गुरुपूर्णिमा, जसलाई व्यास पूर्णिमा, गुरु पूजा वा व्यास जयन्ती पनि भनिन्छ, हिन्दु धर्म, दर्शन र संस्कृतिको एक महìवपूर्ण पर्व हो, जुन प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन मनाइन्छ । गुरुपूर्णिमा शिक्षाका आदिपुरुष महर्षि वेदव्यासको स्मृति दिवसका रूपमा र गुरु तत्वको उपासना गर्ने पर्वका रूपमा स्थापित छ । गुरु भन्नाले केवल औपचारिक शिक्षा दिने मात्र होइन, अज्ञान अन्धकारमा डुबेका प्राणीहरूलाई ज्ञान प्रकाश प्रदान गर्ने, जीवनपथ देखाउने, आध्यात्मिक उन्नतिको द्वार खोल्ने, चेतनाको उज्यालोतर्फ उन्मुख गराउने व्यक्तित्वसमेतलाई बुझ्नु पर्छ ।
गुरुगीतामा गुरु शब्दको परिभाषा/व्याख्या निम्न अनुसार गरिएको छ :
गुकारश्चान्धकारः स्यात् रुकारस्तन्निरोधकः ।
अन्धकारनिरोधत्वात् गुरुरित्यभिधीयते । । (गुरुगीता,१६)
‘गु’ शब्दले अन्धकार जनाउँछ र ‘रु’ शब्दले त्यो अन्धकारको नाश गर्ने प्रकाश वा ज्ञान जनाउँछ । जुन व्यक्तिले अज्ञानरूपी अन्धकार हटाई ज्ञानको प्रकाश फैलाउँछ, उही नै गुरु हो । गुरुको स्थान सनातन परम्परामा उच्च रहेको छ । श्वेताश्वतर उपनिषद्मा उल्लेख गरिएको छः
यस्य देवे परा भक्तिः यथा देवे तथा गुरौ ।
तस्यैते कथिता ह्यर्थाः प्रकाशन्ते महात्मनः ।। (श्वेता. ६. २३)
अर्थात् जसले देवतामा जस्तो भक्ति र श्रद्धा गुरुमा गर्छ, त्यसका लागि वेदान्त (ज्ञान) का सम्पूर्ण रहस्य प्रकट हुन्छन् । अतः गुरुको महìव ईश्वर बराबर छ भन्ने कुरा स्थापित हुन्छ । वास्तवमा गुरु नै त्रिदेवस्वरूप हुन् भन्ने विषयमा स्कन्द पुराणको काशीखण्ड एवं गुरुगीतामा बताएको छ :
गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।। (गुरुगीता, १)
यस श्लोकमा गुरुलाई ब्रह्मा (सिर्जनकर्ता), विष्णु (पालक), र महेश (संहारकर्ता) का रूपमा वर्णन गरिएको छ । साथै गुरु परब्रह्म स्वरूप हुन् भनेर आत्मसाक्षात्कारको साक्षात् स्रोतका रूपमा गुरुलाई लिइएको छ । गुरुपूर्णिमा महर्षि वेदव्यासको जन्मजयन्ती पनि हो । वेदव्यास ऋषिले चार वेदलाई वर्गीकरण गरेर सम्पूर्ण वैदिक ज्ञानलाई व्यवस्थित रूपमा प्रस्तुत गर्नु भयो । साथै, उहाँले महाभारत, अठार पुराण, ब्रह्मसूत्र, श्रीमद्भागवत जस्ता महाग्रन्थहरू लेख्नुभयो ।
शास्त्रीय भनाइ छ : ‘व्यसोच्छिष्टं जगत्सर्वं ।’ (स्कन्द पुराण, २।३९) अर्थात् यो सम्पूर्ण जगत् वेदव्यास ऋषिको उच्छिष्ट हो, किनभने उहाँले ज्ञानका हरेक शाखामा प्रवेश गर्नुभएको छ । शास्त्रमा विद्यागुरु, दीक्षागुरु र सद्गुरु गरी तीन प्रकारका गुरुका विषयमा उल्लेख गरिएको छ । विद्यागुरुबाट विद्या, ज्ञान वा सिप प्राप्त गरिन्छ, जसमा माता, पिता, शिक्षक आदि पर्छन् । दीक्षागुरुबाट आध्यात्मिक दीक्षा प्राप्त गरिन्छ–जसले यज्ञोपवित, मन्त्र वा धर्ममार्गमा दीक्षित गर्छन् । सद्गुरु भनेका ती हुन्, जसले आत्मज्ञान, ब्रह्मबोध र मोक्षको मार्गमा अगाडि बढाउँछन् । गुरुको वाणी नै मन्त्र हो र मोक्ष पनि गुरुकै कृपाबाट सम्भव हुन्छ । गुरुले दिइरहने उपदेश मात्र शब्द होइन, त्यो जीवन बदल्ने मन्त्र हो । जसले सद्गुणहरूको विकास गराउँछ, जीवनमा विवेक ल्याउँछ र व्यक्तिलाई स्वधर्म र आत्मकर्तव्यतर्फ उन्मुख गराउँछ । गुरुले आत्मज्ञान प्रदान गरेर अनन्त जन्ममा बाँधिएका कर्मबन्धन काटिदिन्छन्, यसैले गुरुको कृपा जीवनमुक्तिका लागि अपरिहार्य मानिएको छ । त्यसैले हामीले गुरुप्रति सम्मान र पूजा गर्छौं ।
