विनय कर्ण
कल्याणपुर (सप्तरी), असार २६ गते । सप्तरीको सुरुङ्गा नगरपालिकाले यस आर्थिक वर्षमा ७८ दश्मलव ४७ प्रतिशत बजेट खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा विनियोजित बजेटको ७८ दश्मलव ४७ प्रतिशत खर्च भएको सार्वजनिक गरेको हो । यसरी सप्तरीका स्थानीय तहमध्ये एक आर्थिक वर्षमा भएको खर्च विवरण सार्वजनिक गर्ने सुरुङ्गा नै पहिलो नगरपालिका हो ।
चालु तर्फ ४७ करोड ७६ लाख चार हजार दुई सय ४६ रुपियाँ बजेट विनियोजन गरिएकोमा ४० करोड ३३ लाख तीन सय ३८ रुपियाँ गरी ८४ दश्मलव ४४ प्रतिशत बजेट खर्च भएको छ ।
यस्तै, पुँजीगत तर्फ २६ करोड २३ लाख ४७ हजार तीन सय ५५ रुपियाँ बजेट विनियोजन गरिएकोमा १७ करोड ७३ लाख ८३ हजार पाँच सय ५९ रुपियाँ गरी ६७ दश्मलव ६१ प्रतिशत बजेट खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।
“सुरुङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेटको खर्च गर्ने कार्य सम्पन्न भइसकेकोले खर्च विवरण सार्वजनिक गरिएको छ” नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।
सुरुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले चालु आर्थिक वर्षमा चालु र पुँजीगत गरी कूल ७८ दश्मलव ४७ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । उहाँले टेण्डर प्रक्रियामा गएका योजनाहरुको काम भइरहेका कारण भुक्तानी दिन बाँकी रहेकाले पुँजीगत तर्फ खर्च केही कम देखिएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा नगरपालिकाले ल्याएको नीति कार्यक्रम अनुसार लक्ष्य प्राप्त हुने गरी काम सम्पन्न भएको नगरप्रमुख गीता चौधरीले बताउनुभयो । “नगरपालिकाले यस आर्थिक बर्षका लागि ल्याएको नीति तथा कार्यक्रम अनुसार लक्ष्य प्राप्त हुने गरी काम सम्पन्न भएको र भुक्तानी दिइएको हो” नगरप्रमुख चौधरीले भन्नुभयो ।