्ने काम रोकिएको र पुल र कलभर्ट निर्माणको काम भइरहेको छ । आयोजना प्रमुख न्यौपानेले भन्नुभयो, “बर्र्खा लाग्नै थालेकोले दुई/तीन महिना काममा ढिलाइ हुन्छ, त्यसपछि भने तीव्र गतिमा काम अघि बढ्छ ।”
बुटवल–गोरुसिङ्गेको ५० किलोमिटर सडक स्तरोन्नतिका क्रममा बजार क्षेत्रका केही भागमा दायाँबायाँ पर्खाल निर्माणको काम भइरहेको छ ।
पहिलो चरणमा सडक विस्तारसंगै ३० वटा पुल निर्माणको काम भइरहेको छ भने १४९ वटा कलभर्ट निर्माणको काम जारी रहेको छ । बुटवल–गोरुसिङ्गे खण्डमा निर्माण हुने ३० वटा पुल अहिलेकै पुलसँग जोडेर चार र पाँच लेनमा विस्तार गरिने आयोजनाले जनाएको छ । उक्त सडकखण्डमा करिब ६० वर्षअघि निर्माण भएका पुललाई नभत्काई ती पुलसंगै जोडेर नयाँ पुल बनाउन लागिएको हो । बुटवल–गोरुसिङ्गे सडकखण्डको कुल ५० किलोमिटर सडक विस्तारका क्रममा करिब १५ किलोमिटर जङ्गल क्षेत्र पर्ने भएकोले उक्त क्षेत्रमा वन्यजन्तु वारपार गर्न मिल्ने गरी १९ स्थानमा जमिनमुनि बाटो (अन्डरपास) बनाइने भएको छ ।
यो सडकखण्डमा गाडी गुडाउन मिल्ने छ वटा अन्डरपास, पैदलयात्रुका लागि १२ वटा अन्डरपास र ११ वटा ओभरहेड ब्रिज पनि बनाइने योजना छ ।
आयोजनाका अनुसार बजार तथा बस्ती क्षेत्रमा दुवैतर्फ सर्भिस लेनसहितको छ लेन सडक बन्ने छ भने सहरउन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा सडक विस्तार हुने छ । सडक निर्माणको कार्यादेश २०८१ कात्तिक ४ गतेदेखि सुरु भएकोले त्यसको तीन वर्ष अर्थात् २०८४ कात्तिक ३ गतेभित्र सडक निर्माण सम्पन्न गरिसक्ने गरी ठेकेदारसँग सम्झौता भएको छ ।