• ९ मंसिर २०८१, आइतबार

विचार, नीति र पार्टी

blog

‘तिमी जे सोच्छौ तिमी त्यही बन्छौ’ (साभारः धम्मपद) । बुद्धको यो वाणीबाट प्रस्टै थाहा हुन्छ कि विचार मानव जीवनको असाधारण शक्ति हो र नियत नै नियतिको जननी हो । हामी यत्रो सूचना तथा सञ्चार प्रविधि–जडित विश्वग्रामका नागरिक बनिरहँदा पनि वैचारिक खडेरीबाट गुज्रिरहेका छौँ, किनभने हामी बत्तीकै वरिपरि घुमेर सकिने पुतलीजस्ता भएका छौँ, सतही छौँ र बढी प्रतिक्रियात्मक छौँ । आजभन्दा २५०० वर्षअघि नै बुद्धले मानव जातिको नैतिक तथा मानसिक रूपान्तरणको जन्ड अभियान सुरु गरिसकेका थिए । सो अभियान एकातिर आध्यात्मिक हुँदाहुँदै पनि अर्कोतिर मानवजतिको भौतिक जीवन सुखमय बनाउन पनि कामयावी थियो । वास्तवमा, मानवको नैतिक तथा मानसिक रूपान्तरणबाट नै श्रेष्ठ विचार पैदा हुन्छ, जसले जीवन र जगत्का गतिविधि तर्कसङ्गत ढङ्गले सञ्चालन गर्न दिशाबोध समेत गर्छ । 

परिवर्तन वा सुधार मानवको प्रकृति हो । त्यसैले, यहाँको समसामयिक राजनीतिमा देखापरेका जटिल परिस्थितिलाई चिर्दै अगाडि बढ्न वैचारिक पुष्टता खोजिनु जायज ठहर्छ । तर, यहाँ कुनै वादको प्रसङ्ग उठाइएको होइन । जीवन र जगतका सबै पाटामा विचारले फलदायी भूमिका खेलिरहेको हुन्छ । यस सिलसिलामा, मानव जीवनमा विचार कति निर्णायक हुन्छ भन्ने दर्शाउँदै “विचार विज्ञान” भन्ने आफ्नो पुस्तकमा स्वामी खप्तड बाबा लेख्छन्: आफ्नो मनमा उत्तम विचारलाई स्थान देऊ किनभने ती विचार शीघ्र नै तिम्रा बाह्य जीवनको उत्तम अवस्थाका रूपमा प्रकट हुनेछन् । 

नेताप्रधान राजनीतिक अभ्यासले सामाजिक मनोविज्ञानमा जरा गाडेसम्म नेतृत्वदायी राजनीतिक शक्तिलाई गुणदोषका आधारमा वस्तुगत मूल्याङ्कन गर्ने पर्याप्त क्षमताको विकास मतदातामा हुन गाह्रो पर्छ । चुनावको बेलामा वा पार्टी महाधिवेशनको बेलामा पनि नीतिबारे गहन विचारविमर्श र छलफल हुन नसकिरहेको अवस्थाले नेताप्रधान राजनीतिको झलक दिन्छ ।

यस्तै, प्रसिद्ध अमेरिकी उपन्यासकार सू ग्र्याफ्टनको भनाइ छ, ‘विचारलाई कहिल्यै कम नआँक्नु, यो आविष्कारतर्फको सबैभन्दा ठूलो मार्ग हो ।’ वास्तवमा, विचारले नै पार्टी सङ्गठनको आविष्कार भएको हो । विचारले नै पार्टी चलाउँछ । पार्टी राजनीतिको मूल शक्ति भनेकै विचार हो । एउटा निश्चित वैज्ञानिक र गतिशील वैचारिक धरातलमा उभिएर राजनीतिक अभ्यास गर्ने पार्टीको मुख्य पहिचान पनि त्यसले बोकेको वैचारिक पक्ष नै हुने गर्छ । कुनै निश्चित विचारमा टेकेरै पार्टी सङ्गठित हुने गर्छ र समर्थन बटुल्ने गर्छ । यसको मतलब पार्टी अपरिमार्जित र सङ्कीर्ण विचारमा अडिग रहनुपर्छ भन्ने होइन । पार्टी जमेको पोखरीजस्तो पटक्कै हुनुहुन्न । पार्टीको विचारले जनतालाई निरन्तर सकारात्मक दिशातिर परिचालित गरिरहनु पर्छ, अग्रगति प्रदान गर्नुपर्छ । लोकतान्त्रिक पार्टीले निश्चय नै गतिशील विचारलाई अँगाल्नु अनिवार्य हुन्छ । पार्टीको नेतृत्व गतिशील र सिर्जनात्मक हुनुपर्छ भन्नुको मतलब यही हो कि प्रकृति र समाजमा आउने परिवर्तनलाई भौतिक समृद्धि मात्रै होइन स्वस्थ र दिगो समाज निर्माणका खातिर नैतिक र मनोवैज्ञानिक गुणस्तर बढाउने सबाललाई पनि बुद्धिमत्तापूर्वक सम्बोधन गर्नु आवश्यक हुन्छ । 

