• १२ असोज २०८१, शनिबार

प्रविधिमैत्री बनाउन आईसीटी तालिम सञ्चालन

blog

सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी तालिमका सहभागी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २७ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिका तथा वडा कार्यालय र विद्यालय समेतलाई प्रविधिमैत्री बनाउन सूचना, सञ्चार तथा प्रविधि (आईसीटी) सम्बन्धी तालिम सञ्चालन गरेको छ । आधुनिक समयको विकास क्रमसँंगै प्रविधिको प्रयोग अनिवार्य हुँदै गएपछि गाउँपालिकाले आईसीटीसम्बन्धी तालिम सञ्चालन गरेको हो । 

गाउँपालिका कार्यालय, वडा कार्यालय सामुदायिक विद्यालयको आधारभूत तहअन्तर्गत निम्न माध्यमिक विद्यालय सम्मलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाले आईसीटी तालिम सञ्चालन गरेको जनाएको छ । 

गाउँपालिकाका अनुसार कार्यालयअन्तर्गत विषयगत शाखामा कार्यरत कर्मचारी, वडासचिव र विद्यालयका कम्प्युटर शिक्षकको सहभागितामा तीन दिने आईसीटी तालिम सञ्चालन गरिएको छ । 

विद्यालय समेतलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सूचना, सञ्चार तथा प्रविधि (आईसीटी) सम्बन्धी तालिमको आयोजना गरिएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार गाउँपालिकाभित्रका सबै माध्यमिक र निम्न माध्यमिक विद्यालयका कम्प्युटर शिक्षक, गाउँपालिकाका विषयगत शाखाका कर्मचारी र सबै वडाका सचिवसमेत ३५ जनालाई आईसीटी तालिम प्रदान गरिएको छ । 

तालिममा प्रविधिको प्रयोग तथा सूचना सञ्चारसम्बन्धी सैद्धान्तिक र प्राविधिक विषय सिकाइएको थियो । प्रविधिसम्बन्धी तालिमले सम्बन्धित क्षेत्रमा कार्यरत जनशक्तिलाई थप दक्षता हासिल गर्न सहयोग पुगेको छ भने पहिलोपटक तालिम लिनेलाई आधारभूत ज्ञान प्राप्त भएको र कामप्रति उत्प्रेरण जगाएको गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाको भनाइ छ । विद्यालयसहित लक्षित क्षेत्रलाई प्रविधिमैत्री बनाउन तालिम फलदायी हुने पनि उपाध्यक्ष लामाले विश्वास लिनुभएको छ । 

सूचना, सञ्चार तथा प्रविधि (आईसीटी)सम्बन्धी तालिममा पाँचथरको हिलिहाङ गाउँपालिकाका सूचना प्रविधि विज्ञ लक्ष्मी चौहानलगायतले सहजीकरण गर्नुभएको थियो । तालिम आइतबार, सोमबार र मङ्गलबार गरी तीन दिनसम्म सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।