विशाल नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाह हिम्मतिला राष्ट्रस्रष्टा र दूरदर्शी द्रष्टा थिए। स्रष्टा तथा द्रष्टाका रूपमा रहेका उनी कूटनीतिक चातुर्यता, सुशासक, पारदर्शी, जवाफदेही, राष्ट्रियताका सबालमा स्वाभिमानी तथा आँटिला थिए। सबै जनतामा समभाव राख्ने व्यावहारिक शासक भएकै कारण उनी विशाल एकीकृत नेपालका जन्मदाता बन्न पुगे। उनी बाउन्न वर्ष मात्र बाँचेर पनि नेपालको माटोमा सबै कालखण्डका लागि चर्चित, अनुकरणीय तथा वन्दनीय युुगपुरुष भएर स्मरणीय बनेका छन्।
पृथ्वीनारायण बीस वर्षका हुँदा उनका पिताको अवसान भएकोले उनी गोरखाका राजा बन्न पुगे। विशेष त्यतिखेर नेपालको पश्चिमी भागमा (गण्डकी र कर्णाली क्षेत्रमा) बाइसे चौबीसे राज्य थिए भने उपत्यकामा कीर्तिपुर, ललितपुर, भक्तपुरमा मल्ल राजाहरूको राज चलेको थियो। त्यस्तै पूर्वतिर माझ किराँत पल्लो किराँतमा किराँतीको राज थियो भने दक्षिणतिर सेन वंशको राज्य थियो। त्यतिखेर नेपालभरमा ५२ भन्दा बढी राज्य देखिन्छन्। यस्तो स्थितिमा राजा भएका पृथ्वीनारायणले बाह्र सय घरधुरी भएको छ महिना पनि खान नपुग्ने गरिब गोरखा राज्यलाई सबैभन्दा शक्तिशाली नायक राज्य बनाउन भित्रैदेखि कुत्कुत्यायो। यस क्रममा आफ्ना छिमेकी राज्यसित कूटनीतिक सम्बन्ध कायम गरी महत्वपूर्ण व्यापारिक मार्ग बनेको नुवाकोट दुई पटक लगाएर जितेपछि उपत्यकामा प्रवेश गरे। तीनपल्ट लगाएर कीर्तिपुर जितेपछि उपत्यकाका सबै राज्य हात लगाए। त्यसपछि उनी दक्षिण र पूर्वी नेपालका विभिन्न राज्यमाथि हमला गरेर एकीकरण अभियानलाई तीव्र पारी बाइसे चौबीसे राज्यमा पनि आधिपत्य जमाउने अभियानलाई द्रुत गति दिए।
दूरदर्शी, कुशल शासक पृथ्वीनारायणको अनुभूति र उदात्त सपनाको सङ्कलन हो ‘दिव्योपदेश’। जसमा देशले अख्तियार गर्ने आन्तरिक एवं बाह्यनीति, कूटनीति वा राजनय, व्यापार पारवहन, निर्यातआयातको सन्तुलन र निर्यातप्रधान अर्थतन्त्रको देश बनाउने सपना तथा भावी दृष्टिकोणको प्रक्षेपण छ।
यसरी उनको नेपाल एकीकरणको सपनाअनुसार गोर्खा राज्यको नायकत्वमा देशको भौगोलिक कायाले पूर्वमा टिष्टा नदी, पश्चिममा सतलज र दक्षिणमा मगधसम्म आफूलाई फैलाउन सफल बनायो। बृहत्तर एकीकृत नेपालको रचना गर्ने क्रममा उनले देशभित्रका राज्यहरू र अङ्ग्रेज साम्रज्यसित पनि लड्न पर्यो। पश्चिम नेपालको एकीकरण अभियान पूरा गर्दा नगर्दै उनलाई कराल कालले वि.सं १८३१ माघे सङ्क्रान्तिको दिन इहलीला समाप्त गरायो नुवाकोटको देवीघाटमा। अवसान हुने समयअघि उनले आफ्ना भाइभारदारलाई राखेर बृहत्तर नेपाललाई सबल बनाउन उपदेश दिएका थिए, जसलाई ‘पृथ्वीनारायणको दिव्योपदेश’ भनेर पुकारिन्छ । यसलाई अर्को शब्दमा पृथ्वीगीताको रूपमा चिनिन्छ। यो आकारमा सानो भए पनि यसभित्रका सूत्रहरू राज्य सञ्चालनका हेतु गम्भीर तथा विशाल कूटनयिक, राजनयिक, आर्थिक, सामाजिक सद्भाव, राष्ट्रिय एकताका अनुुपम गीताग्रन्थ बन्न पुगेको छ। झन्डै उनका सन्तानले ७२ वर्षसम्म एकीकरण अभियानलाई अघि बढाइरहे। सुगौली सन्धिपछि यसमा ब्रेक लाग्यो।
