• ११ पुस २०८१, बिहिबार

बन्दीपुरमा मिनी ग्रेटवाल

blog

बन्दीपुरमा बन्दै गरेको मिनी ग्रेटवाल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर ९ गते । पहाडकी रानी उपनामले प्रख्याति कमाएको बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न चीनको ग्रेटवालको झल्को दिने गरी ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजना अनुरूप गाउँपालिकाद्वारा मिनी ग्रेटवाल निर्माणलाई तीव्रता दिइएको हो । 

तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइँ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२, थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति लिएको हो । यो पदमार्गलाई ‘मिनी ग्रेटवाल’ का रूपमा समेत प्रचारप्रसार गरिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिने छ । आगामी दिनमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोडिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । 

थापाका अनुसार तदारुकताका साथ हाल काम भइरहेको छ । हाल दुवैतर्फ पर्खाल लगाउने, सिँढी बनाउने, पर्खालको दायाँबायाँ भित्तामा स्लेट ढुङ्गा छाप्नेलगायत काम भइरहेको छ । थापाले भन्नुभयो, “ठेकेदारको काममा ढिलाइ भएको थियो । गाउँपालिकाले ताकेता गरेसँगै अहिले कामको गति बढेको छ ।” 

पदमार्गको दुरी दुई किलोमिटर रहेको र ८० प्रतिशत काम पूरा भएको थापाले जानकारी दिनुभयो । यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड लागत योजना बनाइएको छ । 

थापाका अनुसार यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना छ ।  

विश्वको प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने थापाले विश्वास व्यक्त गर्नुभयो । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहने छ । बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपियाँ लागत अनुमान गरिएको अध्यक्ष थापाले बताउनुभयो । 

यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना छ । विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । 

काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रका बिचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । पश्चिमको धवलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ हिम शृङ्खलाका सयौँ चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ । ढुङ्गाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रो बाटो, थानीमाई खड्गमाई, विन्ध्यवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, सहिद पार्कलगायत बन्दीपुरका आकर्षण हुन् । 

बजार वरपर गुरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । नेपालको उत्कृष्ट हिल स्टेसन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँजात्रा, लाखे नाचका लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि प्रख्यात ठाउँ हो ।