काठमाडौँ, पुस १४ गते । क्लब फुटबलहरूको साझा संस्था नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसिए)लाई खेलकुद एपरेल ब्रान्ड केटीएम सिटीले खेल सामग्री प्रायोजन सहयोग गर्ने भएको छ ।
उक्त प्रायोजनसम्बन्धी सम्झौता पत्रमा सोमबार एसोसिएसनका महासचिव उपेन्द्रमान सिंह र केटिएम सिटीका प्रतिनिधि (सिइओ) सबिन महतोले हस्ताक्षर गर्नु भयो ।
सम्झौताअनुसार केटिएम सिटीले एनएफसिएमा आबद्ध ए, बी र सी डिभिजन क्लबलाई आवश्यक पर्ने खेल पोशाक लगायत सामग्री ५० प्रतिशत छुटमा प्रदान गर्ने छ । हाल एसोसिएसनमा ३० वटा क्लब आबद्ध रहेको एसोसिएसनका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनु भयो ।
‘‘यस प्रायोजनले पहिलो चरणमा यही पुुस २५ गतेदेखि सुरु हुने राष्ट्रिय लिगमा क्लबहरूलाई सहयोग पुर्याउने छ । यसको सुविधा सबै क्लबले लिन सक्ने छन् । अन्तर्राष्ट्रिय स्तरको ब्रान्डसँग जोडिन पाउनु फुटबल क्लब र खेलाडीका लागि उत्कृष्ट क्षण हो,’’ शेर्पाले भन्नु भयो । एसोसिएसन र केटिएम सिटीबिच तीन वर्षको सम्झौता गरिएको हो ।
यस्तै केटिएम सिटीका सिइओ महतोले सम्झौताले सबै डिभिजनका क्लबलाई फाइदा हुने र कम्पनीले पनि आफ्नो सामाजिक उत्तर दायित्व पूरा गर्न पाएको उल्लेख गर्नु भयो ।
‘‘यसअघि राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गरेका थियौँ । अहिले क्लबहरूसँग जोडिन पाएका छौँ । फुटबलका लागि केही गरौँ भन्ने भावना हो । क्लबहरूलाई सस्तो मूल्यमा फुटबल सामग्री उपलब्ध गराउने हाम्रो मुख्य उद्देश्य हो,’’ महतोले भन्नु भयो ।
उहाँले पहिलो चरणमा राष्ट्रिय लिग खेल्ने आठ क्लबले यस सुविधा लिन लागेको जानकारी पनि दिनु भयो । जसमा उपत्यका बाहिरका राष्ट्रिय लिग खेल्ने चार क्लब पनि समावेश हुने छन् । नेपाल फुटबल क्लब एसोसिएसन क्लबहरूको हकहितका लागि दुई वर्षअघि स्थापना भएको संस्था हो ।