• १ असार २०८२, आइतबार

गेरुवा सुक्यो, सोनाहा बस्तीमा ताला

blog

सुन चाल्दै गरेका सोनाहा जाति ।

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), असार १ गते । बर्दियाको गेरुवा गाउँपालिका–६, निवासी शान्ति सोनाहा केही वर्षअगाडिसम्म गेरुवा नदीमा सुन चालेर र माछा मारेर घर चलाइरहनुभएको थियो । गेरुवा नदी सुक्दै गएपछि उहाँ एक वर्षदेखि घरमा ताला नै लगाएर परिवार नै लिएर भारततर्फ कमाउन जानुभएको छ । घरमा बसेर जीविकोपार्जन नहुने भएपछि उहाँ जस्तै धेरै सोनाहा घरपरिवार घरमा ताला लगाएर भारतका विभिन्न स्थानमा कामको खोजीमा पुगेका छन् भने कतिपय घरमा बालबालिका र ज्येष्ठ नागरिक छोडेर भारतमा काम गर्न पुगेका छन् ।

ताला नलगाइएका घरमा पनि ज्येष्ठ नागरिक, महिला र केटाकेटी मात्र देखिन्छन् । गेरुवा गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी सोनाहाले काम गर्न सक्ने र कमाउन सक्ने जति सबै बाहिर गएको बताउनुभयो । उहाँका अनुसार गेरुवा गाउँपालिकाभित्र १२ वटाभन्दा बढी घरमा ताला लगाइएको छ । उहाँले गेरुवा नदी सुकेकाले माछा र सुन नपाइने हुँदा युवा देशबाहिर जानुपर्ने बाध्यता भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “पहिले नदी ठुलो थियो, माछा पनि पाइन्थे, अहिले नदी सुक्दै गएपछि माछा पाइन छोड्यो । सुन पनि तल्लो क्षेत्रमा पाइँदैन, माथिल्लो क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्ज भएकाले प्रवेश गर्न मिल्दैन । अब त हाम्रो परम्परागत सिप पनि हराउँछ कि भन्ने चिन्ता छ ।” 

गेरुवा गाउँपालिका–६, सैजनाका दुःखराम सोनाहाले कर्णाली नदीतर्फ जान नमिल्ने र पहिलेको ठाउँमा सुन पाउन छाडेको बताउनुभयो । उहाँले कर्र्णाली र बबई नदीमा सामुदायिक वनले समेत बगरमा सुन चाल्न नदिने गरेको आरोप लगाउनुभयो । गेरुवा गाउँपालिका–६, सैजनाका अधिकांश घरका युवकयुवती कामको खोजीमा भारततर्फ गएको बताउँदै कतिपय घरमा ताला नै लगाएर सपरिवार कामको खोजीमा गएको बताउनुभयो । 

विसं २०७८ को जनगणना अनुसार देशभरमा सोनाहा जातिको जनसङ्ख्या एक हजार १८२ जना रहेको छ । सोनाहा विकास समाजका अध्यक्ष इन्द्र सोनाहाले बर्दिया जिल्लामा करिब आठ सय जनाको सङ्ख्या सोनाहामा रहेको बताउनुभयो । सरकारसँग पटक पटक उहाँले अल्पसङ्ख्यक जातिमा सूचीकृत  गरिदिनका लागि माग गरे पनि माग पूरा नभएको बताउनुभयो । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले सोनाहाको परम्परागत सिपको संरक्षणका लागि गाउँपालिकाले योजना र कार्यविधि बनाएर काम गर्ने बताउनुभयो । सोनाहाको सिप गाउँपालिकाको सम्पत्ति भएको बताउँदै आगामी नीति तथा कार्यक्रममा सोनाहाको सिप संरक्षण र संवर्धनको कार्यक्रम ल्याउने बताउनुभयो ।