• ६ असार २०८२, शुक्रबार

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि

blog

दैलेख, भैरवी गाउँपालिकाको जलजलेस्थित मिथेन ग्यास अन्वेषण स्थल । फाइल तस्बिर

लक्ष्मी सापकोटा/यामराज विष्ट

काठमाडौँ/दैलेख, असार ६ गते । मुलुकमा वार्षिक ५५ अर्ब रुपियाँ बराबरको पाँच लाख मेट्रिक टनभन्दा बढी खाना पकाउने एलपी ग्यास आयात भइरहेको बेला त्यसलाई प्रतिस्थापन गर्न सक्ने गरी स्वदेशमै प्राकृतिक ग्यास फेला परेको छ । 

चाइना जिओलोजिकल सर्भेको अध्ययनले दैलेखको भैरवी गाउँपालिकास्थित जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको देखाएको हो । सन् २०१९ देखि अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक अध्ययनले नेपाललाई ५० देखि ६० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको देखाएको हो । प्राकृतिक ग्यासको उत्पादनमा गई प्रयोगमा आउन थालेपछि एलपी ग्यासको आयातलाई विस्थापन गर्न सक्ने देखिएको छ । 

अध्ययनको प्रारम्भिक प्रतिवेदनले एक वर्षभित्रमा उत्पादन परीक्षणमा जान सक्ने देखाएको छ । चीन सरकारको अनुदानमा दुई अर्ब १७ करोड रुपियाँ लागतमा छ वर्ष लगाएर सो अध्ययन गरिएको थियो । खानी तथा भूगर्भ विभागमार्फत चिनियाँ अध्ययन टोलीले प्राकृतिक ग्यास रहेको फेला परेको जानकारी हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई गराएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अध्ययनको विस्तृत प्रतिवेदन आइसकेपछि एक वर्षभित्रमा उत्पादन र परीक्षणको काम सुरु गरिने जानकारी दिनुभयो । “दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास भएको पुष्टि भएको छ । उत्पादन र प्रशोधनका लागि थप लगानी गर्नुपर्ने छ । यसका लागि अर्थमन्त्रालयमार्फत चिनियाँ सरकारलाई अनुरोध गर्छौं,” मन्त्री भण्डारीले भन्नुभयो ।

विस्तृत प्रतिवेदन आइसकेपछिको ७५ दिनमा ग्यासको प्रारम्भिक उत्पादनको काम सुरु गरिने उहाँले जानकारी दिनुभयो । प्रचुर मात्रामा उच्च गुणस्तरको प्राकृतिक ग्यास देखिएकाले जति सक्दो उत्पादन तथा प्रशोधनको प्रक्रिया अगाडि बढाउनेसमेत मन्त्री भण्डारीले जानकारी दिनुभयो । यसले ठुलो परिणामको ग्यास आयातलाई समेत प्रतिस्थापन गर्न सक्ने अनुमान गरिएको मन्त्री भण्डारीको भनाइ छ । 

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिनेशकुमार नापितले प्रारम्भिक अध्ययनले वातावरणमैत्री ठुलो मात्रामा प्राकृतिक ग्यास फेला परेको जानकारी दिनुभयो । ८५ अर्ब अमेरिकी डलर बराबरको प्राकृतिक ग्यास रहेको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । संसारभर यसको प्रयोग भइरहेको छ । यो नेपालका लागि नयाँ भए पनि एलपिजी ग्यासको तुलनामा वातावरणमैत्री रहेको उहाँको भनाइ छ । पेट्रोलियम लिक्विड तेल नभई ठुलो मात्रामा प्राकृतिक ग्यास भेटिएको र त्यसमा करिब ९० प्रतिशतभन्दा बढी मिथेन ग्यास रहेको उहाँको भनाइ छ ।

यो ग्यास विशेष गरी खाना पकाउन, उद्योगहरू सञ्चालन गर्न, बिजुली बाल्न र अटोमोबाइल सञ्चालन गर्नका लागि उपयुक्त हुने बताइएको छ । प्रारम्भिक अध्ययन प्राप्त भएसँगै परीक्षणका लागि विभागले प्रक्रिया अघि बढाइरहेको जनाएको छ । चीनले अध्ययनसँगै ग्यासको परीक्षण पनि आफैँले गर्नका लागि प्रस्तावसमेत गरेको मन्त्रालयले जनाएको छ । 

प्राकृतिक ग्यास अन्वेषण गर्नका लागि हालसम्म चार हजार १३ मिटर ड्रिल गरिएको र जहाँ ९० प्रतिशतभन्दा बढी मिथेन ग्यास रहेको पाइएको अध्ययनले देखाएको छ । यसको व्यावसायिक उत्पादनका लागि हाल सञ्चालनमा भइरहेको कम्पनी, नयाँ कम्पनी खोल्नुपर्ने र निजी क्षेत्रलाई  उत्पादन गर्न दिनुपर्ने हुन्छ । 

सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गरिदिने समझदारी भएको थियो । यस्तै सन् २०१७ अगस्टमा चीनसँग पेट्रोलियम पदार्थ अध्ययनका लागि सहयोग गर्ने सम्झौता भएको थियो । सन् २०१९ फेब्रुअरीमा कार्यान्वयनका लागि खानी तथा भूगर्भ विभाग र चाइना फिजियोलोजी सर्भेसँग सम्झौता भएको थियो । सर्भेको प्रारम्भिक अध्ययनको प्रतिवेदन बुझाउने अवधि सन् २०२५ को डिसेम्बरसम्म रहेको छ । 

यसैबिच थप तीन स्थानमा पनि ठुलो मात्रामा प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ । दाङ, पाल्पा र सुनसरीमा करिब ४३० अर्ब घनमिटर ग्यास रहेको विभागको अनुमान छ । यसको अध्ययन गर्न भने बाँकी छ । 

यसरी भयो अन्वेषण

चीनको सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङका लागि चार हजार १३ मिटर गहिराइसम्म खनेको थियो । चिनियाँ जियोलोजिकल सर्भे कम्पनीबिच उत्खनन गर्न दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगको सम्झौता भएको थियो । चाइना जिओलोजिकल सर्वे कम्पनीले सन् २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । सङ्घीय सरकारले पेट्रोलियम पदार्थको अन्वेषणको काम अघि बढाउन ४५ रोपनी जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो ।