• २३ पुस २०८१, मङ्गलबार

रोजगारी नपाएपछि बिदेसिन बाध्य

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, मङ्सिर ९ गते । आफ्नो देशमा रोजगारी नपाएपछि गाउँघरका युवा भारत पलायन हुन बाध्य छन् । चाडपर्वलक्षित घर फर्किएका गाउँबस्तीका युवा स्थानीय मेला जात्रा सकिएपछि भारत जान थालेका हुन् ।  

गाउँमा रोजगारीको अवसर नहुँदा जीविकोपार्जनमा समस्या आउने भएपछि अधिकांश युवा तथा सर्वसाधारण भारत जाने गर्छन् । कोही भारत गएका छन् भने कोही उच्च शिक्षाका लागि सुर्खेत, नेपालगन्ज, काठमाडौँ, पोखरा, चितवनलगायतका सहर गएका छन् । गाउँघरमा महिला, वृद्धवृद्धा र बालबालिका मात्रै छन् । 

भेरी नगरपालिका–१३ का झुपबहादुर रावतका अनुसार बाह्रै महिना गाउँघरमा रोजगारी नपाउने भएपछि यहाँका बासिन्दा भारत जाने गर्छन् । स्थानीय तहले रोजगारीको अवसरसँगै सिप विकास गरी आत्मनिर्भर बनाउने कार्यक्रम तय नगर्दा दुई महिनाको श्रम रोजागरीले नपुग्ने भएपछि भारत जान थालेको रावतले बताउनुभयो । सो वडाबाट करिब एक सयभन्दा बढी सर्वसाधारण भारत गएको जनाइएको छ । 

भेरी नगरपालिका–११, कटिगाउँ दलित समुदायको बाहुल्यता रहेका बस्ती हो । सो गाउँका करिब दुई सयभन्दा बढी बासिन्दा भारत पलायन भएका छन् । गाउँमै बसे बिहानबेलुकाको छाक टार्न मुस्किल देखेपछि कमाउनका लागि परिवार छोडेर मुग्लान पस्नु परेको भेरी नगरपालिका–११, कटिगाउँका हेमन्त नेपालीले बताउनुभयो । खेतीयोग्य जमिन पर्याप्त नहुँदा, १२ महिना रोजगारीबाट जीविकोपार्जन गर्ने गरेका सर्वसाधारण कामको सिलसिलामा भारतमा पसिना बगाउने गरेका छन् ।