• २३ पुस २०८१, मङ्गलबार

निर्माणाधीन सडकमा दुर्घटनाको जोखिम

blog

निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड ।

बुटवल समाचारदाता 

बुटवल, मङ्सिर ९ गते । बुटवल–नारायणगढ सडकखण्डको विस्तारमा भइरहेको ढिलाइका कारण सवारी दुर्घटना बढ्दै गएको छ । निर्माणाधीन सडकका खाल्डामा परेर, नालीमा परेर, निर्माण सामग्रीमा ठक्कर खाएर, निर्माणका उपकरणमा ठोक्किएर कैयौँ दुर्घटना भएका छन् । बुटवलको चौराहा–गोलपार्क खण्डको विस्तारमा भइरहेको ढिलाइले धेरै दुर्घटना निम्तिए र मानवीय क्षति भयो । 

अलपत्र सडकको बुटवल–दाउन्ने खण्डमा मात्रै २०७९ साउनयता करिब ४५ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । यी दुर्घटनामा परेर २१ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । खास गरी दुईपाङ्ग्रे सवारीसाधन नाली तथा खाडलमा परेर र निर्माण उपकरणमा ठोकिएर दुर्घटना भएका छन् । ती दुर्घटनामा १८ जना पुरुष र तीन जना महिला गरी २१ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको तथ्याङ्क छ । 

दुर्घटनामा ५० जना पुरुष, १५ जना महिला र पाँच जना बालबालिका गरी ७० जना गम्भीर घाइते भएको कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

कतिपय दुर्घटनामा मारिएकाका पीडित परिवारले त सडकको बेहालका कारण अकालमा ज्यान गएको भन्दै क्षतिपूर्ति माग गरेर निवेदनसमेत दिएका छन् । 

दाउन्नेदेखि नारायणगढसम्मको सडकमा गत आर्थिक वर्षमा मात्रै ५६ सवारीसाधन दुर्घटना भए । अधिकांश दुर्घटना सडकको बेहाल अवस्थाका कारण भएको पाइएको छ । ती दुर्घटनामा १४ जनाको मृत्यु भयो भने ७४ जना गम्भीर घाइते भए । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको कार्यालयको तथ्याङ्क छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरका अनुसार मोटरसाइकल र स्कुटर धेरै दुर्घटनामा परेका छन् । भएको जनशक्ति र स्रोतको परिचालन गरेर ठाउँ ठाउँमा सङ्केत चिह्न राख्ने, बोर्ड राख्ने गरिए पनि धेरै ठाउँमा जोखिमपूर्ण अवस्था रहेको बताउँदै वरिष्ठ नायब निरीक्षक कुँवरले मातहतका कार्यालय र सरोकारवालासँग समन्वय गरेर दुर्घटना न्यूनीकरणका काम गरिएको बताउनुभयो । 

सोही खण्डमा चालु आवको यो अवधिमै १५ वटा गम्भीर दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर पाँच जनाको मृत्यु भयो भने २० जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको तथ्याङ्क छ ।