काठमाडौँ, असार २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीन सरकारसँग पनि समन्वय गर्नुपर्ने धारणा राख्नुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मनसुनजन्य विपद्को लागि पूर्वतयारी र व्यवस्थापनसम्बन्धी, २०८२ का सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री खड्काले नेपालका अधिकाशं नदी चीनबाट बहने भएकाले बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।
“पानी परेको देखिँदैन, ताल फुटेको देखिँदैन तर रसुवाको भोटेकोशीमा एक्कासी ठूलो बाढी आएको छ, मौसम विभागमा ‘साइरन सिस्टम’ जडान भएको भए समयमै सूचना थाहा पाउन र क्षति न्यूनीकरण गर्न सकिन्थ्यो,” उहाँले भन्नुभयो । मन्त्रालयमा डाटा र प्रविधि आवश्यक रहेको कुरा बेलाबेलामा हुने गरेपनि डाटा नहुँदा समस्या भएको उहाँको भनाइ थियो ।
ऊर्जामन्त्री खड्काले नेपालमा रहेका हिमतालको संरक्षणलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । चीनमा भएका हिमताल फुट्दा नेपालमा जोखिम बढ्नसक्ने भएकाले चीनसँग समन्वयको खाँचो रहेको उहाँको भनाइ थियो ।
“सरकासँग स्रोतको कमी छ, हामी सबैलाई पूर्वसूचना चाहिएको छ, हामीले निर्माण गर्ने जलविद्युत्देखि सिँचाइका नहरमा सम्बन्धित कार्यालयले नै पूर्वसूचना केन्द्र जडान गर्नसके क्षति न्यूनीकरणमा सहयोग पुग्थ्यो,” उहाँले भन्नुभयो । उहाँले विपद् सधै आउने भएकाले त्यसको पूर्वतयारीका लागि मन्त्रालयस्तरबाट एउटा समिति बनाएर अगाडि बढ्न निर्देशनसमेत दिनुभयो ।
मन्त्री खड्काले बाढीपहिरोबाट क्षति भएका संरचनाको पुनःनिर्माणका लागि चाहिने आवश्यक सामग्री भन्सार छुटमा खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग छलफल गरिने उल्लेख गर्नुभयो । उहाँले देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभयो ।
मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले मन्त्रालयभित्रको विपद्को कामलाई एकीकृत ढङ्गले अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले विपद्जन्य घटनाको पूर्वसूचनाका लागि हिमाली र पहाडी क्षेत्रमा ‘स्टेशन’ थप्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्रले विपद् न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । हिमनदीमा हुने बाढीबारे पूर्वसूचनाका लागि चीनको जल तथा मौसम विज्ञानसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य सहभागी छलफलमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रसुवाको भोटेकोशीमा आएको बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले रसुवागढी, चिलिमे, त्रिशुली थ्री बीलगायतका जलविद्युत् केन्द्र र सवस्टेशनमा बाढीले ठूलो क्षति पुगेको जानकारी गराउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मनसुनजन्य विपद्को लागि पूर्वतयारी र व्यवस्थापनसम्बन्धी, २०८२ बारे जानकारी गराउँदै मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
उहाँले विपद्बारे समयमै पूर्वसूचना उपलब्ध गराउन सकिए क्षति न्यूनीकरणमा सहयोग पुग्ने उल्लेख गर्नुभयो । सहसचिव आचार्यले मौसम पूर्वानुमान महाशाखाको, सुरक्षा निकाय तथा गृह मन्त्रालयको सूचना, माथिल्लो क्षेत्रका जनता, स्थानीय तहको सूचनालाई पच्छाउन सके विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो ।