बबई समाचारदाता
बबई (बर्दिया), असार २६ गते । बर्दियाको बारबर्दिया नगरपालिका–१०, गुमस्ताका ५५ वर्षीय रुन्चे चौधरी र उहाँकी श्रीमती हिरामोती चौधरीको आँखामा आँसुका भेल थामिएको छैन । यतिबेला बारबर्दिया नगरपालिकाको गुमस्तागाउँ नै शोकमा छ । मङ्गलबार बिहान भोटेकोशीमा आएको बाढीमा ३३ वर्षीय छोरा जिपन चौधरी बेपत्ता भएपछि उहाँको परिवारमा वज्रपात परेको छ । जिपनसँगै बर्दियाबाट कामका लागि रसुवा पुगेका बारबर्दिया नगरपालिका–१०, फेनापतिका ३२ वर्षीय सन्तोष दहित, २५ वर्षीय बुद्धिराम चौधरी, बारबर्दिया–९ का ३० वर्षीय सुरेश थारू र बढैयाताल गाउँपालिका–६, भदहीका २१ वर्षीय लक्ष्मीनारायण थारू मङ्गलबार रातिको बाढीमा परेर बेपत्ता भएपछि अहिले पूरै बारबर्दिया नगरपालिका शोकमा डुबेको छ । कमाउन गएका छोरा बेपत्ता भएपछि परिवार विक्षिप्त बनेको छ ।
मङ्गलबार बिहान घरमा बसिरहेका जिपनका बाबु रुन्चे चौधरीलाई वडा नं. २ का मानिसले छोराको मोबाइल नम्बर सोधेपछि छोरा बेपत्ता भएको खबर पाउनुभएको थियो । मङ्गलबार राति १० बजे गर्भवती श्रीमती अनिता चौधरीसँग फोन सम्पर्क गर्नुभएका जिपन बेपत्ता भएपछि परिवारमा वज्रपात परेको छ । पाँच वर्षपहिला कामको सिलसिलामा भोटेकोशी पुगेका जिपन गत चैतमा पुनः भोटेकोशी गएको परिवारले जनाएको छ । जिपनसँगै बाढीमा बेपत्ता हुने सन्तोष दहित जिपनका जेठान हुनुहुन्छ भने बुद्धिराम चौधरी जिपनका साला पर्नुहुन्छ । एउटै परिवारभित्रका तीन जनालाई बाढीले बगाएपछि अहिले गाउँ मात्र होइन, बारबर्दिया नगरपालिका नै शोकमा डुबेको छ ।
पाँच वर्षदेखि परिश्रम गरेर काम गरेर पैसा कमाएर उहाँले श्रीमतीका लागि पसल खोल्नुभएको थियो । जिपनका बुवा रुन्चे चौधरीले चैतमा काममा जाँदा परिवारलाई सहज होस् भनेर पसल सञ्चालन गरेर गएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सबै बन्द छ ।” उहाँकी श्रीमती अनिता चौधरीले कामका लागि रसुवा पुगेका जिपनले सोमबार राति श्रीमतीलाई फोन गरेर स्वास्थ्यको ख्याल राख्न भन्नुभएको बताउनुभयो । श्रीमतीसँगको त्यो फोन नै जिपनको अन्तिम फोन भयो । जिपनकी आमा हिरामोती चौधरीले परिवार पालनपोषणको जिम्मेवारी बोकेको छोरा बाढीमा बेपत्ता भएको खबरले परिवारमा ठुलो वज्रपात परेको बताउनुभयो ।
मिजासिलो स्वभाव भएका जिपन बेपत्ता भएको खबरले आफू विक्षिप्त भएको उहाँका स्कुलका साथी विश्वास सिंहले बताउनुभयो । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले मङ्गलबार बिहान बाढीबाट बेपत्ता भएका परिवारको स्थायी ठेगाना पत्ता लगाउने काम भइरहेको बताउनुभयो ।