दिव्योपदेश वा पृथ्वीगीता
दूरदर्शी, कुशल शासक पृथ्वीनारायणको अनुभूति र उदात्त सपनाको सङ्कलन हो ‘दिव्योपदेश’। नेपालको सन्दर्भमा यो पृथ्वीनारायण– गीता वा सबल नेपाल देश चलाउने कौशलताको वरद सूत्रहरूको सङ्ग्रह हो। जसमा देशले अख्तियार गर्ने आन्तरिक एवं बाह्यनीति, कूटनीति वा राजनय, व्यापार पारवहन, निर्यातआयातको सन्तुलन र निर्यातप्रधान अर्थतन्त्रको देश बनाउने सपना तथा भावी दृष्टिकोणको प्रक्षेपण छ। त्यसैगरी खेतीयोग्य जमिनको रक्षा, खानी उत्खनन, सैनिकको
सुसङ्गठन, राष्ट्रियताको रक्षा, धर्मसंस्कृति भाषा मौलिकताबारे सचेत रहने आदि अनगिन्ती पक्षको दिग्दर्शन छ यो नेपाल गीताभित्र।
नेपालका सुकरात भनेर ख्याति कमाएका निर्भीक वरिष्ठ शोधक, इतिहासविद्, प्राध्यापक नयराज पन्तको सम्पादकीय नायकत्वमा भूमिका खण्ड र मूल पाठसहित गरी ७६ पृष्ठ भएको प्रचलित नेपाली भाषामा लेखिएको २०५८ माघ ४ गते प्रकाशित यो पुस्तक (दिव्योपदेश सङ्ग्रह) नेपालमा सुशासन दिन्छु, समृद्ध नेपाल र सुखी नेपाली बनाउँछु भन्ने अठोट कुनै शासक प्रशासकले बोकेको छ भने यो ग्रन्थ उसको सिरानीमा हुनुपर्छ। कार्यालय जानअघि र फर्किसकेपछि यसको पुनर्पठन गरिरहनुपर्छ।
उदाहरणका लागि केही दिव्य उपदेशका सूत्र मूूल पाठबाट प्रचलित नेपालीमा:
१, ‘नेपाले राजाले चिन्नन् र पक्रनन् भनी स्याखु ओडी रापतीका तीरैतीर भानु जैसी, कुुलानन्द जैसी अरू थरघर पनि साथैमा थिए। चन्द्रागिरिमा आइपुगेपछि नेपाल कुन हो भनी सुध्याएँ र त्यो भादगाउँ हो, त्यो पाटन हो, त्यो काठमाडौँ हो भनी देखाए। मेरो मनमा यी तीनै शहरका राजा हुन पाए त हुँदो हो भन्ने यस्तै परिरहेको थियो। उसै बेलामा ऊ दुवै जैसीले हजुरको मनोकाञ्छ्या अभिलाषा पुग्ला महाराज! भने। मलाई आश्चर्य लाग्यो र मेरा पेटका कुरा कसो गरी जान्यौ र त्यसो भन्यौ भनी मैले भन्दा जसै नेपालमा नजर दिनुभएथ्यो उसै वेला मोचमा बाहुली दिँदा मनमा नेपालको राजा हुन पाए त हुँदो हो भन्ने जस्तो परेछ भनी हजुरमा बिन्ती गरेको हो भने । यो कुरा पुुग्ला भनी मैले भन्दा हजुरले गौ, ब्राह्मण, अतिथि, फकीर, देवदेवताको मान्यता बहुतै राख्नुभएको छ, हाम्रा हातमा सरस्वतीको वरदान छ, हजुरलाई नेपालको राज्य अवश्य हुनेछ भने।’ यो कथनले पृथ्वीनारायणको विशाल नेपालको कल्पनाको तस्विर र मनोविज्ञ भारदारहरूको ढाढसलाई कति मधुर प्राकृत ध्वनिमा ध्वनित भएको देखिन्छ।