विचारले नीति उत्पादन गर्छ र नीतिले कार्ययोजनाको निर्धारण गर्छ । विचारले पार्टी र जनतालाई पथप्रदर्शन गर्छ र वैज्ञानिक नीति निर्माणमा अन्तर्दृष्टि प्रदान गर्छ । जनतामाझ विचार र नीति स्थापित गराउन सक्नेहरू नै पार्टीका नेताका रूपमा चिनिन्छन् । सामान्यतः विचारबिनाको राजनीतिक पार्टीको कल्पना गरिन्न । किनभने मानव स्वयं नै वैचारिक एवं तर्कशील प्राणी हो । विचारशक्ति नै मानवको प्रमुख विशेषता हो, जसले मानवलाई आध्यात्मिक स्तरको निर्विचारतिर समेत जान सघाउँछ । भौतिक दुनियाँमा विचारविहीन मानवको कल्पना गर्न सकिन्न । विचार बीज हो, जसबाट फल लाग्छ । राम्रो विचार मनमा फलाउँदा राम्रो फल मिल्छ भने नराम्रो विचार मनमा फलाउँदा नराम्रो परिणाम मिल्छ । त्यसैले त बुद्धले सम्यक दृष्टि र सम्यक विचारलाई जोड दिएका हुन् । राजनीतिक पार्टीको हकमा पनि यो साँचो हो । सही विचारलाई इमानदारी र अदम्य इच्छाशक्तिका साथ कार्यान्वयन गर्दा सफलता मिल्छ । तर विचार सही बोकेर पनि त्यसलाई कार्यान्वयन गर्ने क्रममा मानसिकता गलत दिशातिर वा क्षणिक स्वार्थतिर मोडियो भने परिणाम उल्टो आउँछ । यसप्रति पूर्वसजगता आवश्यक पर्छ ।

विचारको सुरुवात व्यक्तिबाट हुन्छ तर त्यो समाजका धरातलीय यथार्थबाट हुर्किएको हुन्छ । व्यक्तिले विचार प्रकट गर्छ, सामाजिकीकरण गर्छ । धेरैको हितमा देखियो भने विचार समाजकै साझा सम्पत्ति बन्छ तर व्यक्तिभन्दा माथि उठ्न नसकेको विचारले सामाजिक मान्यता प्राप्त गर्दैन । राजनीतिक पार्टीको हकमा पनि यो शाश्वत हुन्छ । विचारले पार्टीको वास्तविक परिचय दिन्छ । व्यक्तिभन्दा माथि उठेर बृहत समाजको हित गर्न सक्ने विचारले धेरै जनसमुदायलाई आकर्षित गर्छ । शक्ति र नाफा–केन्द्रित विचारलाई मात्र गुन्जाइयो र मानवहितकारी शाश्वत विचारलाई दबाइयो भने कालान्तरमा समग्र समाजले पीडा भोग्नुपर्ने स्थिति आउँछ । 

वर्तमान सूचना तथा सञ्चार प्रविधिको युगमा जनहितकारी विचारलाई पर्याप्त ठाउँ दिने कसरत सबै सरोकारवाला पक्षले गर्नुपर्छ । यसो गर्दा समाजलाई हानि पु¥याउने विचार स्वतः निष्क्रिय हुँदै जान्छ । कुनै पनि पार्टीको केन्द्रीय समितिमा विविध प्रकारका विचार पेस हुन्छन् भने त्यहाँ सही मन्थन पनि हुनैपर्छ । भिन्न मतहरूको व्यवस्थापनले नै कुनै पनि लोकतान्त्रिक 

