• ६ असार २०८२, शुक्रबार

तिम्ल्याहा शिशु जन्माउनेलाई आर्थिक सहयोग

blog

तीन शिशु जन्माएकी मोलुङ गाउँपालिका–६, श्रीचौरकी ३२ वर्षीया हीरा तामाङ । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, असार ६ गते ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले तिम्ल्याहा (तीन जना) शिशु जन्माएकी एक आमालाई ५० हजार रुपियाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।

गत शुक्रबार शल्यक्रियामार्फत एकै पटक तीन शिशु जन्माएकी मोलुङ गाउँपालिका–६, श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले असाधारण र संवेदनशील प्रसूति घटनाको रूपमा लिँदै तत्काल राहतस्वरूप नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

यो एक दुर्लभ र प्रेरणादायी घटना भएकाले आमाको साहस, स्वास्थ्यकर्मीको समर्पण र सुरक्षित प्रसूति प्रक्रियाको प्रशंसा गर्न लायक भएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताउनुभयो ।

पालिकाले नागरिकप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै शिशु र आमाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरिएको अध्यक्ष राईले बताउनुभयो । पालिकाले नवजात शिशु र आमाको पोषणको ख्याल राख्दै सहयोग उपलब्ध गराएको जनाइएको छ ।

स्वास्थ्य शाखा र श्रीचौर स्वास्थ्य चौकीमार्फत आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषण सुनिश्चित गर्न विशेष निगरानी राखिने निर्णय पनि गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो । हाल आमासहित तीनवटै शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको श्रीचौर स्वास्थ्य चौकीले जनाएको छ । मोलुङ गाउँपालिकाले गर्भवती, सुत्केरी, दीर्घरोगी, अपाङ्गता भएका, विपन्न तथा वृद्धवृद्धालगायत जटिल रोग लागेका नागरिकलाई समेत नियमित रूपमा आर्थिक सहयोग गर्दै आएको छ ।