• २३ पुस २०८१, मङ्गलबार

दर्शनीय बौद्ध स्थल

blog

शान्तिका पथ प्रदर्शक सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्राम गरी चार प्रमुख दर्शनीय स्थान हुन् । यी चार दर्शनीय स्थानले नेपाललार्ई गौरव र गरिमामय बनाएको छ । यी स्थानको अवलोकन गर्न विश्वका बौद्ध धर्मावलम्बीको घुइँचो लाग्ने गर्छ । 

इसापूर्व २५० मा मौर्य सम्राट अशोकले लुम्बिनी क्षेत्रमा विभिन्न प्रस्तर स्तम्भ स्थापना गरी बुद्ध दर्शनबाट विश्वलाई परिचित गराएका थिए । प्रसिद्ध चिनियाँ यात्री फाहियानले इसं ४०३ मा र व्हेन साङ्गले इसं ६३६ मा लुम्बिनी भ्रमण गर्दा लुम्बिनीमा अशोक स्तम्भ, विहार र भिक्षुहरू रहेको आफ्नो यात्रा वृत्तान्तमा उल्लेख गरेका छन् । 

सन् १८९६ मा जनरल खड्गशमशेर राणाको सहयोग लिएर बेलायती पुरातìवविद डा. एए फुहररले लुम्बिनीको ऐतिहासिक स्तम्भ पत्ता लगाएका थिए ।

लुम्बिनी

रुपन्देही जिल्लामा अवस्थित शाक्यमुनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । भैरहवादेखि लगभग २० किलोमिटर पश्चिममा लुम्बिनी पर्दछ । सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको ब्राम्ही लिपिमा ‘हिद बुधे जति सक्यमुनीति भनि शाक्यमुनि’ बुद्धको जन्म यही लुम्बिनीमा भएको बारे लेखिएको छ ।

अशोकले आफ्नो राज्यारोहणको २० वर्षपछि लुम्बिनी आएर पूजापाठ गरी अशोक स्तम्भ स्थापना गरेका थिए । उक्त स्तम्भको उचाइ ३० फिट १० इन्च छ । कुनै समय स्तम्भमा चट्याङ परेर क्षति भएपछि त्यसको जीर्णोद्धार गरिएको थियो । यस स्तम्भको स्थापनाले बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको प्रमाणित हुन गएको छ ।

अशोक स्तम्भको पूर्वपट्टि मायादेवी मन्दिर रहेको छ । जसभित्र प्राचीन शिलामा सालवृक्षको हाँगा समाई उभिएको मायादेवीबाट सिद्धार्थ राजकुमार जन्मेको दृश्य स्पष्टसँग कुँदिएको छ । यस्तै सिद्धार्थ जन्मनासाथ सात पाइला हिँडेको  पादतलाको चिह्न भएको ढुङ्गा पनि त्यहाँ रहेको छ ।

अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको विकास गर्न लुम्बिनी विकास समितिको स्थापना सन् १९७० मे ७ मा गरिएको थियो । लुम्बिनी विकासको गुरुयोजनाको नक्साकार प्रसिद्ध जापानी इन्जिनियर प्रो. केन्जो टाङ्गे हुन् । लुम्बिनीमा २०२३ सालमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले भ्रमण गरेका थिए । त्यस अवसरमा उनले लुम्बिनीको विकास गर्न संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रलाई आह्वानसमेत गरे ।

हाल लुम्बिनीमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विहार निर्माण गरिएका छन् । विहारहरूमध्ये थेरवादी श्रीलङ्का महाविहार, म्यानमारको लोकामनी सुला पैगोडा, रोयल थाई मोनास्ट्री, कम्बोडियाको विहार रहेका छन् । यस्तै महायानी विहारहरूमा चीन, जापान, कोरिया, भियतनाम, ताइवान, मङ्गोलियाका विहार निर्माण गरिएको छ ।

भारतको महाबोधि सोसाइटी विहार, युरोपेली मुलुकको फ्रेन्च बुद्धिस्ट विहार, जर्मनीको तारा फाउन्डेसन विहारसमेत त्यहाँ छन् । नेपालका नेपाल राजकीय बुद्ध विहार, धर्मोदय सभाको विहार, महाबोधि विहार, महायानी गुम्ब, मनाङ समाज स्तूपा, गौतमी भिक्षुणी विहार र लुम्बिनी वज्रयान महाविहार बनाइएको छ । शान्ति दीप, पण्डिताराम, लुम्बिनी अन्तर्राष्ट्रिय विपश्यना केन्द्र, शान्ति घण्टा, पुस्तकालय र सङ्ग्रहालय पनि त्यहाँ रहेका छन् ।

