• १८ चैत २०८२, बुधबार

कर्मचारी प्रशासनमा सरुवा

blog

कर्मचारी प्रशासनमा नियुक्ति, पदस्थापन र सरुवाको विशेष महत्व हुन्छ । नियुक्तिका लागि योग्य व्यक्ति छनोटका प्रक्रिया अपनाउने, छानिएका योग्य  व्यक्तिलाई सही ठाउँमा पदस्थापन गर्ने र समय समयमा निष्पक्ष, पारदर्शी र अनुमानयोग्य ढङ्गले सरुवा गर्ने प्रणालीले कर्मचारी प्रशासनको उत्पादकत्व बढाउँछ । यहाँ सरुवा सम्बन्धमा चर्चा गर्न लागिएको छ । 

सरुवा गर्दा कर्मचारीको रुचि, विज्ञता र कार्यकुशलतालाई आधार मान्नु पर्छ । यसरी सरुवा तथा पदस्थापना भएमा सही ठाउँमा सही  व्यक्तिको पदस्थापन हुन्छ । कर्मचारीबाट अपेक्षित कार्यसम्पादन प्राप्त गर्न सकिन्छ । प्रत्येक वर्ष विभिन्न मन्त्रालयले सरुवा गर्नुपर्ने समय, पदस्थापनमा भएपछि त्यो ठाउँमा काम गर्नुपर्ने अवधि, भौगोलिक क्षेत्रको अनुभवलगायतका अन्य विषयका सम्बन्धमा निजामती सेवा ऐन तथा नियमावलीमा नै व्यवस्था गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवाको आवेदनका लागि अनलाइन प्रणाली तथा राष्ट्रिय निजामती किताबखानामा पनि यसको अनलाइन रेकर्ड राख्ने व्यवस्था गरिएको छ । कानुनमा यस्तो व्यवस्था हुँदाहुँदै पनि सही कर्मचारी सही ठाउँमा पुग्न नसकेको, सरुवामा भनसुन, नातावाद, कृपावाद हाबी रहेको, राजनीतिक हस्तक्षेप कायमै रहेको र अन्य विभिन्न किसिमका अनियमितता हुने गरेको कर्मचारीको गुनासो रहँदै आएको छ । अति आवश्यकबाहेक वर्षमा एक पटक तोकिएको समयमा मात्रै सरुवा गरिने, तोकिएको अवधि नभई सरुवा नगरिने प्रावधानलाई अक्षरशः पालन गर्नु पर्छ । नत्र कार्यालयमा कर्मचारीको स्थिरता नहुने र कार्यसम्पादन तथा सेवा प्रवाहमा पनि असर पर्ने पुरानो रोग कायमै रहिरहन्छ । यसले कर्मचारी प्रशासनमा जिम्मेवारी र उत्तरदायित्व विहीनता, निष्क्रियता पनि बढ्दै जान्छ । 

तोकिएको अवधि पूरा नभई छोटो समयमै गरिने सरुवाले कार्यसम्पादन मूल्याङ्कन गर्न पर्याप्त आधार हुँदैन । उत्कृष्ट र कमजोर कार्यकुशलता भएका कर्मचारी, असल र खराब कर्मचारी छुट्टयाउन कठिन हुन्छ । यस्तो परिवेशमा जो कोही स्वार्थ समूहले आफू अनुसारको कर्मचारी सरुवा गराउनका लागि सहज वातावरण पाउने र सधैँ त्यसका लागि चलखेलमा लागिरहने जोखिम बढ्छ । मापदण्ड र आधारबिना गरिने सरुवाले टाठाबाठा कर्मचारी सधैँ आकर्षक मानिएका अड्डा र केन्द्रमा घुमिरहने, बढी सुविधा भएका ठाउँमै रमाइरहने हुन्छन् भने सोझासिधा कर्मचारी सधैँ छायामा पर्छन् । यस्तो परिवेशमा कर्मचारी प्रशासनले दिनुपर्ने उपलब्धि र योगदानमा पनि ह्रास आउँछ । कर्मचारीलाई उच्च मनोबलका साथ उपलब्धिमूलक ढङ्गले कार्य गराउनका लागि कुशल सरुवा व्यवस्थापन एक महत्वपूर्ण पक्ष हो । 

