राजु लामिछाने
रुकुमपश्चिम, असार ६ गते । नेपाल प्रहरीको कर्णाली प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) माधव प्रसाद श्रेष्ठले विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि तयारी अवस्थामा रहन प्रहरीलाई निर्देशन दिनुभएको छ ।
जिल्लाको निरीक्षण तथा अनुगमनको क्रममा रुकुमपश्चिम आउनुभएका डिआईजी श्रेष्ठले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले तयार रहन निर्देशन दिनुभएको हो । विगतका वर्षहरुमा भूकम्प र बाढीपहिरो समेतले धनजनको क्षति गरेको स्मरण गराउनुहुँदै उहाँले पूर्व तयारीका लागि सरोकारवाला सबै निकायहरुसँग आवश्यक समन्वय गरिरहन आवश्यक रहेको जनाउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा उहाँले नागरिकमैत्री सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । जिम्मेवार भएर गुनासोरहित सेवा प्रवाह गर्नुपर्ने उहाँको भनाइ छ । डिआइजी श्रेष्ठले सेवाप्रति उच्च व्यावसायिक हुन, शान्ति, सुरक्षा र जनताको न्यायका लागि प्रहरीप्रतिको आशा र भरोसा कम हुन नदिन निर्देशन दिनुभयो ।
यस क्रममा उहाँले थुनुवाहरुको अवस्था र विभिन्न शाखाबाट सम्पादन भएका काम कारबाहीको अनुगमन गर्नुभएको प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश बिष्टले जानकारी दिनुभयो । अनुगमनको क्रममा देखिएका कमी कमजोरीहरु सुधारका लागि समेत उहाँले निर्देशन दिनुभएको छ । डिएसपी बिष्टले भौतिक पूर्वाधारको र स्रोत साधनको अभावमा पनि प्रहरीले उत्कृष्ट कार्य गरिरहेको उल्लेख गुर्नभयो ।
जिल्ला प्रहरी कार्यालयसहित यस मातहतका विभिन्न प्रहरी कार्यालयहरु कतै भाडाको घरमा त कतै जीर्ण भवनमा जोखिम मोलेर बसिरहेका छन् । २०८० कात्तिक १२ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले यहाँ १२ वटा विभिन्न प्रहरी कार्यालयहरुमा क्षति गरेको थियो । ती भवनहरु अझैसम्म मर्मत तथा पुनर्निर्माण हुन सकेका छैनन् ।