कपिलवस्तु

कपिलवस्तु वर्तमान नेपालको पश्चिम तराईको तौलिहवा जिल्ला अन्तर्गत पर्दछ । कपिलवस्तु बुद्धका पिता राजा शुद्धोदनको राजदरबार भएको सानो गणराज्य थियो । सम्राट अशोकले इपू २५१ मा बौद्ध तीर्थस्थल कपिलवस्तु अवलोकन गर्ने व्रmममा त्यहाँ पुगेर दरबारको संरक्षण र संवर्धन गरेका थिए ।

त्यहाँ उत्खननबाट भेटिएको तिलौराकोटको भग्नावशेषलाई  शुद्धोदन राजाको प्राचीन दरबार मानिएको छ । यहाँ कोलीय गणराज्य र कपिलवस्तु गणराज्यलाई रोहणी नदीले छुट्याएको थियो ।

कपिलवस्तुमा रहेका बुद्धकालीन विशेष पुरातात्त्विक स्थलमा निग्लिहवा, गोटिहवा, सगरहवा र कुदान आदि पर्छन् । गोटिहवामा अशोकद्वारा स्थापना गरिएका प्रस्तर स्तम्भ छन् । गोटिहवाको अभिलेखले यस स्थललाई क्रुछन्द बुद्धको जन्मस्थल रहेको जनाउँछ । यहाँको स्तम्भको पनि माथिल्लो भाग भाँचिएको छ । तल्लो भागको उचाइ १० फिट र परिधि ८ फिट ६ इन्च रहेको छ । यस स्तम्भको उत्तर पूर्वी दिशामा एक विशाल स्तूप छ । जसमा मौर्यकालीन इँटा प्रयोग गरिएको छ ।

निग्लिहवा अभिलेखले यस स्थानलाई कनकमुनि बुद्धको जन्मस्थल स्पष्ट पार्दछ । यहाँ पवित्र चारकुने तलाउ छ । पश्चिम किनारामा अशोकद्वारा स्थापित अशोक स्तम्भ दुई टुक्रा भएको अवस्थामा छ । यस स्तम्भको लम्बाइ १५ फिट र परिधि ७ फिट ५ इन्च रहेको छ ।

सगरहवा पनि निकै प्रसिद्ध स्थलमा पर्दछ । यो वाणगङ्गा नदीको पश्चिममा अवस्थित छ । यहाँ एउटा पोखरी पनि छ । सगरवामा भारतका कौशल राज्यका विरुढकले शाक्यहरूलाई निर्ममपूर्वक हत्या गरेको मानिएको छ । यहाँका स्तूप शाक्यहरूको स्मृतिमा बनाएको अनुमान गरिन्छ ।

यस्तै कुदान तौलिहवाबाट करिब दुई किलोमिटर दक्षिणमा  पर्दछ । यहाँ भवनका भग्नावशेष पाइएको छ । गौतम बुद्ध पिता शुद्धोदनलाई भेट्न आउँदा आरामका लागि बनाइदिएको निग्रोधाराम विहार यहाँ रहेको छ ।


देवदह

लुम्बिनीको २८ किलोमिटर पूर्वतर्फ रोहिणी नदीको पूर्वमा देवदह नगर पर्दछ । प्राचीन कोलीय राज्यको राजधानी हो यो । देवदह शाक्यमुनि बुद्धको मावली तथा मायादेवी, प्रजापति गौतमी र यशोधराको जन्मस्थल पनि हो ।

देवदह क्षेत्रको शेरभुक्की गाउँमा पद्मपाणि अवलोकिर्तेश्वरको प्राचीन मूर्ति छ । यस्तै शनिश्चरादेवी भनी पूजा गरिने सेनकालीन सूर्यमूर्ति मन्दिर केरवानी गाउँनजिक रहेको छ ।

रामग्राम

रोहिणी नदीको पूर्वतर्फ रहेको रामग्राम क्षेत्र नवलपरासी जिल्लाको परासी बजारदेखि दक्षिणमा पर्दछ । सन् १८९८ मा पुरातत्वविद् डा. ह्वेले यहाँ ३० फिट अग्लो बौद्ध स्तूप फेला पारेका थिए । राजा अशोकले बुद्धको परिनिर्वाणपछि आठ चैत्यमा राखिएको अस्थिधातुमध्ये यस रामग्रामको स्तूपबाट अस्थिधातु झिक्न सकिएन । त्यसैले अझै पनि यहाँ अस्थिधातु बाँकी रहेको भनाइ छ । स्तूपनजिक एक बौद्ध विहार पनि छ । लुम्बिनी विकास कोषले ऐतिहासिक तिलैाराकोट र रामग्राम क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न सन् १९९४ मै आग्रह गरेको थियो ।   

–युवामञ्च   

Author

मुनीन्द्ररत्न वज्राचार्य