• २६ असार २०८२, बिहिबार

श्रमदान गरी मन्दिर र चौतारी निर्माण

blog

इस्मा गाउँपालिका –५ रजस्थलको द–ग्यालेक्सी युवा क्लवले निर्माण गरेका मन्दिर तथा चौतारी । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, असार २६ गते । गाउँमा झराली अर्थात श्रमदान प्रथा दुर्लभ बन्यो । आफ्नै मानो खाएर महिनौ सडक खनेका पुस्ता अझै समाजमा छन् । आफ्नो समुदायका काम आफैले मिलेर गर्दा खर्च हुन्थेन्, अपनत्व धेरै थियो । अहिले सामाजिक काममा कसैको रुची छैन । 

सडकको भल तर्काउन पनि सरकारको मुख ताक्ने प्रवृत्तिकाबिच इस्माको एउटा क्लवले बर्सौदेखि उदाहरणीय सामाजिक काम गर्दैआएको छ । इस्मा गाउँपालिका –५ इस्मारजस्थलको द–ग्यासेक्सी युवा क्लवले ‘३६४ दिन आफ्ना लागि एक दिन समाजका लागि’ भन्ने अभियानमार्फत सामाजिक कामहरुमा अग्रसरता देखाएको छ ।

२०६६ सालमा स्थापना भएको क्लव जीर्ण लालकुमारी मन्दिर संरक्षणका लागि २८ जनाले २५ दिन श्रमदान गरेका छन् । मन्दिरको प्लाष्टर, रङरोगन, बिद्युत जडान, दानपात्र, रिटेलिङ्ग वाल, गेट र रेलिङ्गसहितको सिंढी निर्माण गरिएको क्लवका पूर्व अध्यक्ष विकाश बिष्टले जानकारी दिनुभयो । 

क्लवले आगामी दिनमा ट्रस निर्माण गर्ने योजना बनाएको छ । मन्दिर व्यावस्थापनका सामग्रीका लागि तुल्सी बस्नेतको स्मृतिमा मुमा बस्नेतसहितको परिवारले ४५ हजार रुपियाँ, चुनाकुमारी बिष्टको स्मृतिमा दुजमान बिष्टको परिवारले मन्दिरको गजुर तथा चारसुर (चौकोस) मा काँसको पाता, यमुना महत, विपिन किरण पाण्डे, ज्ञानकुमारी थापा र कृष्ण थापाले घण्ट सहयोग गरेको पूर्व अध्यक्ष बिष्टले बताउनुभयो । 

अभियानमा संकलन भएको तीन लाख ५२ हजार ६२३ रुपियाँमध्ये मन्दिरमा दुई लाख २७ हजार ७९० रुपियाँ खर्च भएको क्लवका अध्यक्ष डेमबहादुर बिष्टले जानकारी दिनुभयो । व्याडीपोखरी र दोबाट डाँडामा चौतारी निर्माण तथा अँधेरीखोला, सिख्रे, भिरपानी, ओख्ले र रातापोखरा पँधेरो सरसफाई गरिदैआएको अध्यक्ष बिष्टले बताउनुभयो । 


क्लवले प्रत्येक बर्ष ज्येष्ठनागरिक सम्मान, सिद्ध प्राविका गरिव तथा जेहेन्दार बिद्यार्थीलाई सहयोग, तीज गीत प्रतियोगीता र कोभिड–१९ को बेला बिद्यालयमा माक्स वितरण पनि गरेको जनाएको छ । अहिलेसम्म निर्माण, मर्मत र सरसफाई गरिएका सार्वजनिक संरचना स्वतःस्र्फूत रुपमा गरिएको श्रमदानबाट बनाइएको बिष्टले बताउनुभयो ।

इस्मा गाउँपालिका –५ का ५० बर्षीय गुञ्जमान बिष्टसँग श्रमदान गरेका थुप्रै अनुभव छन् । सञ्चालन खर्च नहुँदा सरकारी बजेट बिद्यालयमा राखेर कैयौं पटक श्रमदान गरेर सडक खनिएको बिष्टले बताउनुभयो । आफुहरुले श्रमदान गर्ने प्रवृतिलाई क्लव मार्फत बचाएर राख्न सकेको बिष्टले बताउनुभयो । यो अभियानमा बच्चादेखि ८४ बर्षसम्मका बृद्धहरुको सहयोग र उर्जा रहेको उहाँले बताउनुभयो ।