२, ‘चेपेको खावा लिगलिगको आड गरी राखेका मेरा तीन वीर छन्। तिनलाई बोलावटको रुक्का लेखन जैसीभन्दा, तिनको नाम के हो भनी सुध्याए र रणजित् बस्न्यात, मानसिंह रोकाहा, वीरभद्र पाठक मैधीमा रातदिन गरी आइपुग भनी लेखी पठाएँ र आइपुगे। तिनछेउ एकान्त गरेँ र भनेँ। दिग्बन्धन सेनसित हाँक दिई आएँ नेपाल पनि देखी आएँ हान्नाको मनसुवा पनि राखी आएँ, तिमीहरू के भन्छौ भनी मैले भन्दा हान्नुहोस् महाराज भनेर सल्लाह दिए। मैले भनें जसै अर्काको छत्रभङ्ग गर्न म जान्छु, मेरो छत्रभङ्ग गर्न अर्को आयो भने कसो होला ? भनी मैले भन्दा हजुरका हात्तीहौवा यी बाईसी चौबीसी आए भने चेपेमा रगतको नदी बहाउँला महाराज भने र एकान्तबाट उठी गोरखा गयौँ।’ यसबाट बुझिन्छ कि पृथ्वीको अदम्य शौर्यता र बफादार भारदारको समुचित
सङ्गठन कति भरपर्दो थियो। अनि कुनै कुराको निर्णय गर्न मपाइँत्व त्यागेर उनको सर्वसम्मतिमा चल्ने उदार भाव कति उच्चकोटिको सुझबुझको प्रतीक भएर मुखर छ।
३, ‘आफ्नो देशको जिनिस जडीबुटी देश (विदेश) लैजानू र नगद खैँचनू। प्रजा मोटा (धनी) भए दरबार बलियो रहन्छ’। उत्पादनवृद्धि, निर्यात प्रवद्र्धन र आयात न्यूनीकरणको कति पोटिलो र तारिफ गर्नलायक सूत्र छ उनको।
४, ‘उप्रान्त यो राज्य दुइ ढुङ्गाको तरुल जस्तो रहेछ’। हाम्रो
भू–अवस्थितिको कति वास्तविक चित्रण छ यसमा। हाम्रो परराष्ट्रनीतिको स्वरूप कस्तो हुनुुपर्छ भन्ने सटीक विम्ब छ यसमा।
५, चीनका वादशाहसित ठूदो घा (सम्झौता वा सन्धि) राख्नू, दख्खिनका समुद्रका वादशाहसित घा त राख्नू तर त्यो महाचतुर छ। हिन्दुस्तान दबाइरहेछ। सरजमीनमा परिरहेछ। हिन्दुस्तान जम्यो(मिल्यो) भने कठिन पर्ला भनी किल्ला खोज्न आउनेछ । सन्धिसर्पन हेरी गढी तुल्याई राख्नू र रस्तारस्तामा भाँजा हालिराख्नू। एक दिन त्यो बल आउनेछ। जाई (गई) कटक(लडाइँ) नगर्नू, झिकी कटक गर्नू। चूरेघाँटीमा खूपै काटिनेछ। पाँचसात पुस्तालाई खजाना पनि मिल्नेछ। श्रीगङ्गाजीको साँध पनि लाग्न्यै छ। लडाइँमा पुगेन भने लालोपोतो र अनेक कलछल गरीकन पनि आउनेछ’
यसरी भावी दूूरदूूरान्तसम्मका नेपाली सन्ततिलाई होसियार, जागा र सचेतना दिने छिमेकनीति उनको खरो अनुभव, बाउन्न थप्पड र त्रिपन्न घुस्साकै परिणति हो।
मुलुकको हर पक्षमा आफ्ना भोगाइ, अनुभव, शास्त्रवचन, सज्जनका सहमति विदेशीका तिकडम बाउन्नभन्दा बढी राजाहरूको व्यवहार सबैको गहिरो अध्ययन, चिन्तन र मननबाट प्रत्युत्पन्न पृथ्वीनारायणका यी वाणी सार्वकालिक समयका मुलुकको उत्तरदायित्व लिने पात्रका लागि गीताहार हुन्, गायत्री मन्त्र हुन् र दिव्य उपदेश सङ्ग्रह पनि। यो ग्रन्थ र पृथ्वीनारायणको चरित्र नेपालको अस्तित्व बचाउने नारायण कबचकै प्रतिरूप हो। त्यसैले त राष्ट्रगुरु योगी नरहरिनाथकै सक्रियतामा २००९ सालबाट थालनी भएको पृथ्वीजयन्ती तथा राष्ट्रि«य एकता दिवसले तीन सय एकौँ वर्ष प्रवेश गरेको छ (३०१ औँ) यो पावन तिथिमा महान् योद्धा, प्रखर राष्ट्रवादी सुशासक, नेपाल एकीकरणका महानायक एवं युगपुरुषमा मेरो भावपूर्ण श्रद्धाञ्जलि! उनको दिव्योपदेश पृथ्वीगीताको उम्दा पठनीय, चिन्तनीय र मननीय ग्रन्थ हो!!