सरुवाको कुशल व्यवस्थापनका लागि विभन्न उपाय अवलम्बन गर्न सकिन्छ । सर्वप्रथम त निजामती सेवा ऐन तथा नियमावलीमा तोकिए अनुसार सरुवालाई क्यालेन्डरमा आधारित बनाउनु पर्छ । तोकिएको अवधिभन्दा अघि सरुवा गर्नु हुँदैन । विशेष परिस्थिति जस्तै– स्वास्थ्य समस्या,  व्यक्तिगत वा घरायसी समस्या, कार्यसम्पादन सन्तोषजनक नभएको आदि भई अवधि पूरा नभई सरुवा गर्नु परेमा स्पष्ट कारण र आधारसहितको बेहोरा उल्लेख गरी अभिलेख खडा गरी सरुवा गर्दा अनावश्यक सरुवा तथा चलखेल नियन्त्रण गर्न सकिन्छ । विभिन्न सरकारी निकायमा विषेश गरी स्थानीय तहमा खटाइएका कर्मचारीको विषयमा स्थानीय सोकारवाला समूह, राजनीतिक  व्यक्ति तथा अन्य स्वार्थ समूहले मन्त्रालयमा गुनासोसहित सरुवाका लागि दबाब दिनु सामान्य जस्तो भइसकेको छ । त्यसको सम्बोधनका लागि सरुवा गर्नुअघि सम्बन्धित कर्मचारीसँग गुनासोको विषयमा जवाफ मागी सो चित्त बुझ्दो नभएमा मात्रै सरुवा गर्ने व्यवस्था गर्नु पर्छ । साथै स्वार्थ प्रेरित भएर आएका गुनासाका उचित जवाफ दिई इमानदार कर्मचारीलाइ उच्च मनोबलका साथ कार्य गर्न उत्प्रेरित गर्नु पर्छ । 

सरुवाका लागि अनलाइन प्रणालीमा प्रभावकारिता बढाउन र सबै सरुवा यसैमार्फत गर्नका लागि ऐनमा तोकिएको नियमित सरुवाको समयभन्दा एक महिनाअघि नै पदस्थापना भइसकेको दुई वर्ष पूरा भएको पद र खाली पदहरूको विवरण राखी समय सीमा तोकी निवेदन आह्वान गर्ने तथा निवेदकलाई छनोटको अवसर दिने व्यवस्था गर्नु पर्छ । यसबाट प्राप्त भएका निवेदनलाई आधार र मापदण्ड बनाई प्राथमिकीकरण गरी सरुवा गर्नु उपयुक्त हुन्छ । मापदण्ड वा आधारमा वरिष्ठता, विज्ञता, रुचि, भौगोलिक क्षेत्रको अनुभव, गृह जिल्ला, पति वा पत्नीको पदस्थापन भएको जिल्ला, स्वास्थ्य समस्याका लागि तोकिएकै क्षेत्रमा बस्नु पर्ने बाध्यता भए नभएको लगायत विषय तोक्न सकिन्छ । सरुवा तथा पदस्थापनको सूची पारदर्शी ढङ्गले मन्त्रालयको वेबसाइट तथा राष्ट्रिय निजामती किताबखानाको प्रणालीमा अध्यावधिक गर्दा पारदर्शीता कायम हुन्छ । सरुवा गर्दा चित्त नबुझेमा समय अवधि तोकी गुनासो राख्न सक्ने प्रणालीको विकास गर्ने र सो उचित नभएमा तोकिएको ठाउँमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने व्यवस्था गर्न सकिन्छ । हाल पदस्थापन नभई जिम्मेवरीविहीन भएर महिनौँ बस्नुपर्ने समस्या पनि देखिएको छ । यो समस्य समाधान गर्न पन्ध्र दिनभन्दा बढी जिम्मेवारीविहीन बनाउन नपाउने गरी सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउन सकिन्छ । कर्मचारीको रुचि तथा विज्ञता अनुसारको स्थानमा सरुवा गर्दा कर्मचारी उत्प्रेरित र उत्साहित भई कार्य गर्ने सम्भावना बढी हुन्छ । 

निजामती कर्मचारीको सरुवा, पदस्थापन, काज, कामकाज तथा सरुवासम्बन्धी प्रशासनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी अनुमानयोग्य एवं विश्वसनीय बनाउन सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २०८१ सालमा मापदण्ड बनाई लागु पनि गरेको छ । यस मापदण्डलाई अक्षरशः पालना गर्दा पनि सरुवासम्बन्धी धेरै कमीकमजोरी हटाउन सहयोग पुग्छ । हामीकहाँ नियम कानुनको अभावभन्दा पनि त्यसको कार्यान्वयनको खाँचो देखिएको सबैले अनुभूत गरेकै विषय हो । इमानदार भएर नियम कानुनको कार्यान्वयन गर्ने हो भने निजामती सेवाको सरुवामा देखिएका बेथितिको पनि अन्त्य हुने निश्चित छ ।