हरिप्रसाद कोइराला
उर्लाबारी, असार ६ गते । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सञ्चारकर्मीहरूको सहयोग बिना कोशी प्रदेश पर्यटन वर्ष २०८२ सफल बनाउन नसकिने बताउनुभएको छ ।
शुक्रबार मोरङको लेटाङमा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रायलको पर्यटन कार्यालय धरानको सहयोगमा भएको पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री मण्डलले यस्तो बताउनुभएको हो । मन्त्री मण्डलले कोशी प्रदेशमा धार्मिक पर्यटनको उच्च सम्भावना रहेको उल्लेख गर्दै धार्मिक पर्यटनका माध्यमबाट राष्ट्र पुँजी निर्माण गर्न सकिने बताउनुभयो । उहाँले हामीसँग भएका रामसार क्षेत्र, आरक्षण क्षेत्रको प्रचार हुनसके भारत र तेस्रो देशबाट आउने पर्यटकको सङ्ख्या बढाउन सकिने उल्लेख गर्नुभयो ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीले लेटाङलाई पर्यटकीय सहर बनाउन सकिने बताउनुभयो । कोशी प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्ने उल्लेख गर्दै नगर प्रमुख लावतीले लेटाङमा देशकै एकमात्र अन्तरधार्मिक शान्ति पार्क रहेको बताउनुभयो ।
लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी पोख्रेलले लेटाङमा साल फुल्ने तराईदेखि गुराँस फुल्ने उच्च पहाडी भाग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै सम्भावना भए पनि स्रोतको अभावमा लेटाङका पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन सकेको छैन ।’’
मन्त्रालयका सचिव विशाल घिमिरेले कोेशी प्रदेशमा संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा र नेपालको सबैभन्दा होचो भुभाग केचनाकवल रहेकोले पर्यटनका लागि अरु प्रदेश भन्दा महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले पर्यटनको सुरक्षा, होटल ब्यवस्थापन, गाइडहरू र यातायातको व्यवस्थापनमा कोशी प्रदेश सरकारले विशेष व्यवस्था गरिरहेको बताउनुभयो ।
सचिव घिमिरेले मुख्य पर्यटकीय गन्तव्यहरू कोशीटप्पु, सगरमाथा राष्ट्रिय निकुञ्ज, आरक्ष क्षेत्रहरू, सामसार क्षेत्र, मुन्धुममार्ग र धार्मिक पर्यटन क्षेत्रमा पर्यटनहरूका लागि सहयोग कक्ष राख्ने बताउनुभयो । भारतका तीन वटा प्रान्त सिक्किम, पश्चिम बङ्गाल र विहारसँग सिमाना जोडिएको कोशी प्रदेशले भारत लक्षित पर्यटकहरूलाई मात्र सहभागी गराउन सके लक्ष्य पूरा हुने बताउनुभयो । भारतमा प्रचण्ड गर्मी हुँदा मोरङकै जेफाले, समला, रमितेको वातावरण चिसो हुने बताउँदै उहाँले सञ्चारकर्मीहरूलाई यि क्षेत्रको प्रचारप्रसारमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठकको सभापतित्वमा भएको तीन दिने तालिमको उद्घाटन समारोहमा कोशी प्रदेश पर्यटन, निर्देशन समितिका सदस्य फडिन्द्र अधिकारी, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सचिव अरविन्द मेहताले शुभकामना दिनुभएको थियो ।
तालिममा कोशी प्रदेशका दस जिल्लाका ४५ जना पत्रकारको सहभागिता रहेको छ ।