• २९ असार २०८२, आइतबार

सातदोवाटोको पोस्ट्मा मच्छिन्द्रको दर्जन गोल

blog

बल खोस्ने प्रयास गर्दै मच्छिन्द्र र सातदोवाटोका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, असार २९ गते । मच्छिन्द्र क्लबलले एन्फा यु–१६ युथ लिगमा सातदोवाटो युवा क्लबविरुद्ध दर्जन गोल गरेको छ । 

एन्फा मैदान सातदोवाटोमा आइतबार भएको खेलमा मच्छिन्द्रले सातदोवाटोलाई १२–१ गोलले हरायो । जारी लिगमा यो फराकिलो अन्तरको जित हो । यससँगै मच्छिन्द्र तालिकाको शीर्षस्थानमा उक्लिएको छ । 

मछिन्द्रका लागि विकास थापाले ह्याट्रिक गर्नुभयो । गोविन्द विक र राहुलकुमार योञ्जनले दुई दुई गोल गर्नुभयो । कोन्जोक लामा, सौगात मगर, जनक विक, सुमन ठकुरी र करण धामीको नाममा एक एक गोल रह्यो । 

सातदोबाटोका लागि युवराज बुढाथोकीले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै मच्छिन्द्रले चार खेलबाट १० अङ्क बनाएको छ । लगातार चार हार खेपेको सातदोवाटो अंकबिहिन बन्दै अन्तिममा छ । 

यस्तै आइतबार भएको अर्को खेलमा जावलाखेल युथ क्लबले श्री भगवती क्लबलाई २–१ गोलले हरायो । जावलाखेलले पुनरागमन जित निकालेको हो । जावलाखेलको जितमा विशाल शाही र समीर लोप्चनले गोल गर्नुभयो । 

श्री भगवतीका सुयोग श्रेष्ठको सुरुवाती गोल सान्त्वना बन्यो । लिगमा दोस्रो जित निकालेको जावलाखेल सातौँ स्थानमा छ । तेस्रो हार खेपेको श्रीभगवती आठौँ स्थानमा छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ । 

यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।