गुरुगीतामा भनिएको छ– ‘गुरुपूर्णिमाको दिन केवल पूजा, आरती, सत्संग र भजनमा सीमित हुनु पर्दैन । यो दिन आत्मपरीक्षण, गुरुका वचन स्मरण, जीवनमा गुरुवाक्यको अनुसरण कति भएको छ भन्ने विषयमा निर्मम समीक्षा गर्नु पर्छ । ज्ञान केवल सम्झनाका लागि होइन, आचरणमा उतार्नका लागि हो । गुरु तत्व एक स्त्री वा पुरुषको नाम होइन; त्यो चेतना, प्रकाश, विचार, पथप्रदर्शन र आत्मप्रेरणा हो । जसले जीवनको दिशाहीनतालाई दिशा दिन्छ, अन्धकारलाई उज्यालोमा बदल्छ । गुरु नै सर्वोच्च तीर्थ हुन्, गुरु नै परमदेवता हुन्, गुरु नै शिष्यको हितका चिन्तक र मार्गदर्शक पनि हुन् ।’
गुरु एक सजीव परम्परा हुन् । वैदिक कालदेखि हालसम्म गुरु–शिष्य परम्पराको निरन्तरता कायम छ । यिनै परम्पराले ज्ञानको अक्षुण्ण प्रवाहलाई सम्भव बनाएको हो । आधुनिक विश्वमा इन्टरनेट, प्रविधि र सहज उपलब्ध सूचनाको युगमा पनि गुरुको आवश्यकता अन्त्य भएको छैन, बरु गुरु र ज्ञान प्राप्तिका लागि सहज भएको छ ।आजको समयमा जहाँ अनेक ज्ञान, विचार र सूचनाको बाढी आइरहेको छ, त्यहाँ सत्य, तथ्य र तत्वको छिनोफानो गरिदिने व्यक्तित्व चाहिन्छ । त्यो कार्य सद्गुरुले मात्रै गर्न सक्छन् । जुनसुकै धर्म या समुदायको भए पनि गुरुबिना पूर्ण ज्ञान सम्भव छैन । गुरुको दीक्षाबिना विद्या अधुरै रहन्छ, धर्म अपूरो हुन्छ र जीवन दिशाहीन बन्छ । ज्ञानमा प्रवेश गर्नुलाई दीक्षा भनिन्छ । ‘दी’ भनेको बुद्धि हो, ‘क्षा’ भनेको क्षितिज वा अन्त्य हो । दीक्षा भनेको बुद्धिभन्दा पर जानु हो, शिक्षा भनेको अनुशासनको क्षितिज हो – पूर्ण अनुशासन ।
शिक्षकहरूले पढाउनुहुन्छ । गुरुहरूले दीक्षा दिनुहुन्छ । दीक्षामार्फत गुरुले बुद्धिभन्दा बाहिरको संसारमा लैजानुहुन्छ । बुद्धिभन्दा पर पुग्नु नै दीक्षा हो । बुद्धिभन्दा पर जान सकिएन भने न मुस्कुराउन सकिन्छ न त हाँस्न नै सकिन्छ । ‘दीक्षा’ बाट नै खुसी, आनन्दित र सन्तुष्ट बन्न सकिन्छ र वास्तविक ज्ञानको तिर्खा मेटिन्छ । शिक्षालाई अनुशासनको पूर्णता मानिन्छ भने दीक्षालाई बुद्धिको पूर्णता । दीक्षा मनबाट हृदयसम्मको यात्रा हो । त्यसैले शिक्षाको लागि अनुशासन आवश्यक हुन्छ भने दीक्षाका लागि ध्यानको आवश्यक हुन्छ । तसर्थ गुरुपूर्णिमाको दिन हामीले केवल आफ्ना गुरुहरूलाई सम्झने मात्र होइन, भावी पुस्तालाई पनि गुरुत्वको महìव सिकाउन प्रेरित गर्नु पर्छ । बालबालिका, विद्यार्थी, युवा र साधकहरूलाई यसदिन विशेष शिक्षाको महत्व, श्रद्धा, आत्मसमर्पण र साधनाको अर्थ बुझाउनु पर्छ ।
हामीले जीवनमा पाएका शिक्षाहरू, मार्गदर्शन, संस्कार र अनुशासन सबै गुरुदेवहरूको अमूल्य योगदान हो । त्यसैले यो दिन केवल गुरुप्रति ‘धन्यवाद’ भनौँ मात्र होइन– गुरुले देखाएको मार्गमा लागौँ, समाजमा ज्ञानको दीप प्रज्वलन गरौँ र आगामी पुस्तालाई शिक्षित, संस्कारी र विवेकी बनाउने प्रतिज्ञा गरौँ । यस गुरुपूर्णिमाका अवसरमा गुरुले दिएको ज्ञान, व्यवहार, नीति र साधनालाई जीवनमा उतारेर सच्चा गुरुदक्षिणा हामी सबैले प्रदान गर्न सकौँ । सम्पूर्ण गुरुजन, माता–पिता, शिक्षकगण, आध्यात्मिक आचार्य एवं तìवज्ञान दिने सद्गुरुप्रति कोटिशः नमन ।