गङ्गाकुमारी मिजार
रसुवा, पुस १४ गते । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ अन्तर्गतको मिनी गोसाइँकुण्ड क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित १०८ धारा निर्माण कार्य सुरु गरिएको छ ।
तामाङ समुदायको बाहुल्य रहेको सदरमुकाम धुन्चेमा धुन्चे युवा समाजको आयोजना र स्थानीयवासीको सक्रिय जनसहभागितामा मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने संरचना निर्माण गर्न लागिएको हो । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास स्थानीहरूको छ ।
धुन्चे युवा समाजका सदस्य सन्तोष घलेका अनुसार धारामा गोसाइँकुण्डबाट उदगम भएको त्रिशुली नजिकैको पानी प्रयोग गरिने छ । धारामा स्नान गर्न मिल्ने व्यवस्था गरिँदै छ, जसले धार्मिक आस्था बोकेका श्रद्धालुका लागि विशेष महत्त्व राख्ने विश्वास गरिएको स्थानीयको भनाइ छ ।
करिब ५१ लाख रुपियाँको अनुमानित लागतमा १०८ धारा निर्माण कार्य सुरु गरिएको भए पनि हालसम्म सहयोग प्राप्त नभएको जनाइएको छ । घलेका अनुसार स्थानीयवासीको आर्थिक सहयोग र स्वतःस्फूर्तमा निर्माण कार्य अघि बढाइएको छ । निर्माण कार्य सम्पन्र नहुँदासम्म हरेक शनिबार स्थानीहरूले श्रमदान गर्ने निर्णय समेत गरिएको छ ।
पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने महत्त्व अझ बढ्ने स्थानीयको विश्वास छ । नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार यस क्षेत्रलाई नमुना धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।