पार्टी गुणात्मक रूपमा रूपान्तरित हुँदै जान्छ । भिन्न मतको व्यवस्थापन गर्न नचाहने वा नसक्ने पार्टी द्वन्द्व वा विस्फोटतिर उन्मुख हुने हुँदा पार्टी छिन्नभिन्न र अन्योलग्रस्तसमेत हुन्छ । तसर्थ, वैचारिक गुणस्तरको विकास गर्न आवश्यक कसरतलाई निरन्तरता दिनु फलदायी हुन्छ । 

व्यक्ति–अभिमुख मिडिया बहसलाई नीति–अभिमुख बनाउनु जरुरी देखिन्छ । यस सम्बन्धमा, सर्वप्रथम हामीले स्वीकार्नै पर्ने हुन्छ कि नेपालमा समग्रतामा नीतिप्रधान राजनीतिको विकास अझै हुन सकेको छैन । चुनावको बेला निकालिने घोषणापत्र यसको जारीकर्ताले नै नपढेको वा सरसर्ती हेरेको भए पनि आत्मसात् गर्दै नगरेको भन्ने कुरा व्यवहारत छर्लङ्ग नै छ । त्यसैले, चुनावको बेला वितरित प्रचार सामग्रीलाई कुनै पनि पार्टीको नीति मानिहाल्न कठिन हुन्छ । यसको 

अतिरिक्त, सरकारको नीति र पार्टीको नीति उही कुरो हो भन्न पनि मनासिव देखिन्न । आजकाल यही अथ्र्याउन खोजिएको देखिन्छ । 

सरकारमा गएपछि मात्रै पार्टीले आफ्नो नीतिबारे गिदी चलाउन थाल्ने प्रथा बस्नु हुन्न । पार्टीसँग विचार र सिद्धान्तमा आधारित स्पष्ट नीति हुनुपर्छ । जस्तै, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशितालाई वैचारिक–सैद्धान्तिक आधारशीला मान्ने हो भने सोबमोजिम कार्य रूपमा प्रामाणिक रूपमा प्रकट हुन आवश्यक पर्ने ठोस मापदण्डसहितको परीक्षणयोग्य नीति पनि सम्बन्धित पार्टीले आफ्नो केन्द्रीय समितिद्वारा पारित गर्नु आवश्यक पर्छ । त्यसका निम्ति पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बहुसङ्ख्यक जनताको प्रगति गर्ने वैचारिक–सैद्धान्तिक मान्यता हो भनी पुष्टि गर्ने गरी वस्तुनिष्ठ व्याख्या गर्नु बेस हुन्छ ।

नेताप्रधान राजनीतिक अभ्यासले सामाजिक मनोविज्ञानमा जरा गाडेसम्म नेतृत्वदायी राजनीतिक शक्तिलाई गुणदोषका आधारमा वस्तुगत मूल्याङ्कन गर्ने पर्याप्त क्षमताको विकास मतदातामा हुन गाह्रो पर्छ । चुनावको बेलामा वा पार्टी महाधिवेशनको बेलामा पनि नीतिबारे गहन विचारविमर्श र छलफल हुन नसकिरहेको अवस्थाले नेताप्रधान राजनीतिको झलक दिन्छ । केवल कुन नेताको व्यवस्थापन कहाँ कसरी हुने भन्ने विषय मुख्य बनिरहँदा जनहित गर्ने प्रकृतिको पोषिलो विचार र नीतिगत प्रस्ताव औपचारिक रूपमा कुन नेताबाट आयो–आएन भन्ने सबालले न्यून स्थान पाउँदा विचार तथा नीतिप्रधान राजनीतिक संस्कृतिले पोष प्राप्त गर्न सक्दैन । नीतिप्रधान राजनीतिक अभ्यासतर्फ देशलाई मोड्दा नै जनताको मनोविज्ञानमा पनि नीतिलाई प्राथमिकता दिने मनोढाँचाको निर्माण हुँदै जान्छ । 

त्यसैले, नेपालमा प्रधान शक्तिका रूपमा रहेका राजनीतिक पार्टीहरूले सर्वप्रथम आफ्नो वैचारिक पक्षलाई समृद्ध बनाउनु पर्छ, जसबाट राष्ट्रसमेत समृद्ध हुन सक्नेछ ।